Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारतरलताले बढाएको सेयरबजारको वृद्धि कहिलेसम्म ?

तरलताले बढाएको सेयरबजारको वृद्धि कहिलेसम्म ?


गतसाता बुधबार दुई हजार दुई सयको प्रतिरोध विन्दु परीक्षण गरेर तल ओर्लिएको सेयरबजारलाई धेरैले बढ्दो बजारमा करेक्सन भने । सो दिन इन्ट्रा डेमा नेप्से दुई हजार दुई सय छ विन्दुसम्म पुगेको थियो । तर, बजार बन्द हुँदासम्म नेप्से ३५ अंकले घटेर दुई हजार एक सय ५० विन्दुमा कायम भयो । सातामा जम्मा चार दिन कारोबार भएकोमा तीन दिन बढेको नेप्से अन्तिम कारोबार दिन घटेको हो । नेप्से परिसूचक आइतबार ६२ दशमलव २१ अंक, सोमबार ११ दशमलव ६९ र मंगलबार ५६ दशमलव ९४ अंकले बढेको थियो । समग्रमा नेप्सेको बढाई ९५ दशमलव ४६ अंकले कायम भयो ।

जेठ १८ गते एक हजार आठ सय ५० विन्दुमा रहेको बजार त्यसयता लगातार बढ्दो क्रममा छ । करिब एक महिनामा नेप्से १६ दशमलव २१ प्रतिशतले बढेको छ । लगातार बजार बढेका कारण एक दिनको घटाइलाई करेक्सनको रुपमा लिनुपर्ने विश्लेषकहरुको तर्क छ । खासगरी बजेटपछि केही दिन करका दर चलाइएको भनेर घटेको बजार अर्थमन्त्रीले कर नबढाइएको स्पष्ट पारेपछि बढ्न सुरु गरेको थियो ।

पछिल्लो समय वित्तीय प्रणालीमा तरलता बढेर ब्याजदर घट्ने संकेत मिल्नु र आन्तरिक अर्थतन्त्र अझै मन्दीमा रहेका कारण व्यवसायीहरुले आफ्नो व्यापारमा लगाउँदै आएको पैसा सेयरबजारमा भित्र्याएकाले बजार बढेको लगानीकर्ताको बुझाइ छ ।एक महिनाअघिसम्म दैनिक एक अर्बको कारोबार हुन नसकेको बजारमा सेयरको माग बढेपछि अहिले दैनिक औसत पाँच अर्ब रुपैयाँ हाराहारी कारोबार भइरहेको छ । एक महिनाको अन्तरालमा १६ प्रतिशत बढी मूल्य बढेकाले केही दिन करेक्सन आउनसक्ने विश्लेषण कतिपयको छ । असार मसान्तपछि आयकर तथा ट्याक्स भुक्तानीका लागि प्रणालीबाट पैसा बाहिरिनेछ । यस्तै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने सीमा घट्नेछ । यस कारण सेयरबजारमा पनि असर पर्ने विश्लेषण गरिएको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले असारको अन्त्यतिर आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएकाले बजारले थप उचाइ नलिने विश्लेषण पनि छ । तर, बजारमा थप पैसा भित्रियो र सेयरको माग बढ्यो भने नयाँ उचाइ लिनेमा शंका गर्न नपर्ने लगानीकर्ताले बताउँदै आएका छन् ।

गतसाता कुल २३ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भयो । जुन अघिल्लो साताको तुलनामा तीन अर्ब रुपैयाँले बढी हो । आइतबार एकैदिन छ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सोमबार साताकै कम पाँच अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । सातामा औसतमा दैनिक पाँच अर्ब ८१ करकोड रुपैयाँको सेयर कारोबार भएको छ ।
लगानीकर्ताको सम्पत्ति एक खर्ब ४० अर्ब रुपैयाँले बढेको छ । आइतबार बजार खुल्दा ३० खर्ब १० अर्ब रुपैयाँ रहेको पुँजीकरण बुधबार कारोबार बन्द हुँदा ३१ खर्ब ५० अर्ब कायम भएको छ ।

सूचीकृत समूहमा लघुवित्त समूह सबैभन्दा बढी ११ दशमलव ९३ प्रतिशतले बढेको छ । त्यसपछि जीवन बीमा समूह ११ दशमलव दुई प्रतिशत र फाइनान्स १० दशमलव ४५ प्रतिशतले बढेका छन् । हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यसपछि बीपीडब्लू लघुवित्त र सिटी होटलको सेयरमूल्य बढेको छ ।

बजार बढे पनि सुपर मादी हाइड्रोपावरका सेयरधनीले सात दशमलव ६१ प्रतिशतले गुमाएका छन् । यस्तै, इङ्वा हाइड्रोपावरका सेयरधनीले छ दशमलव ९६ प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावरकाले छ दशमलव ३१ प्रतिशतले गुमाएका छन् ।
सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको एक अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको भएको छ । शिवम्पछि सोल्टी होटलको एक अर्ब १२ करोड रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ८५ करोड ३६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया