Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारब्याजदरले बढाएको सेयरबजार यस साता के होला ?

ब्याजदरले बढाएको सेयरबजार यस साता के होला ?


काठमाडौ । गएको साता सेयर बजार परिसूचक नेप्से साढे ३ दशमलव ६३ प्रतिशतले बढ्यो । साताको पहिलो दिन आइतबार एक हजार आठ सय ६६ विन्दुबाट खुलेको कारोबार साताको अन्तिम दिन बिहीबार एक हजार नौ सय ३४ विन्दुमा पुगेर रोकियो ।

२०७९ पुस २६ यता लगातार घट्दो क्रममा रहेको बजारले यही साता लगानीकर्तालाई बढ्नसक्ने आशा देखाइदियो । हुन त यो वृद्धि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर एकल अंकमा ल्याउने घोषणा गरेपछि भएको थियो । महंगो ब्याजदरका कारण सेयर बजार लामो समयदेखि प्रभावित भएकाले पनि बैंकको ब्याजदर घट्नासाथ सेयर बजार बढ्नु कुनै नौलो विषय भएन । तर देखिने गरी कर्जाको ब्याजदर घट्न अझै समय लाग्ने भएपछि भने बजार अन्योलमा प-यो । यसको संकेत बजारले गतसाता नै गरिसकेको छ । किनभने ब्याजदर घटाउने निर्णयले बुधबार ९२ अंकभन्दा बढीले बढेको बजार त्यसको भोलिपल्ट बिहीबार नै २९ अंकले घट्न पुग्यो । यसलाई कतिपयले ठूलो वृद्धिपछिको करेक्सन भनेका छन् ।

सातामा कारोबार रकम पनि बढेको छ । अघिल्लो साता दैनिक औसतमा ९६ करोड रुपैयाँको सेयर किनबेच भएकामा यो साता एक अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो साताको तुलनामा गत साताको दैनिक औसत कारोबार साढे ३८ प्रतिशतले बढेको देखिन्छ ।

गएको साता नेप्सेको बजार पुँजीकरण चार दशमलव शून्य चार प्रतिशतले बढेको छ । यसले लगानीकर्ताको सम्पत्ति बढेको बुझाउँछ । अघिल्लो साता २७ खर्ब चार अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण गत साता एक खर्ब नौ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

सातामा पाँच दिन भएकोे कारोबारमा चार अर्ब ७८ करोड १६ लाख ४५ हजार ९४ रुपैयाँबराबरको एक करोड ५० लाख ६२ हजार एक सय ४८ कित्ता सेयर किनबेच भएको छ । पाँच कारोबार दिनमध्ये पहिलो र पाँचौँ दिन बजार घट्यो भने दोस्रो, तेस्रो र चौथो दिन बढेको थियो ।

कारोबारमा आएका १३ वटै उपसमूहका सूचकहरू बढेका छन् । होटल तथा पर्यटनको सर्वाधिक ५ दशमलव ६६ प्रतिशतले बढेको देखिन्छ । फाइनान्स र उत्पादन तथा प्रशोधन समूह पनि ५ प्रतिशतभन्दा धेरै बढेका छन् ।

गत साता नेप्सेमा आठवटा कम्पनीको पाँच करोड ७५ लाख ६८ हजार आठ सय ३५ कित्ता सेयर सूचीकृत भएका छन् ।

सर्वाधिक सेयरमूल्य बढ्नेमा आदर्श लघुवित्त वित्तीय संस्था रहेको छ । यो लघुवित्तको २७ दशमलव ७७ प्रतिशतले मूल्य बढेको छ । त्यसपछि महुली लघुवित्तको ११ दशमलव २३ प्रतिशत बढेको छ । १० प्रतिशत बढी बढ्नेमा युनिलिभर नेपाल, खप्तड लघुवित्त र आशा लघुवित्त पनि छन् ।

रेखाचित्र विश्लेषण हेर्दा नेप्से परिसूचकले यसअघि चार पटकसम्म परीक्षण गर्दै आएको १८ सय ५० को विन्दुलाई गत साता पनि फेरि एक पटक परीक्षण गरेको छ । गतसाता नेप्सेमा एकैदिन फराकिलो अंकको वृद्धि हुँदा नेप्सेले सो विन्दुभन्दा तल झर्नु परेन ।

गतसाता नै प्रकाशित भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देशको अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत देखाएको छ । अन्तरिक अर्थतन्त्रका केही सूचकहरू पनि सकारात्मक छन् । बैंक तथा वित्तीय संस्थाहरू पनि थप दुई खर्ब हाराहारीको पैसा ऋण लगानी गर्न सक्ने क्षमतामा देखिन्छन् । गत साता नै बैंकहरूले ब्याजदर घटाउने निर्णय गरिसकेका छन् । यसबाट बिस्तारै कर्जाको ब्याजदर घट्दै जाने र सेयर बजारमा लगानी बढ्ने आकलन धेरै लगानीकर्ताको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया