सुस्त श्रवण भएका व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या
दमौली । कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा सुस्त श्रवण भएको व्यक्ति अध्ययन गर्छन् ।
तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरूपमा बसेर अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई बस्ने, खाने व्यवस्था सरकारले गर्दै आएको छ । तर पनि विद्यालयलाई आर्थिक समस्या पर्दै आएको छ ।
वि.सं. २०६५ मा प्रतिविद्यार्थी रु. चार हजार दिने गरिएकामा हालसम्म पनि रकम वृद्धि नहुँदा समस्या हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेत बताउँछन् । “१४ वर्ष पहिला जति रकम विद्यार्थीका लागि दिइन्थ्यो, अहिलेसम्म पनि सोही रकम हुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ”, बस्नेतले भने, “तर जसोतसो व्यवस्थापन गर्नुको विकल्प पनि छैन ।”
सरकारले सुस्त श्रवण भएको व्यक्तिका लागि मासिक प्रतिविद्यार्थी रु. चार हजारका दरले रकम उपलब्ध गराउने गरेको छ । उक्त रकमबाट विद्यार्थीका लागि खाना, पोशाक, सरसफाइ, टेलिभिजन, इन्टरनेट, बिजुली, पानीको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।
“चौध वर्षसम्म एउटै रकम हुँदा अप्ठ्यारो छ, सरसामानको मूल्यवृद्धि छ”, बस्नेत भन्छन्, “हाल विद्यालयको मुख्य समस्या नै यहीँ हो । त्यति न्यून रकममा विद्यार्थी व्यवस्थापन गर्नुपरेको छ ।”
यस विषयमा सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बस्नेतको गुनासो छ । “राज्यले यो समस्या समाधानमा ध्यानै दिएन, धेरैपटक सरोकारवाला निकाय गुहारिसक्यौँ, कतैबाट सम्बोधन हुँदैन”, बस्नेतले रासससँग भने ।
कक्षा १ देखि ५ सम्म सञ्चालित उक्त विद्यालयमा २८ विद्यार्थी छन् । त्यसमध्ये नौ छात्रा र १९ छात्र छन् । कक्षा १ मा पाँच छात्रा र सात छात्र, कक्षा २ मा एक छात्रा र चार छात्र, कक्षा ३ मा चार छात्र, कक्षा ४ मा दुई छात्रा र एक छात्र र कक्षा ५ मा एक छात्रा र तीन छात्र अध्ययनरत छन् । ती विद्यार्थी बस्नका लागि विद्यालय आडैमा आवासगृह भवन निर्माण गरिएको छ ।
छ वर्ष अगाडि पाहार ट्रष्ट नेपाल नामक संस्थाले आवासगृह भवन निर्माण गरिदिएको थियो । उक्त भवनमा ४० जनासम्म विद्यार्थी राख्न सकिने विद्यालयका प्रधानाध्यापक भैरव पन्थ बताउँछन् ।
अठ्ठाइस जना विद्यार्थीका लागि १० महिनावापतको रकम विद्यालयमा आउँछ । सोही रकमबाट विद्यार्थीको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । महिनामा दुईपटक मासु र हप्तामा एकपटक अण्डाको व्यवस्था गरिएको छ । विद्यालयमा भौतिक सुविधा राम्रो रहे पनि विद्यार्थीको आर्थिक पाटोका कारण समस्या हुने गरेको प्रधानाध्यापक पन्थले बताए ।
व्यास नगरपालिका–१ का वडा सदस्यसमेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले यस विषयमा स्थानीय सरकार व्यास नगरपालिकामा कुरा उठाउने गरे पनि सम्बोधन नभएको गुनासो गर्छन् । “म आफैँ स्थानीय सरकारको प्रतिनिधित्व हुँ, नगरप्रमुखसँग यस विषयमा धेरैपटक कुरा गरिसकेँ, सुनुवाइ हुँदैन”, बस्नेतले भने, “भवन निर्माण, भान्साकोठा व्यवस्थापनका लागि पनि नगरपालिकाको तर्फबाट बजेट आउँछ ।” यही वर्ष व्यास नगरपालिकाको रु. तीन लाख सहयोगमा भान्साकोठा निर्माण गरिएको छ ।
कक्षा ५ उत्तीर्ण भएपछि यहाँका विद्यार्थी पोखरा, गोरखा, बागलुङ जाने गरेका छन् । गत शैक्षिकसत्रमा यहाँबाट तीन विद्यार्थी अन्यत्र गएका छन् । विद्यालयमा प्रधानाध्यापकसहित पाँच शिक्षक छन् । त्यसमध्ये दुई पूण तथा एक आंशिक सुस्त श्रवण भएको व्यक्ति र एक जना दोभाषे शिक्षक कार्यरत छन् । शिक्षकमध्ये एक स्थायी रहेको र बाँकी चार जना करारमा रहेको विद्यालयले जनाएको छ ।
त्यस्तै विद्यालयमा चार सहयोगी कर्मचारी छन् । ती कर्मचारीको मासिक तलब पनि न्यून छ । मासिक रु. १३ हजार चार सय ५० तलबमा उनीहरूले काम गर्दै आएका छन् । वि.संं. २०५२ मा खरीस्वाँरा प्राथमिक विद्यालयका रूपमा सञ्चालित विद्यालयलाई वि.सं. २०५२ मा स्थानीय मिश्र परिवारले एक रोपनी जग्गा दिएपछि उक्त विद्यालय गङ्गादत्त प्राविमा रुपान्तरण भएको थियो ।
सोही ठाउँका खड्गबहादुर दाहाल र सीता दाहालले माइला छोरा स्व बुद्धसागर दाहालको स्मृतिमा विद्यालय भवन निर्माणका लागि वि.सं. २०५६ मा जग्गा दान दिएका थिए । स्व. दाहाल भारतीय सेनामा रहँदा वि.सं. २०५५ फागुन ११ गते जागिरकै सिलसिलामा मृत्यु भएको थियो । दाहाल परिवारले छोराको स्मृतिमा एक रोपनी आठ आना जग्गा र रु. १० लाख सहयोग गरेका थियो ।
त्यतिबेला बुद्ध दाहाल प्राथमिक विद्यालयको रूपमा सञ्चालित यस विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि वि.सं. २०७१ मा जलदेवी माध्यमिक विद्यालयमा गाभिएको थियो । जलदेवी माध्यमिक विद्यालयमा चारवटा स्रोत केन्द्रमार्फत सुस्त श्रवण भएको व्यक्ति अध्ययन गर्दै आएका थिए । वि.सं. २०७४ असारबाट भने बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयको रूपमा हालसम्म सञ्चालित छ । त्यतिबेला विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत थिए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, प्रविधि / शिक्षा
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया