Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधविदेशबाट फर्किने श्रमिकमार्फत सुन तस्करी

विदेशबाट फर्किने श्रमिकमार्फत सुन तस्करी


काठमाडौं । एक गिरोहले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत सुन तस्करी गर्ने गरेको पाइएको छ । गिरोहले विभिन्न व्यक्तिमार्फत साँढे दुई अर्ब बराबरको सुन तस्करी गरेको पाइएको हो । सुन तस्करीबाट दुई अर्ब ३५ करोड २३ लाख लाख बराबरको कारोबार भएको प्रहरीको भनाइ छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाका नरेश पञ्जियार, सुनिलकुमार महरा, सिरहाका दिनेशकुमार यादव, शिवसुन्दर राउत, मोहनकुमार यादव, बाँकेका भुमबहादुर तेली, कपिलवस्तुका सन्तगुलाम मुराव, सप्तरीका विनोदकुमार साह, सञ्जुकुमारी साह, देवनन्दन साह, दुर्गा प्रसाद यादव र सर्लाहीका निमाई साह रहेका छन् । कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आइतबार वैदेशिक रोजगारीमा गई कतारबाट नेपाल फर्केका नरेश, दिनेश, भुमबहादुर, सुनिल र सन्त गुलामले भन्सार छली गरी सुन लिएर आएका थिए । त्यस्तै, विनोद, सन्जुकुमारी, दुर्गाप्रसाद र देवनन्दन साह सुन लिन विमानस्थल पुगेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई आइतबार विमानस्थलको आगमन कक्षतर्फको पार्किङस्थलबाट पक्राउ गरेको थियो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकालाई परिचालन गर्दै आएको खुलेको छ । सन् २०१९ देखि उनको खातामा एक अर्ब ९६ करोड रुपैयाँको कारोबार देखिएको अनुसन्धानबाट खुलेको छ । शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार विनोद, शिवसुन्दर, सञ्जुकुमारी र मोहनकुमारबीच व्यक्तिगत नाममा र शिवसुन्दरको रितेश जेनेरल स्टोर्सको नाममा कारोबार हुने गरेको देखिएको छ ।

यस्तै, सञ्जुकुमारीले सुन बागबजारमा रहेको सुर्पना ज्वेलर्समा बेच्ने बताएपछि सो ज्वेलर्सका सञ्चालक निमाई साहलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्सबाट पाँच सय ४२ ग्राम सुन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । तस्करी गर्नेहरूले पाँच हजारदेखि १० हजार दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानोसानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लोपटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए ।


क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया