Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारराष्ट्र बैंकको नीतिले पनि बढेन सेयरबजार

राष्ट्र बैंकको नीतिले पनि बढेन सेयरबजार


काठमाडौं । राष्ट्र बैंकको नयाँ निर्देशनप्रति लगानीकर्ता बेखुशी हुँदा आइतबार सेयरबजारमा गिरावट आएको छ । केन्द्रीय बैंकले लगानीकर्ताको मागविपरीत सेयर धितो कर्जाको सीमा केही करोडले बढाएपछि आइतबारको बजारमा गिरावट आएको हो । लगानीकर्ताले सेयर धितो कर्जामा कुनै पनि सीमा नलगाउन र जोखिम भार एक सय प्रतिशतमा झार्न माग गर्दै आएका थिए । तर, माग पूरा नभएपछि आइतबारको बजारमा लगानीकर्ताले बिक्रीचाप बढाएका हुन् ।

राष्ट्र बैंकको निर्देशनपछि पहिलो पटक खुलेको बजारले रातो प्रतिक्रिया देखाएको छ । परिसूचक नेप्से ३५ दशमलव ६७ अंकले घटेर एक हजार नौ सय २१ विन्दुमा कायम भएको छ ।

कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्म दबाबमा थियो । कारोबारमा आएका दुई सय ३३ कम्पनीमध्ये दुई सय १३ कम्पनीको सेयरमूल्य घट्दा नेप्सेमा गिरावट देखिएको हो । १६ कम्पनीका सेयरधनीले भने कमाएका छन् । चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

दिनभर एक अर्ब ८० करोड १७ लाख रुपैयाँबराबरको ५८ लाख १५ हजार एक सय ८९ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ५३ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २९ खर्ब ३० अर्बमा झरेको छ ।

कारोबारमा आएका सबै उपसमूह घटेका छन् । जलविद्युत् समूह सबैभन्दा धेरै दुई दशमलव ७२ प्रतिशतले घटेको छ । त्यसपछि होटल तथा पर्यटन समूह दुई दशमलव ३५ प्रतिशत, जीवन बीमा दुई दशमलव २८ र लगानी दुई दशमलव शून्य १ प्रतिशत घटेको छ । फाइनान्स समूह एक दशमलव ९९ प्रतिशत, व्यापार एक दशमलव ९६, विकास बैंक एक दशमलव ८९, निर्जीवन बीमा एक दशमलव ८६, लघुवित्त र अन्य समूह एक दशमलव ६१, बैंकिङ एक दशमलव ४०, उत्पादन तथा प्रशोधन एक दशमलव १८ र म्युचुअल फण्ड एक दशमलव ०८ प्रतिशतले घटेका छन् ।

बजार घटे पनि बराही हाइड्रोपावरका सेयरधनीले सर्वाधिक नौ दशमलव ५९ प्रतिशत र सिद्धार्थ लगानी ग्रोथ स्किम–२का इकाइधनीले नौ दशमलव ४० प्रतिशत कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चर, २०८५को मूल्य १० प्रतिशतले घटेका छन् । घलेम्दी हाइड्रोको सेयरमूल्य आठ दशमलव ७० प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सेयर कारोबार सबैभन्दा धेरै छ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया