Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारफाइनान्स कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित

फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित


काठमाडौं । केही दिनयता घटिरहेको नेप्सेमा सोमबार ब्रेक लागेको छ । कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार छ सय ४५ दशमलव ३६ विन्दुमा बन्द भएको छ । पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँबराबरको एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका सबै समूह बढेका छन् । लगानीकर्ताहरू सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयरमा आकर्षित भएको देखिन्छ । यही कारण सोमबार फाइनान्स समूह सबैभन्दा धेरै तीन दशमलव ४६ प्रतिशत बढ्यो । तुलनात्मकरूपमा फाइनान्स कम्पनीको सेयर अन्य कम्पनीको भन्दा कम हुने र बजार बढ्दा माग बढी हुने स्थिति बनेपछि सेयरमूल्यमा वृद्धि भएको विश्लेषकहरू बताउँछन् । यस्तै यस आर्थिक वर्षको पहिलो त्रैमासमा धेरैजसो फाइनान्स कम्पनीहरूको वित्तीय विवरण राम्रो देखिएपछि लगानीकर्ताले सेयर खरिद बढाएको हुन सक्छ ।

फाइनान्सपछि धेरै बढ्नेमा जीवन बीमा समूह छ । जीवन बीमा कम्पनीहरूको कारोबार मापक गर्ने यो समूह एक दशमलव ८४ प्रतिशत बढेको छ । त्यसपछि, जलविद्युत् एक दशमलव ५८, विकास बैंक एक दशमलव ५७, उत्पादन तथा प्रशोधन एक दशमलव ३४, लघुवित्त एक दशमलव २६, होटल तथा पर्यटन एक दशमलव ५७ प्रतिशत बढेको छ । त्यसपछि लगानी शून्य दशमलव ८७ प्रतिशत, म्युचुअल फन्ड र व्यापार समूह शून्य दशमलव ७२, निर्जीवन बीमा शून्य दशमलव ६४, अन्य शून्य दशमलव ५४ र बैंकिङ शून्य दशमलव ३४ प्रतिशत बढेको छ ।

कारोबार भएका दुई सय ४३ कम्पनीमध्ये दुई सय १३ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । बजार बढे पनि २८ कम्पनीका सेयरधनीले गुमाएका छन् भने दुईवटाको सेयरमूल्य स्थिर रहेको छ ।

जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै छ दशमलव शून्य दुई प्रतिशतले घटेको छ । सबैभन्दा धेरै सेयर कारोबार नेपाल फाइनान्सको ३३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको भएको छ ।

सोमबार मात्रै लगानीकर्ताको सम्पत्ति ४३ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४२ खर्ब आठ अर्ब रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको साधारण सेयरको बजार पुँजीकरण १६ अर्ब रुपैयाँ बढेर १४ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x