काठमाडौं । २०७९ असार १० गतेदेखि साइडवेज प्रवृत्तिमा बसेको सेयरबजार अहिले एक हजार नौ सय विन्दुभन्दा तल छ । वैशाख लागेपछि ब्याजदर केही घटे पनि बजारले हरियो प्रवृत्ति देखाउन सकिरहेको छैन । ब्याजदर घट्दा लगानीकर्ताले बजार माथि जाने अपेक्षा गरेका थिए । तर तेस्रो त्रैमासिकमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेका कारण लगानीकर्ताले ढुक्क भएर कारोबार बढाउन सकिरहेका छैनन् । यही कारण गएको साता कारोबार रकम पनि खुम्चिएको छ ।
नेप्सेको विवरणअनुसार गएको साता बजार १४ दशमलव ६७ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ७६ विन्दुमा बन्द भएको छ । अघिल्लो साता बजार एक हजार नौ सय चार दशमलव चार विन्दुमा बन्द भएको थियो । साताभर चार अर्ब पाँच करोड २० लाख रुपैयाँको सेयर कारोबार भयो । दैनिक औसत सेयर कारोबार ८१ करोड चार लाख रुपैयाँ मात्र रहेको छ ।
गत साताको कारोबार प्रवृत्तिले बजार बढ्ने संकेत अझै नगरेको कतिपय लगानीकर्ताले बताएका छन् । कतिपयले बजारले मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समीक्षा र बजेट कुरिरहेको बताएका छन् । यही कारण बजारका सक्रिय लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन् । बजारमा सेयरको माग निकै न्यून देखिन्छ । नेप्सेको फ्लोरसिटमा खरिदकर्ता निकै न्यून छन् । बजार घटेर तल्लो विन्दुमा रहेकाले बिक्रीकर्ता पनि न्यून छन् । बिक्रीकर्ताको ठूलो दबाब नपरेका कारण बजार ठूलो क्षति हुनबाट रोकिएको लगानीकर्ता बताउँछन् । नेप्सेको चार्ट हेर्दा बजार करिब एक वर्षयताकै न्यून विन्दुमा छ । तर एक हजार आठ सय विन्दुको लाइनबाट तल झर्न सकिरहेको छैन । एक हजार आठ सय र एक हजार नौ सयको विन्दु रेखालाई लगानीकर्ताले मनोवैज्ञानिक रेखा मान्दै आएका छन् ।
वैशाखबाट ब्याजदर घट्ने क्रम सुरु भए पनि बजार बढ्न नसक्नुमा लगानीकर्ताले केही नीतिगत सुधारको अपेक्षा गरेको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् । लगानीकर्ताले आगामी मौद्रिक नीतिमार्फत सेयर धितोकर्जामा १२ करोड रुपैयाँको क्याप हटाउन र जोखिमभार १५० प्रतिशतबाट एक सय प्रतिशतमा झार्न माग गरिरहेका छन् । यस्तै सरकारले ल्याउने बजेटबाट पुँजीगत लाभकर घट्ने अपेक्षा गरिरहेका छन् । लामो समयदेखि बजार घटेर सेयरको मूल्य तल झरेका बेला लगानीकर्तालाई राहत दिन पनि नीतिगत सुधार हुनैपर्ने जानकारहरु बताउँछन् । त्यसैले बजेटको तयारीमा रहेको अर्थ मन्त्रालय र मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समीक्षाको तयारीमा जुटेको केन्द्रीय बैंकप्रति लगानीकर्ताले अपेक्षा राख्नु स्वाभाविक हो । त्यसैले तत्काल बजारमा ठूलो उछाल आउने सम्भावना नदेखिएको कतिपयको बुझाइ छ । गत साता म्युचुअल फण्ड, होटल तथा पर्यटन र विकास बैंक समूह बढेका छन् भने बाँकी समूहमा गिरावट आएको छ । फाइनान्स समूह सर्वाधिक एक दशमलव ७१ प्रतिशतले घटेको छ । त्यसपछि माइक्रोफाइनान्स एक दशमलव ४७ प्रतिशतले घटेको छ ।
बजार घटे पनि गएको साता आदर्श लघुवित्तको सेयरमूल्य सर्वाधिक ११ दशमलव ५२ प्रतिशतले बढेको छ । त्यसपछि तारागाउँ रिजेन्सी होटलको छ दशमलव नौ दुई प्रतिशत र शिवम् सिमेन्टको पाँच दशमलव ५८ प्रतिशतले बढेको छ । सनराइज फोकस्ड इक्विटी फण्डको सर्वाधिक २३ प्रतिशत भाउ घटेको छ भने धौलागिरि लघुवित्तको १२ दशमलव १७ प्रतिशतले भाउ घटेको छ । शिवम् सिमेन्टको २२ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । रेखाचित्र विश्लेषणमा गत वर्ष असारदेखि नेप्सेले पाँच पटकसम्म एक हजार आठ सयको सपोर्ट रेखालाई परीक्षण गरेको देखिन्छ । यसपटक पनि नेप्से सोही रेखाको नजिक झरिसकेको छ । तसर्थ यो बलियो रेखा ब्रेक गरेर तल झर्न कुनै नीतिगत कडाइ वा तरलता अभाव र ब्याजदरमा उच्च वृद्धि आवश्यक देखिन्छ । तर त्यस्तो भइहाल्ने स्थिति अहिले देखिएको छैन । त्यसैले लगानीकर्ता बजेट र मौद्रिक नीतिबाट केही लचक नीति आए बजार बढ्ने अपेक्षामा देखिन्छन् ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया