Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीवीपी प्रतिष्ठानमा छुट्टै डेङ्गु क्लिनिक

वीपी प्रतिष्ठानमा छुट्टै डेङ्गु क्लिनिक


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेङ्गु क्लिनिक सञ्चालनमा ल्याएको छ । फैलिँदै गएको डेङ्गु रोगको प्रकोप नियन्त्रण तथा सर्वसाधारणले सहज उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले धरान उपमहानगरपालिकाको सहकार्यमा क्लिनिक सञ्चालनमा ल्याएको हो ।

प्रतिष्ठानको जीओपीडी भवन अगाडि सञ्चालनमा ल्याइएको क्लिनिकका लागि प्रतिष्ठानले चिकित्सक, नर्स, पारामेडिक्सलगायत अन्य जनशक्तिको व्यवस्था गरेको छ भने धरान उपमहानगरपालिकाले पाँच सय थान डेङ्गु परीक्षण किट र उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था गरेको छ । हप्ताको सातै दिन सञ्चालनमा रहने क्लिनिक आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा रहने छ ।

क्लिनिकमा आउने बिरामीका लागि डेङ्गुको परीक्षण निःशुल्करूपमा गरिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । गत असार २९ गते देखि ३१ गतेसम्म जम्मा एक सय २१ जनाको परीक्षण गरिएकोमा ९६ जना (७९ दशमलव तीन प्रतिशत)मा डेङ्गु संक्रमण देखिएको छ ।

डेङ्गु क्लिनिकमा जचाउन आउँदा बिरामीले सर्वप्रथम ओपीडी टिकट लिई क्लिनिकमा जानुपर्ने हुन्छ । त्यहाँ रहेका चिकित्सक, नर्सहरूले जाँच गरेपश्चात् ¥यापिड किटको माध्यमबाट परीक्षण गरी डेङ्गु भए÷नभएको तुरुन्तै पत्ता लाग्ने प्रतिष्ठानले जनाएको छ । परीक्षणबाट डेङ्गु संक्रमित देखिएमा अन्य आवश्यक जाँच तथा परीक्षणका लागि प्रतिष्ठानको ल्याबमा पठाइन्छ ।

यसरी छुट्टै सञ्चालित डेङ्गु क्लिनिकका कारण बिरामीहरू निःशुल्क परीक्षणलगायत चिकित्सकको उपचार सेवा सहजरूपमा पाउँदा गरेकोमा सर्वसाधारणले राहत महशुस गरी खुसी व्यक्त गरेका छन् । दिनानुदिन बढ्दो डेङ्गुका बिरामीहरूको चापका कारण हाल उपलब्ध किटले मात्रै नपुग्ने भएकाले धरान उपमहानगर, प्रदेश स्वास्थ्य मन्त्रालय, संघीय स्वास्थ्य मन्त्रालयसँग थप माग गरिएको प्रतिष्ठानले जनाएको छ । मागअनुसार धरानले थप दुई सय थान तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय, काठमाडौंबाट दुई हजार थान डेङ्गु परीक्षण किट उपलब्ध गराउने आश्वासन प्राप्त भएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया