Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजारमा मौद्रिक नीतिको पर्खाइ

सेयरबजारमा मौद्रिक नीतिको पर्खाइ


काठमाडौ । गतसाता सेयरबजार करिब चार प्रतिशतले बढ्यो । सरकारले बजेटमार्फत सेयर कारोबारमा कर बढाएको हल्लाले दबाबमा रहेको बजार अर्थमन्त्री र लगानीकर्ताबीच सहमति भएसँगै हरियो बनेर बन्द भएको हो । आइतबार बिहानैदेखि विरोधमा उत्रिएका सेयर लगानीकर्ता र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच सेयर कारोबारमा लाग्ने कर पुरानै यथावत् राख्ने सहमति भएको थियो । यसपछि सातामा पाँच दिन भएको कारोबारमा एक दिन मात्रै बजार घट्यो । साताभर बजार कुल तीन दशमलव ९३ प्रतिशतले बढेर एक हजार तीन सय ३९ विन्दुमा कायम भएको छ ।

अतिरिक्त कर नलगाउने सरकारको घोषणापछि साताभर बजारमा सकारात्मक माहोल बनेको थियो । परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेर दैनिक औसत कारोबार दुई अर्ब रुपैयाँमाथि कायम भयो । साताभर कुल १० अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । यसअघि नेप्से एक हजार आठ सयको लाइनमा झर्दा दैनिक कारोबार आधा अर्ब हाराहारी झरेको थियो ।

बजारमा हरियाली बढेपछि लगानीकर्तामा आशा बढेको छ । तर, राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तयारी थालेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन् । यही कारण गतसाता बजार हरियो भए पनि अन्तिम दुई कारोबार दिन एकल अंकले बढेको थियो । तर, शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारीहरुसँग खुकुलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् । यसको असर यस सताको सेयरबजारमा देखिन सक्ने कतिपयको विश्लेषण छ ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिमा लचकता अपनाइने बताएका हुन् । यस्तै शुक्रबार नै राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्र ठीकठाक भएको तथ्यांक सार्वजनिक गरेकोले अब मौद्रिक नीतिले आन्तरिक अर्थतन्त्र सुधार्न जोड दिने विश्वास धेरैको छ । महँगो ब्याजदर भएका कारण बढ्न नसकेको सेयरबजार असारमा बैंकहरुले ब्याजदर घटाइदिए भने बजारले फेरि सकारात्मक गति लिन सक्छ ।

गतसाता सबै उपसमूहहरु बढेका छन् । लगानीकर्ता व्यापार, निर्जीवन बीमा र होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी झुम्मिएका थिए । व्यापार समूह सबैभन्दा बढी १४ दशमलव ७२ प्रतिशतले बढेको छ । त्यसपछि, निर्जीवन बीमा समूह १४ दशमलव १९ प्रतिशत र होटल तथा पर्यटन समूह १० दशमलव ९८ प्रतिशतले बढेका छन् ।

बजार बढ्दाको सबैभन्दा धेरै फाइदा शुभम पावरका सेयरधनीलाई भएको छ । शुभम पावरका सेयरधनीले २१ दशमलव ८२ प्रतिशतले कमाएका छन् । त्यसपछि मकर जितुमाया हाइड्रोपावरका सेयरधनीले २० दशमलव ३७ प्रतिशत, प्रभु इन्सुरेन्सका सेयरधनीले १९ दशमलव ६५ प्रतिशतले कमाएका छन् ।

बजार बढे पनि जोशी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै पाँच दशमलव ७९ प्रतिशतले गुमाएका छन् । त्यसपछि, आदर्श लघुवित्तका सेयरधनीले तीन दशमलमव ६५ प्रतिशत र सपोर्ट लघुवित्तका सेयरधनीले तीन दशमलव ६४ प्रतिशतले गुमाएका छन् ।

शिवम् सिमेन्टको सबैभन्दा धेरै ५३ ककरोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार सोल्टी होटलको ३२ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

एक सातामा लगानीकर्ताको सम्पत्ति एक खर्ब १० अर्बले बढेको छ । एक सातामा बजार पुँजीकरण २७ खर्ब २४ अर्बबाट बढेर २८ खर्ब ३४ अर्ब रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया