Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशपोखरा विश्वविद्यालयको नयाँ शैक्षिक भवन बन्ने

पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक भवन बन्ने


पोखरा । पोखरास्थित पोखरा विश्वविद्यालयमा अत्याधुनिक र सुविधा सम्पन्न नयाँ शैक्षिक भवन बन्ने भएको छ । विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै आन्तरिक स्रोत परिचालन गरी ४१ करोड ४३ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माण साउन १५ देखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न गरिसक्ने गरी सम्झौता समेत भइसकेको छ । श्रेष्ठ एन्ड सन्स, चो रोल्पा जेभी काठमाडौंले भवन निर्माणको जिम्मेवारी लिएको छ भने आयोजनाको सुपरभिजन परामर्शदाताको रूपमा पेस कन्सल्टेन्ट काठमाडौं रहेको छ । उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको उपस्थितिमा रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष श्रेष्ठ एवं सुपरभिजन परामर्शदातातर्फबाट प्रबन्ध निर्देशक ई विष्णुप्रसाद खनालले निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सात तला भएको उक्त भवनमा ४८ जना विद्यार्थी क्षमताका १४ वटा कोठा र ३० विद्यार्थी क्षमताका १२ वटा कोठा गरी २६ वटा कक्षा कोठा हुनेछन् । भवनमा १२ वटा प्रशासनिक कोठा, २४ वटा शिक्षक बस्ने कोठा, चार वटा विभागीय प्रमुखका कोठा रहनेछन् । कुल ६६ वटा कोठा डिजाइन गरिएको नयाँ भवनमा छात्रा/महिलाका २३, छात्र/पुरूषका लागि १८ वटा बाथरूम/ट्वाइलेट, २४ वटा युरिनल्स र प्रत्येक तलामा स्टाफका लागि एक–एक वटा बाथरूम/ट्वाइलेट निर्माण गरिनेछ । भवनमा एक–एक वटा प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री कक्ष, बिजुली कोठा र चार वटा भण्डार कोठा रहनेछन् । यस्तै, भवनलाई दुई वटा भर्याङ र एउटा लिफ्टसहित तीन सय जना क्षमताको एउटा अडिटोरियम हल र ४० जना क्षमताको एउटा मिनी हलले सुविधायुक्त तुल्याइनेछ । भुइँतलमा १९ कार, ५० मोटरसाइकल तथा भवन परिसरमा ७० मोटरसाइकल अट्न सक्ने गरी व्यवस्थित गरिनेछ ।

सम्झौताबमोजिम भवनलाई निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्दा, कार्पेट एवं फर्निचरले राम्रोसँग सुसज्जित गरी हस्तान्तरण गर्नुपर्नेछ । विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र बन्ने नयाँ शैक्षिक भवनमा अतिरिक्त स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेज भवनका लागि ट्रस संरचना, स्कुल अफ बिजनेस भवनका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मत समेत हुनेछ । प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको स्कुल अफ इन्जिनियरिङको पश्चिमपट्टि र स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि बास्केटबल कोर्ट भएको स्थानसमेत प्रयोग गरी नयाँ भवन निर्माण गरिने रजिस्ट्रार भण्डारीले जानकारी दिए । विश्वविद्यालयमा नयाँ–नयाँ कार्यक्रम थपिनेक्रममा रहेका र पठनपाठनका लागि यथेष्ट कक्षा कोठा आवश्यक हुँदै गएकाले नयाँ भवन निर्माण गर्न लागिएको उनले बताए ।

विश्वविद्यालयमा निर्माण हुन लागेको यो भवनले विश्वविद्यालयको शैक्षिक पूर्वाधारमा ठूलो फड्को मार्ने जनाइएको छ । साथै, पोखरा–२६, विजयपुरमा मासिक लाखौँ खर्च गरी भाडामा सञ्चालन हुँदै आएको स्कुल अफ इन्जिनियरिङको ब्लक ‘बि’ र पोखरा–३०, गगनगौंडामा मासिक हजारौँ खर्च गरी सञ्चालित फिजियोथेरापी कार्यक्रमलाई नयाँ शैक्षिक भवनमा स्थानान्तरण गर्ने विश्वविद्यालयको लक्ष्य रहेको सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।


क्याटेगोरी : प्रविधि / शिक्षा, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x