Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीदक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने

दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने


काठमाडौं । आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार भदौ २१ देखि २३ गतेसम्म न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो ।

यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो । त्यसपछि सन् २०१२ मा दोस्रो पटक गरी नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ । विगत करिब छ वर्षदेखि यो सम्मेलन हुन सकेको थिएन । रोकिएको सम्मेलन नेपाल न्युरोसर्जन समाजले नेपालमै आयोजना गर्न लागेको डा श्रेष्ठले जानकारी दिए । नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्युरोसर्जन रहेका छन् । तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै कार्यरत छन् । बाँकी आधा देशका अन्य स्थानमा कार्यरत छन् । हाल देशको सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति रहेको हुनाले न्युरोसर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ ।

सन् १९८८ मा स्व डा उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात् देशमा यो सेवाको सुरुवात भई विस्तार हुँदै गएको हो । हाल नेपालमा रहेका न्युरोसर्जन संख्याको हिसाबले पर्याप्त नभए पनि सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति हुनु उत्साहजनक भएको श्रेष्ठ बताउँछन् । नेपालको पूर्वी र तराई क्षेत्रमा न्युरोसर्जनको संख्या प्रशस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्युरोसर्जरी सेवा अझै न्यून रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार करिब एक लाख जनसंख्याका लागि एक न्युरोसर्जनको आवश्यकता पर्छ । नेपालमा हाल यो अनुपात करिब सवा एक लाखका लागि एक न्युरोसर्जन रहेको छ, जुन त्यति नराम्रो होइन ।

दक्षिण एसियाका अन्य देशमा यो अनुपात नेपालको भन्दा कमजोर देखिन्छ । भारतमा करिब दश लाख जनसंख्याका लागि एक न्युरोसर्जन रहेका छन् भने बंगलादेशमा पनि झन्डै उस्तै अवस्था रहेको छ । पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ । त्यहाँ करिब ५० लाख जनसंख्याका लागि एकमात्र न्युरोसर्जन रहेका छन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया