Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारहोटल तथा पर्यटनको सेयरमा आकर्षण

होटल तथा पर्यटनको सेयरमा आकर्षण


काठमाडौं । बजार घटे पनि होेटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । बुधबार सेयर परिसूचक नेप्से १४ अंकले घटेर दुई हजार ५० दशमलव ७८ विन्दुमा कायम भएको छ । तर, होटल तथा पर्यटन समूह चार दशमलव ८४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूहमा केही दिनदेखि नै आकर्षण देखिएको छ ।

कोभिड–१९ महामारीपछि बिस्तारै उठ्दै गएको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेपछि होटलहरूको व्यवसाय बढेको अनुमान बजारका लगानीकर्ताले गरेका छन् । यसबाहेक केही नीतिगत व्यवस्थाका कारण लघुवित्त र बीमा क्षेत्रबाट तत्काल राम्रो प्रतिफल प्राप्त गर्न नसक्ने देखिएपछि लगानीकर्ताले ती क्षेत्रको सेयर बेचेर पर्यटन क्षेत्रमा लगाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

बुधबार पनि होटलअन्तर्गतका छवटै कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि देखिएकोे छ । सिटी होटलको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सोल्टी होटलको कारोबार १९ करोड रुपैयाँ नाघेको छ । बजार घटे पनि होटल तथा पर्यटनबाहेक जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार समूह पनि केही बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूह घटेका छन् ।

कारोबारमा आएका दुई सय १४ मध्ये एक सय ७९ कम्पनीको सेयरमूल्यमा आएको गिरावटले बजारलाई घटाएको हो । यसदिन तीन अर्ब ४९ करोड रुपैयाँको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति २१ अर्बले घटेको छ । बजार पुँजीकरण ३० खर्ब तीन अर्बमा झरेको छ ।

बजार घटे पनि सिटी होटल सेयरधनीले सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले कमाएका छन् । त्यसपछि सोल्टी होटलको सेयरमूल्य सात दशमलव ४४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्रीन भेन्चर्सका सेयरधनी रहेका छन् । यो कम्पनीको सेयरमूल्य छ दशमलव ९८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको २३ करोड रुपैयाँको भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया