Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशदरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार

दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो ।

मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विस्तारमा प्राथमिकता दिएको बताए । ‘२४ लाख रुपैयाँ बजेट विनियोजन भएको योजनाका लागि उपभोक्ता समितिले यस वर्ष १४ लाख रुपैयाँबराबरको काम गरे’, उनले भने, ‘अस्पतालको पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको छ ।’ आँखा, आयुर्वेद उपचार र फार्मेसी (औषधि बिक्री) कक्षका लागि तीनकोठे भवन निर्माण भएको हो । खाली जग्गामा ‘पेवर ब्लक’ राखेर हिलो र धुलो नहुने बनाएपछि अस्पताल परिसर चिटिक्क परेको छ । पुरानो र नयाँ भवनमा रङ्गरोगन भएको छ । यसअघि घेराबार नहुँदा अस्पताल परिसर अव्यवस्थित बनेको थियो । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई मालिका गाउँपालिकाले गत भदौमा पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धौलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताए । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा निक साइमन इन्स्टिच्युटले थप एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्स जनशक्ति सहयोग गरेको छ । प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरेको छ ।

गाउँपालिकाले अस्पताल सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३२ लाख रुपैयाँ अनुदान दिएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएकामा अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x