Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैली‘काठमाडौंका ९९ प्रतिशत फार्मेसी मापदण्ड विपरीत’

‘काठमाडौंका ९९ प्रतिशत फार्मेसी मापदण्ड विपरीत’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं उपत्यकाका ९९ प्रतिशत फार्मेसी मापदण्ड विपरीत सञ्चालित भइरहेको बताएका छन् । औषधि व्यवस्था विभागले आयोजना गरेको फर्मासिस्ट व्यवसायीका लागि कुशल फार्मेसी सञ्चय भण्डार एवम् अभ्याससम्बन्धी ‘क्षमता अभिवृद्धि तालिम’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धेरै फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको बताए । नेपालमा अहिले फर्मासिस्टको संख्याभन्दा फार्मेसीको संख्या बढी रहेको दाबी गर्दै उनले फर्मासिस्टभन्दा फार्मेसीको संख्या बढी हुनुनपर्ने बताए । फर्मासिस्टविना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको उनको भनाइ छ । यस्तै, उनले कतिपय औषधि कम्पनीले दर्ता र नवीकरण नगरेको र मापदण्डअनुरूप बिक्रीवितरण नगरेको पाइएकाले मन्त्रालयले अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने बताए । उनका अनुसार मन्त्रालयले हालै काठमाडौं उपत्यकामा एक सय फार्मेसी अनुगमन गर्दा एउटा फार्मेसी मात्रै मापदण्डअनुसार सञ्चालन भएको पाइएको छ ।

धेरैजसो फार्मेसी फर्मासिस्टविनै चलिरहेको, अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढिरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको समेत भेटिएको बताए । औषधिजस्तो संवेदनशील विषयको लापरबाही तबरले बिक्री वितरण हुँदा मानवीय स्वास्थ्यमाथि खेलबाड भइरहेको बताए ।

यस्तै, उनले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताए । स्वास्थ्य क्षेत्रमा अन्य विभिन्न शीर्षकका बजेट घटाएर भए पनि नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क र प्रभावकारीको पहुँच अभिवृद्धि गरिने उनको भनाइ थियो । ‘मैले दुई वर्षभित्रमा हालकै स्रोतसाधन, चुहावट नियन्त्रण, फजुल खर्च र अनुत्पादक क्षेत्रको रकम कटौती गरेर भए पनि जनताको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र प्रभावकारी बनाउने विषयमा जोड दिएको छु’, उनले भने । मन्त्री बस्नेतले हाल वीर अस्पतालमा लागू गरिएको बिहान आठ बजेदेखि सुरु हुने ओपीडी सेवा क्रमशः देशभर विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताए । विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरूको अनुगमनको काम गर्न नसकिरहेको उनको भनाइ थियो । ढकालले गत वर्ष मात्र तीन हजारभन्दा बढी फार्मेसीको निरीक्षण गरेको, दुई हजार नयाँ फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया