Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधरुसी सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ १२ जना

रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ १२ जना


काठमाडौं । ‘भिजिट भिसा’मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

काठमाडौँ घर भएका सन्तोष रोका, काठमाडौँ–१६ घर भएका रोजल महर्जन, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय दिपेन परियार, काभ्रेका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिकाका ३८ वर्षीय द्रोणा डाँगी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार उनीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट सडक मार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । उक्त गिरोहले प्रतिव्यक्ति सात लाखदेखि ११ लाख रुपैयाँसम्म असुलेको र नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको उनले बताए ।

उपरीक्षक ढुङ्गेलले भने, ‘रसियाबाट निमन्त्रणा पत्र र भिजिट भिसा उपलब्ध गराएबापत गिरोहका सदस्य हरिबहादुर विश्वकर्माले १८ सय ५० अमेरिकी डलर पठाउने गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।’ आरोपीले पठाएकोमध्ये ११ जना नेपाल फर्किएका छन् । पाँच–दश जनाको समूहबाट रसिया पठाउन सुरु गरेका आरोपीमध्ये केही कन्सल्टेनी सञ्चालक पनि छन् । केही कन्स्ल्टेन्सीले विज्ञापन नै गरेर रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्तासमेत सञ्चालन गरेको खुलेको उनले जानकारी दिए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया