Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षापुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनको अभाव

पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनको अभाव


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हाल पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनको अभाव रहेको बताएकी छन् । १७औँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन नभएको बताइन् ।

कार्यक्रममा उनले छिट्टै नै पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि पहल गर्ने बताइन् । यस्तै, उनले पछिल्लो समयमा विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा पूर्वमन्त्री गणेश साहले पुस्तकालय समाजको ऐना भएको बताए । त्यस्तै, रसियन हाउसका निर्देशक एन्तोन मास्लोभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको जानकारी दिए । यसै दिनदेखि शैक्षिक सत्रको थालनी हुने उनको भनाइ थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुस्तकालयले विगतमा दिएको सेवा, वर्तमान अवस्था र भविष्यमा दिन सक्ने सेवाको आकलन गर्दै भावीपुस्ताले गर्व गर्न सक्ने पुस्तकालय निर्माणमा राज्यले काम गरिरहेको बताए ।

कार्यक्रममा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठन भएको छनोट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान समेत गरिएको थियो । यस वर्ष सम्मानित हुनेहरूमा उत्कृष्ट पुस्तकालयकर्मीमा पोखरा विश्वविद्यालयमा कार्यरत उपलाइब्रेरियन मिनकुमारी डल्लाकोटी, वर्ष पुस्तकालयसेवीमा गीता थापा गिरी, उत्कृष्ट पुस्तकालयमा पर्वतको फलेबासमा सञ्चालित मोती सामुदायिक पुस्तकालय रहेका छन् । उत्कृष्ट पुस्तकालयको रूपमा सम्मानित मोती सामुदायिक पुस्तकालयलाई रत्न पुस्तकालय, बानेश्वर, काठमाडौंले पनि नगद ५० हजार रुपैयाँ र कदरपत्रसहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८१ प्रदान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउस, कमलपोखरीमा १७औँ पुस्तकालय दिवस मनाइएको हो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x