Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधभारतमा लाइभ अन्तर्वार्ता चल्दै गर्दा प्रहरी घेरामा रहेका पूर्व सांसद र उनका भाइको हत्या

भारतमा लाइभ अन्तर्वार्ता चल्दै गर्दा प्रहरी घेरामा रहेका पूर्व सांसद र उनका भाइको हत्या


काठमाडौं, भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ।

अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा एक जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सुरक्षा निकायलाई ‘उच्च सतर्कता’मा राखेका छन्।

विपक्षी नेताहरूले सुरक्षामा भएको उक्त लापरबाहीले कानुनी शासनमाथि प्रश्न खडा गरेको टिप्पणी गरिरहेका छन्।

को हुन अतिफ अहमद
अपहरणमा दोषी ठहर गरिएका अतिक अहमदमाथि हत्या र आक्रमणहरू गरेका अभियोग छ। उनले नौ वर्षअघि सांसद पदबाट राजीनामा दिएका थिए।

अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानी हत्या गरिदिएका थिए।भिडिओमा अहमद र उनका भाइ असरफले हतकडी लगाएको र उक्त घटना हुनु केही सेकेन्डअघि पत्रकारहरूसँग बोलिरहेको देख्न सकिन्छ।

स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको समयमा पत्रकारहरूसँग कुरा गरिरहँदा उनीहरूमाथि गोली प्रहार गरिएको थियो।

सामाजिक सञ्जाल र टेलिभिजन च्यानलहरूमा व्यापक रूपमा साझा भइरहेको फुटेजमा अहमदलाई छोराको अन्तिम संस्कारमा सहभागी भए या नभएकोबारे सोधिएको छ।
क्यामेरामा उनले बोलेका अन्तिम शब्दहरू थिए, “उनीहरूले हामीलाई लगेनन् त्यही भएर हामी गएनौँ।”पत्रकारको भेषमा आएका भनिएका तीन सन्दिग्ध हमलाकारीहरू घटनास्थलमा मोटरसाइकल चढेर पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्का एक पत्रकार र एक जना प्रहरी घाइते भएका छन्।

शनिवार रातिको उक्त घटनापछि मूख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको आदेश दिँदै उत्तर प्रदेशका जिल्लाहरूमा ठूला भीडहरूमाथि प्रतिबन्ध लगाएका छन्।
अहमदले हत्या र आक्रमणको अभियोग खेपिरहेको उत्तरप्रदेशको प्रयागराजमा प्रहरी हिरासतमा रहेका उनी र उनका भाइलाई ल्याइएको थियो।

दुवै जना गएको एप्रिलमा महिनामा फेब्रुएरीमा हत्या गरिएका उमेश पालको मुद्दासँग जोडेर पक्राउ परेका थिए। सन् २००५ मा बहुजन समाज पार्टीका सांसद राजु पालको हत्या गरिएको घटनामा उमेश मुख्य प्रत्यक्षदर्शी थिए।

अहमदलाई सन् २०१९ मा अपहरणमा दोषी पाइएपछि जेलमा थुनिएको थियो।हत्या आरोपमा खोजी गरिएका अतिक अहमदका छोरा असद र अर्का व्यक्ति अघिल्लो हप्ता प्रहरीसँगको झडपमा मारिएको भनिएको थियो।

विपक्षी पार्टीको आरोप
अघिल्लो महिना भारतको सर्वोच्च अदालतले अहमदको याचिकामा सुनुवाइ गर्न अस्वीकार गरेको थियो। त्यसमा उनले प्रहरीबाट आफ्नो ज्यान जोखिम रहेको बताएका थिए।

उत्तर प्रदेशमा हिन्दु राष्ट्रवादी बीजेपी दलले शासन गरिरहेको छ र विपक्षी दलहरूले उक्त हत्या सुरक्षा लापरबाहीका कारण भएको टिप्पणी गरेका छन्।

“यूपीमा अपराध शिखरमा पुगेको छ र अपराधीहरूको मनोबल उच्च छ,” विपक्षी समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले लेखेका छन्।
उनले प्रहरीको सुरक्षा घेरा भित्र गोली हानेर कसैको ज्यान लिन सकिने अवस्थाले सर्वसाधारणको सुरक्षामा प्रश्न खडा गरेको सङ्केत गरेका छन्।

उक्त घटनाले भयको वातावरण उत्पन्न गराएको भन्दै उनले केही व्यक्तिहरू योजनाबद्ध रूपमा नै त्यसो गर्न लागिपरेको हुनसक्ने बताए।

पछिल्लो ६ वर्षमा उक्त राज्यमा विभिन्न अभियोग खेपिरहेका १८० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्।अधिकारवादीहरूले गैर न्यायिक हत्यामा प्रहरी संलग्न रहेको आरोप लगाए पनि राज्यका अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन्।(बीबीसी)


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया