Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबैंकिङ कसुरको मुद्दा १३ हजार नाघ्यो

बैंकिङ कसुरको मुद्दा १३ हजार नाघ्यो


काठमाडौंमा आपराधिक घटनाहरू बढेको देखिएको छ । काठमाडौं जिल्ला प्र्रहरी परिसरको कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा काठमाडौंमा आपराधिक कार्यहरू बढेको पाइएको छ ।परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै पछिल्लो एक वर्ष अपराधजन्य घटनाहरू बढेको बताएका हुन् । परिसरप्रमुख कार्कीका अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुर, अभद्र व्यवहार, चोरी, ठगी, लागुऔषध, आत्महत्या, महिला तथा बालबालिका, सवारी ज्यान तथा अङ्गभङ्ग, कर्तव्य ज्यान र अन्य अपराध शीर्षकमा कुल १३ हजार चार सय ६४ मुद्दा दर्ता भएका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा चार हजार चार सय ८७ले बढी हो । आर्थिक वर्ष २०७८÷७९मा यी सबै शीर्षकमा आठ हजार नौ सय ७७ मुद्दा दर्ता भएका थिए । यसरी मुद्दाको संख्या बढ्नु भनेको आपराधिक क्रियाकलाप बढ्नु रहेको कार्कीले बताए ।

परिसरका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका कुल मुद्दासंख्यामध्येमा सबैभन्दा बढी बैंकिङ कसुरसम्बन्धी रहेका छन् । आर्थिक वर्ष २०७८÷७९मा बैंकिङ कसुरअन्तर्गत कुल तीन हजार सात सय १५ वटा मुद्दा दर्ता भएकोमा २०७९÷८०मा तीन हजार तीन सय ८६ले बढेर सात हजार एक सय एक पुगेको छ । बैंकिङ कसुरपछि अभद्र व्यवहार शीर्षकमा धेरै मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा अभद्र व्यवहार गरेका कुल दुई हजार तीन सय १६ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष यो संख्या पाँच सय ७८ले बढेर दुई हजार आठ सय ९४ पुगेको छ । परिसरप्रमुख कार्कीका अनुसार चोरीसम्बन्धी घटना पनि बढेका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा चोरी शीर्षकमा कुल चार सय ६० वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष यो संख्या बढेर छ सय ४७ पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ठगी शीर्षकअन्तर्गत आठ सय १२ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा यस्तो संख्या घटेर चार सय १४ मा झरेको छ । ठगी शीर्षकमा दर्ता भएका मुद्दाको संख्या तीन सय ९२ ले घटेको देखिएको छ । परिसरका अनुसार लागुऔषधसम्बन्धी मुद्दा पनि बढेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा लागुऔषधसम्बन्धी तीन सय ३९ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष यस्तो संख्या ३९ले बढेर तीन सय ६८ पुगेको छ ।

परिसरप्रमुख कार्कीका अनुसार आर्थिक वर्ष २०७८÷७९मा आत्महत्यासम्बन्धी कसुरअन्तर्गत तीन सय ४१ वटा मुद्दा दर्ता भएका थिए भने गत आर्थिक वर्ष यो शीर्षकमा कुल तीन सय ५७ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷८०मा महिला बालबालिका कसुर शीर्षकअन्तर्गत दर्ता भएका मुद्दामा भने कमी आएको छ । आर्थिक वर्ष २०७८÷७९मा कुल तीन सय ८२ मुद्दा महिला बालबालिकासम्बन्धी दर्ता भएकामा आर्थिक वर्ष २०७९÷८०मा तीन सय २६ वटा दर्ता भएका छन् ।

यस्तै सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुरअन्तर्गत आर्थिक वर्ष २०७८÷७९मा एक सय ७३ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा १६ले बढेर एक सय ८९ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कर्तव्य ज्यान शीर्षकमा दर्ता भएका मुद्दाको संख्या घटेको छ । परिसरप्रमुख कार्कीका अनुसार आर्थिक वर्ष २०७९÷८०मा कर्तव्य ज्यान शीर्षकमा २७ वटा मुद्दा दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक वर्षमा भन्दा कम हो । आर्थिक वर्ष २०७८÷७९मा कर्तव्य ज्यान शीर्षकमा ३७ वटा मुद्दा दर्ता भएका थिए । यस्तै अपराधसम्बन्धी अन्य कसुरमा गत आर्थिक वर्ष एक हजार एक सय ४१ वटा मुद्दा दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात सय ३९ले बढी हो । आर्थिक वर्ष २०७८÷७९मा अपराधसम्बन्धी अन्य कसुर शीर्षकमा चार सय दुईवटा मुद्दा दर्ता भएका थिए ।


क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया