चिनियाँ र भारतीय व्यापारीद्वारा नेपालीको प्रयोग गरी संगठितरूपमा सुन तस्करी
काठमाडौं,बुधबार राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामंगल क्षेत्रबाट समातेको एक सय किलोभन्दा धेरै सुन बरामद घटनामा बिहीबार चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेका छन् र त्यसपछि उक्त काण्डमा विभिन्न व्यक्तिमाथि निगरानी राखिएको छ ।
सम्बद्ध सूत्रका अनुसार साउन २ गते क्याथे प्यासिफिक एयरबाट कार्गाेमार्फत सुन आएको हुनसक्ने आकलन गरिएको छ । उक्त सुन नेपालमा बसेर सुनचाँदीको संगठितरुपमा तस्करी गर्दै आएका भारतीय नागरिकले ल्याएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको सुरक्षा स्रोतको दाबी छ ।
उक्त सुन तस्करीमा राजनीतिक नेताको संलग्नता छ वा छैन भन्नेबारेमा बिहीबारसम्म पनि कुनै तथ्य अनुसन्धान गर्ने निकायले सार्वजनिक गरेको छैन भने पक्राउ पर्ने सूचीमा राजनीतिक दलका नेताहरु छैनन् । तर, चिनियाँ नागरिक लिङसँग न्यूरोडको व्यापारी दया भन्ने व्यक्ति संलग्न रहेको स्रोतको दाबी छ ।
चिनियाँ नागरिक लिङको लगानीमा दोलखा मेलुङ ३ का २१ वर्षीय युवा दिलिप भुजेलको नाममा रेडी ट्रेडर्स प्रालि खोलेको र उनका मामा दोलखा मेलुङ–१ का रामकुमार भुजेल (पेसाले ड्राइभर)ले एक व्यापारीको गाडी चलाउँदै आएका छन् ।
भिजिट भिसामा बैंकक–हङकङ जाने व्यक्तिहरुलाई प्रयोग गरेर सुन पठाएको हुनसक्ने अनुमान गरिएको छ । साउन ३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म बा. १६ च ७७१९, बा. ६ च ४७५, बा. २४ च १७०४ का गाडी त्यहाँबाट निस्केको देखिएको छ । उक्त कार्गाे स्क्यानमा सरोज श्रेष्ठसहित दुई जना ड्युटीमा थिए । उक्त सामान राजेन्द्र राईले छुटाएका छन् । पशुपति गुरुङ, सुमन निरौला र परिवर्तन राई, कमल ढकालसहित भुइँफुट्टा वर्गका सुन व्यापारीलगायत अन्य व्यक्ति त्यस घटनामा संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
आशंका गरिएका परिवर्तन राईले सिंगापुरको एउटा कम्पनीको तर्फबाट उक्त गोदाम सञ्चालन गर्न नक्कली कागजात बनाएर प्रस्ताव हालेका थिए । पछि नक्कली कागजात बनाएर टेन्डर हालेको भनी छानबिन गरेर उनको प्रस्ताव अस्वीकार गरिएको थियो ।
कार्गाे र ठेक्कापट्टा गर्ने राई राजनीतिकरुपमा नेकपा एमालेनिकट व्यक्ति हुन् । उक्त सुन काण्डमा मुछिए पनि बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी व्यापारी दीपक मलहोत्राले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । उनीजस्तै आशंका गरिएका अर्का विवादास्पद भारतीय व्यापारी राकेश अडुकियाचाहिँ सम्पर्कविहीन छन् ।
उनको मोबाइलमा घण्टी गए पनि फोनचाहिँ उठेन । उनी नेपालमा बसेर हङकङ–बैंककबाट सुनचाँदीको व्यापार गर्दै आएका व्यापारी हुन् ।
उक्त गोदाममा थुप्रै सुनचाँदी र विदेशी मुद्रा आएर थन्किएको र कर्मचारीसँग सेटिङ मिलाएर सुटुक्क पास गर्ने गरिएको र कुरा मिलाएर सुन बाहिर निकालिएको भए पनि असन्तुष्ट पक्षले राजस्व अनुसन्धान विभागलाई खबर गरेपछि उक्त सुन पक्राउ परेको समाचार स्रोतको दाबी छ ।
यसैबीच सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले बिहीबार राजस्व अनुसन्धान विभागलाई १० दिनको म्याद दिएको छ । आरोपीहरुलाई अदालत पेस गरेकामा १० दिनको म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा साहीले जानकारी दिइन् । भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक भोजपुरका दिलिप भुजेल, सहयोगी भोजपुरकै हर्कराज राई, तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ र दोलखाका रामकुमार भुजेल तथा ट्याक्सीचालक अशोक रानामगरको म्याद थप
गरेको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले स्कुटरको ‘ब्रेक सु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई पनि बिहीबार पक्राउ गरेको छ । विभागका अनुसार ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरेको हो । भट्ट आफैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेको अवस्थामा विभागको टोलीले पक्राउ गरेको हो ।
यस्तै, राजस्व अनुसन्धान विभागको ब्याक सपोर्टमा रहने सशस्त्र प्रहरीको टोलीले बिहीबार बेलुकी छिरिङ बस्ने काठमाडौंको लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको फ्ल्याटमा छापा मारेको छ । नेपालमा अवैधरुपमा यति धेरै सुन भित्रिए पनि त्यो सबै नेपालमा खपत हुने अवस्था छैन । सबै सुन भारत जाने धेरैको अनुमान छ । सुनमा लगानी बढेको कारण नगदको अभाव देखिएको कतिपयको अनुमान पनि छ । नगद पैसाको जोखिम बढ्दै गएपछि विश्वभर नै सुनमा लगानी गर्ने चलन छ । किनकि पैसालाई राज्यले खारेज गरेर कागज बनाए पनि सुनलाई भने खारेज गर्न सक्तैन । सुनमा तस्करी, भ्रष्टाचारलगायत सम्पत्ति शुद्धीकरणबाट आर्जित धन बढी लगानी हुने गरेको अनुमान छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया