Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाएसईईमा ५२ दशमलव १४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण !

एसईईमा ५२ दशमलव १४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण !


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नजिताअनुसार एसईईमा ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी (नन ग्रेडेड) अनुत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए । उनका अनुसार एसईईको परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख २२ हजार ४७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । उतीर्ण भएकामध्ये एक सय ८६ जनाले चार जीपीए ल्याएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए । यस्तै, बोर्डका अध्यक्ष शर्माले एउटा विषयमा एनजी आउने ६७ हजार सात सय ९३ र दुई विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका बताए । दुई सय २१ जनाको परीक्षा भने रद्द भएको थियो ।

यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णांक विषयमा कम्तीमा २७ अंक र आन्तरिक मूल्यांकन २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ । एक सय पूर्णांकमा कम्तीमा ३७ अंक ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अंक आएमा ‘एनजी’ ननग्रेडड आउँछ । यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ । गणित विषयमा एक लाख ७७ हजार नौ सय ८५ विद्यार्थीको एनजी आएको छ । यस्तै, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्राडा शर्माले बताए ।

सामाजिकमा ७३ हजार आठ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ । दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पूरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ । साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरूले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पूरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यस वर्षको एसइई नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्रा डा शर्मा बताए । उनका अनुसार माथिल्लो जीपीए ल्याउनेको संख्या बढेसँगै नतिजा सुधार भएको हो । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार आठ सय ७४ विद्यार्थीले दुई दशमलव ८० देखि तीन दशमलव २० जीपीए प्राप्त गरेका छन् । सबैभन्दा कम छ विद्यार्थीले एक दशमलव ६० देखि दुई जीपीए ल्याएका छन् ।

त्यस्तै, एक सय ८६ विद्यार्थीले चार जीपीए, ३१ हजार दुई सय नौ जनाले तीन दशमलव ६० देखि चार जीपीए, ६८ हजार दुई सय ५६ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए र ७८ हजार आठ सय ७४ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जीपीए, ४१ हजार एक सय ७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए र दुई हजार ९५० जनाले दुईदेखि दुई दशमलव ४० जीपीए ल्याएका छन् ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x