Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीजापानले दियो क्यान्सर सेन्टरलाई म्यामोग्राफी मेसिन

जापानले दियो क्यान्सर सेन्टरलाई म्यामोग्राफी मेसिन


काठमाडौं । ललितपुरमा सञ्चालित महिला क्यान्सर सेन्टरमा नेपाल क्यान्सर केयर फाउन्डेसनले म्यामोग्राफी मेसिन जडान गरिदिएको छ । जापान सरकारको सहयोगमा जडान गरिएको म्यामोग्राफी मेसिन सोमबार हस्तान्तरण गरिएको फाउन्डेसनले जानकारी दिएको छ ।

जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स–जीजीपी) अन्तर्गत मेसिन जडान गरेको हो । हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्चमै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीका कारण पर सरेको बताए । जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख्य सुधार भएको उनको भनाइ छ ।

पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर ५०० भन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको राजदूत युताकाको भनाइ थियो । भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिकरूपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन सार्थक हुने उनको भनाइ छ । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले क्यान्सरविरोधी लडाइँलाई मेसिन बरदान साबित हुने दाबी गरे ।

यस्तै, फाउन्डेसनका महासचिव डा सरिता घिमिरेले महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर पीडितको संख्या पछिल्लो समय बढ्दै गएको जानकारी दिइन् । फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैंले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पु-याइएको पनि बताइन् ।

त्यसैगरी, सरकारलाई राष्ट्रिय क्यान्सर नीति बनाउन चाहिने विज्ञता उपलब्ध गराएको र सरकारसँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिएको उनको भनाइ छ । फाउन्डेसनले घुम्ती स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्यालले म्यामोग्राफी मेसिन संस्थाका लागि असाध्यै बहुमूल्य उपकरण भएको बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया