Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुदूरपश्चिम प्रदेशअति दुलर्भ खरमजुर संरक्षण गर्न घाँसे मैदान व्यवस्थापन

अति दुलर्भ खरमजुर संरक्षण गर्न घाँसे मैदान व्यवस्थापन


कञ्चनपुर । अति दुर्लभ खरमजुरको संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाहिरको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको छ । नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) ले अमेरिकी सहयोग नियोग (युएसआईडी) को जलजङ्गल परियोजनाअन्तर्गत बेलौरी, पुर्नवास नगरपालिका बेलडाँडी र लालझाडी गाउँपालिकामा रहेका प्राकृतिक घाँसे मैदानको व्यवस्थापन गर्न थालेको हो ।

सङ्घका चरा संरक्षणकर्मी हिरूलाल डगौराका अनुसार उल्टनपुर, नन्दगाउँ, किसान मध्यवर्ती क्षेत्रमा घाँसे मैदानको व्यवस्थापन थालिएको छ । घाँसे मैदानमा रहेका अनावश्यक घाँस, झाडी हटाउने भइसकेको उनले बताए । प्रजननको समयमा खरमजुर निकुञ्जको भित्री भागमा रहेको घाँसे मैदानमा आउने भए पनि त्यसपछिको समय निकुञ्जबाहिर जाने गर्दछ । सोही कारणले बासस्थान पुनःस्थापना र सुधार गर्न बाह्य क्षेत्रको घाँसे मैदान व्यवस्थापनको काम गरिएको डगौराले बताए । बासस्थान मासिँदै जाँदा प्रत्येक वर्ष खरमजुरको संख्यामा कमी आउन थालेको छ । बासस्थान सुरक्षाका लागि घाँसे मैदान व्यवस्थापनको कार्यसँगै स्थानीय बासिन्दा, युवा सञ्जाल, सामुदायिक वनका पदाधिकारी, महिला समूह, जनप्रतिनिधिसँग छलफल, तालिमलगायतका कार्य सञ्चालन गरिएको छ ।

डगौराका अनुसार १२ समुदायका पाँच सय ७७ र चार पालिकाका युवा सञ्जालमा आबद्ध एक सय ४० जना युवालाई खरमजुर संरक्षणका लागि तालिम दिइएको छ । यसैगरी चार वटा प्रकृति तथा चरा पर्यटनसम्बन्धी तालिम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ३७ जना कर्मचारीलाई खरमजुर संरक्षणसम्बन्धी तालिम दिइएको उनले बताए । खरमजुर गणना तथा सर्भेक्षण कार्यका लागि सर्भेक्षण प्रोटोकल बनाइएको चरा संरक्षणकर्मी डगौराको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् १९८२ मा पहिलो पटक गरिएको सर्भेक्षणमा खरमजुर १४ देखि १५ को सङ्ख्यामा पाइएको थियो । सन् २००० मा १२, सन् २०१४ मा आठ, सन् २०२१ मा सात र सन् २०२३ मा पाँच वटा रहेका चरा संरक्षणकर्मी डगौराले जानकारी दिए । उक्त गणनाको तथ्याङ्कअनुसार प्रत्येक वर्ष खरमजुरको सङ्ख्या घट्दै गएको छ । खरमजुरले सिरु, काँस र खडाइका घाँसे मैदानमा बस्न मन पराउँछ । चर्नका लागि छोटो घाँस भएका मैदानलाई रोज्ने गर्दछ ।

प्रजनन्का बेला अग्ला घाँस भएका मैदानमा भेटिने गरेकाले घाँसे मैदान व्यवस्थापनको कार्य गरिएको उनले बताए । प्रजनन्को समयपछि यो सुक्खा घाँसे मैदान र खेतबारीमा भेटिए पनि यसको प्रजननपछिको बासस्थानको बारेमा कम अध्ययन भएको उनले बताए । ‘खरमुजुर प्रायःजसो आहारा खोज्न बिहान र बेलुका मात्रै सक्रिय हुने गर्छ । यो सर्वहारी पन्छी भएकाले स–साना किरा, फट्याङ्ग्रा, छेपारोदेखि घाँस, दाना फलफूल खान्छ । एक्लै बस्न रुचाउने पछि भए पनि प्रजनन्को समयमा भाले र पोथी दुवै जोडीका रूपमा भेटिने गर्दछन्’, डगौराले भने । उनका अनुसार यसको प्रजनन् चैतदेखि जेठसम्म हुने गर्छ । पोथीलाई आकर्षित गर्नका लागि भालेले जमिनमाथि निरन्तर उफ्रिँदै मनमोहक नाँच देखाउँछ । पोथीले अग्लो घाँसे मैदानमा १/२ वटा अण्डा पारेपछि करिब चार हप्तासम्म ओथारो बसी बच्चा कोरल्ने उनले जानकारी दिए ।

खरमुजुर तराईमा पाइने घाँसे मैदानको आवासीय पन्छी हो । यसको भालेभन्दा पोथी केही ठूलो हुन्छ, पोथीको शरीरको लम्बाइ ६६ देखि ६८ सेन्टिमिटर र तौल एक दशमलव सातदेखि एक दशमवलव नौ किलो हुन्छ । भालेको शरीरको लम्बाइ ६२ देखि ६४ सेन्टिमिटर र तौल एक दशमलव दुईदेखि एक दशमवलव पाँच किलो हुन्छ । डगौराका अनुसार अनुसार भालेको टाउको, घाँटी र माथिल्लो भाग कालो र पखेटाको रङ सेतो हुन्छ । यो उड्दा प्रष्ट देखिन्छ । पोथी र बच्चाको रङ भने मैलो खैरोदेखि बलौटे कैलोसम्म हुन्छ । खरमुजुर नेपालको संरक्षित क्षेत्रहरू कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु निकुञ्जमा पाइन्छ ।

नेपालमा बाहेक यो दुर्लभ पन्छी भारत र कयाम्बोडियामा मात्रै पाइन्छ । विभिन्न अध्ययनका क्रममा भियतनाम र बङ्गलादेशबाट यो पन्छी लोप भइसकेको चराविद् डगौराले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x