Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधमाइती पक्षको महिनौ दिनको धर्नापछि मृतक आरतीका श्रीमानलाई थुनाको आदेश

माइती पक्षको महिनौ दिनको धर्नापछि मृतक आरतीका श्रीमानलाई थुनाको आदेश


जनकपुरधाम । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिइएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । गत ७ जेठमा आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो । उता, सोही दिन आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । र, तीन महिना अगाडिदेखि स्व.आरती साहको न्यायको लागि माइती पक्षले धर्ना दिदैँ आएको थियो ।

छोरीको आत्महत्या नभई हत्या भएको भन्दै छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भाई, मामालगायत परिवार भित्रका सदस्यले करिब तीन महिनादेखि काठमाडौंको माइतीघरमण्डलामा धर्ना दिंदै आएका थिए । जुन, धर्नाले आज आएर केही हदसम्म न्याय पाएको छ ।

आरतीको घटनापश्चात प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएका थिए ।दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी थियो ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले असार १ गते जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको हो । सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया