Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैली१९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

१९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया


तुलसीपुर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको उज्यालो अभियान कार्यक्रमअन्तर्गत करिब एक हजार नौ सय जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । विभिन्न स्थानीय तहसँगको सहकार्यमा आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रममा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

नागरिकहरूले मोतियाविन्दुका कारण दृष्टिविहीन जीवनयापन गर्नु नपरोस् र सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत सहयोग पु-याउने उद्देश्यले स्थानीयतहरूसँग निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी उज्यालो अभियान सञ्चालन गरिएको अस्पताललका प्रमुख प्रशासक शमशेर थापाले बताए । पैसा र पहुँचको अभावका कारण कोही कसैले पनि अनाहकमै आँखाको ज्योति गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्य यस कार्यक्रमको रहेको उनको भनाइ छ ।

उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा दुई सय ५९ जना, घोराही उपमहानगरपालिकामा एक सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा एक सय जना मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया गरेको कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए । त्यस्तै, सबैभन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिकाभित्रका चार सय सात जना, गढवा गाउँपालिकामा तीन सय १० जना, रापजपुर गाउँपालिका वडा नं ३ ले पाँच जना र लमही नगरपालिका वडा नं. ६ ले नौ जनाको गरी सात सय ३२ जनाको शल्यक्रिया गरिएको नेत्र सहायक विमल घिमिरेले जानकारी दिए ।

साथै, लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारीमार्फत ४९ जना मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया गरेको छ । त्यस्तै, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडासम्ममा दुई सय ५५ जना बिरामीहरूको शल्यक्रिया गरेको कार्यक्रम सहसंयोजक हरि भण्डारीले जानकारी दिए । त्यस्तै, कपिलस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा एक सय जना र शिवराज नगरपालिकामा ८० जना बिरामीहरूको आँखा शल्यक्रिया गरिएको छ ।

सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनीकरण गर्न आफूहरू लागेको बताए । उनले गत आर्थिक वर्षमा ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको र अब तीन सय २० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्कले देखाएको जानकारी दिए । त्यस्तै, दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफूहरूको साझेदारीमा पहिलोपटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताए । नेपाल नेत्रज्योति संघको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ कार्यक्रमलाई सफल बनाउन सबै स्थानीय पालिकामा छलफलसमेत भएको प्रमुख प्रशासक शमशेर थापाले बताए । उनले जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरी अन्धोपनका लागि साझेदारी गर्ने प्रतिबद्धता जनाएको समेत बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया