Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशदोलखामा ५० प्रतिशतले बढे क्यान्सरका बिरामी

दोलखामा ५० प्रतिशतले बढे क्यान्सरका बिरामी


दोलखा । उपयुक्त खानपिन, जीवनशैली, वंशाणुगतलगायतका कारण दोलखा क्यान्सर पीडितहरू बढिरहेका छन् । जिल्लाभरको तथ्याङ्क हेर्दा क्यान्सर रोगबाट पीडित हुनेहरूको संख्या गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको पाइएको छ ।

जिल्लामा गत वर्ष करिब दुई सय क्यान्सर पीडित रहेकोे यस वर्ष उक्त संख्या बढेर तीन सय नाघेको छ । दुई नगरपालिकासहित सात गाउँपालिका रहेकोे दोलखा क्यान्सर रोग लाग्नेको संख्या तीन सय १२ जना पुगेको हो । यस्तै, जिल्लाभर क्यान्सर, मृगौला डायलासिस, मृगौला प्रत्यारोपण र मेरूदण्डको पक्षघात भएका बिरामीको संख्या पाँच सय ३० रहेको छ । दोलखामा सबैभन्दा बढी क्यान्सरका बिरामी भीमेश्वर नगरपालिकामा ५५ जना रहेका छन् । यस्तै, भीमेश्वरमा अन्य रोग मृगौला डायलासिस गर्ने, मृगौला प्रत्यारोपण गरेका र मेरूदण्डको पक्षघात भएका बिरामीको संख्या ६४ रहेको छ । त्यसैगरी जिरी नगरपालिकामा क्यान्सर पीडित बिरामीको संख्या २१ रहेको छ । जिरीमा अन्य रोगहरू मृगौलापीडित र मेरूदण्डको पक्षघात बिरामीको संख्या भने १४ रहेकोे छ ।

शैलुङ गाउँपालिकामा पनि क्यान्सर रोगबाट पीडित बन्नेहरूको संख्या उच्च रहेको छ । शैलुङमा क्यान्सरको कारण एक वर्षमा १२ जनाको मृत्यु भएको शैलुङ गाउँपालिका जनस्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्कीले जानकारी दिए । यहाँ हाल ४७ जना क्यान्सरपीडित उपचाररत रहेकोे स्वास्थ्य प्रमुख कार्कीले बताए । शैलुङ मृगौलापीडित र मेरूदण्डको पक्षघातका बिरामीको संख्या १९ जना रहेको छ । त्यसैगरी मेलुङ गाउँपालिकामा क्यान्सर रोगका बिरामीको संख्या ३५ जना रहेकोे छ भने यहाँ मृगौला रोगी र मेरूदण्डको पक्षघात रोगका बिरामीको संख्या २३ जना रहेको छ ।

त्यसैगरी तामाकोशी गाउँपालिकामा क्यान्सर पीडितको संख्या ३८ रहेको छ । सोमध्ये क्यान्सरको कारण तीन जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ । तामाकोशी हाल ३५ जना क्यान्सरका बिरामी उपचाररत छन् । कालिञ्चोक गाउँपालिकामा भने २६ जना क्यान्सरका बिरामी रहेका छन् । यस पालिकामा अन्य रोग मृगौला, मेरूदण्डको पक्षघातका बिरामीको संख्या १६ जना रहेकोे छ । त्यसैगरी जिल्लाको गौरीशंकर, विगु र वैतेश्वर गाउँपालिकामा पनि अघिल्लो वर्षको तुलनामा क्यान्सर लाग्नेहरू संख्या वृद्धि भएको भेटिएको छ । गौरीशंकरमा हालसम्म २४ जना र विगु गाउँपालिकामा २३ जना क्यान्सर पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाहरूले जनाएका छ ।

यस्तै, वैतेश्वरमा क्यान्सर र मृगौला पीडित रोगका बिरामी संख्या २५ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्याङ्कअनुसार गत वर्ष ४२ जना क्यान्सर रोगी रहेकोमा हाल ६० जना पुगेको छ । वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर तामाङले पालिकाको वडा नम्बर–८ बाहेक अन्य सात वटा वडा क्यान्सर र मृगौलाका बिरामी रहेकोे बताए । उनका अनुसार वडा नम्बर–६ मात्रै १८ जना क्यान्सर रोगी रहेका छन् । गत वर्ष यस वडामा १० जना क्यान्सर रोगी रहेकोमा यस वर्ष उक्त संख्या बढेर १८ पुगेको हो । त्यसैगरी वडा नम्बर–४ मा १३ जना र वडा नम्बर–७ मा १२ पुगेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी वडा नम्बर–३ मा पनि बिरामीको संख्या ८ पुगेको छ । गत वर्ष यस वडा संक्रमित बिरामी तीन जना मात्रै रहेका थिए । त्यसैगरी वडा नम्बर–२ मा ४ र वडा नम्बर–१ मा दुई जना क्यान्सरको बिरामी छन् ।

उपयुक्त खानपिन नमिल्दा क्यान्सर रोग लाग्ने गर्छ । विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख रोग क्यान्सर हो । सरकारले क्यान्सर, डायलासिस, किड्नी प्रत्यारोपण र मेरूदण्डको पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार पालिकाहरूले उक्त रोगका बिरामीको तथ्याङ्क संकलन गरिरहेको छ । क्यान्सर लाग्नेहरूमा पुरुषभन्दा महिलाहरू बढी रहेका छन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x