Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकाठमाडौं विश्वविद्यालयले ‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने

काठमाडौं विश्वविद्यालयले ‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने


काभ्रेपलाञ्चोक । स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ ।

क्यान्सर रोगको समयमा नै पहिचान तथा उपचारार्थ प्रयोगशाला सञ्चालन गर्न केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको हो । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) को भवनमा केन्द्र सञ्चालन गर्न लागेको केन्द्रका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को आर्थिक सहयोगमा स्थापित केन्द्रमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी राष्ट्रिस्तरको क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागिएको हो । कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका स्वास्थ्य सामग्रीमा थप आवश्यक रसायनलगायत सामग्री व्यवस्थापन गरी केही महिनामै सञ्चालनमा ल्याइने उनले बताए ।

हाल पनि क्यान्सर रोग सम्बन्धित कतिपय परीक्षण गर्न विदेश पठाउनुपर्ने बाध्यता रहँदै आएकाले केन्द्र सञ्चालनपश्चात उक्त बाध्यता हट्ने प्राडा ज्ञवालीको दाबी छ । ‘परीक्षणका लागि विदेश पठाइएका नमुनाको रिपोर्ट आउन तीन/चार हप्ता लाग्ने गर्छ, रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा प्रवेश गरिसक्ने खतरा भएकाले बिरामीको समय र पैसा जोगाउन केन्द्रले मद्दत गर्नेछ’, उनले भने । विश्वविद्यालयले केन्द्र सञ्चालनका लागि हालैमात्र क्यान्सर रोग विशेषज्ञ डा अजयकुमार झालाई प्रमुखमा नियुक्त गरेको छ । केन्द्रको प्रयोगशालामा पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउने जनाइएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालमा नै सबै किसिमको क्यान्सरको जाँच गर्ने प्रविधि र उपकरण विश्वविद्यालयमा भित्र्याइसकिएको जानकारी दिए ।


क्याटेगोरी : प्रविधि / शिक्षा, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x