निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा
टङ्कीसिनवारी । सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि आकस्मिक सेवा कक्षलाई सुधार गरिँदै लगिएको छ । आकस्मिक सेवालाई निजी अस्पतालका तुलनामा बढी व्यवस्थित, सफा र प्रविधिमैत्री बनाउन अस्पताल प्रशासनले ध्यानकेन्द्रीत गरेकोे छ । उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतमा छ ।
कुनै बेला फोहर र दुर्गन्धित भनेर चिनिने उक्त अस्पतालको आकास्मिक सेवामा जडान गरिएको प्रविधि र सरसफाइदेखि सेवाग्राही दङ्ग छन् । नाक थुनेर आकास्मिक सेवामा सेवा लिन छिर्ने गरेका सेवाग्राही अहिले भएको सुधारले खुसी छन् । आकास्मिक सेवाको सरसफाइका लागि चार सफाइकर्मीलाई अस्पतालले खटाएकाले चौविसैँ घण्टा आलोपालो गरी सफाइ हुँदै आएको छ ।
फोहर विसर्जनका लागि कक्षभित्र आधा दर्जनभन्दा बढी ठूला डस्टबिन राखिएको र कुचो लगाउनेदेखि फिनेलपानीले भूइँ पुछ्नेसम्मको काम पटक पटक हुँदै आएको छ ।
तीस शय्या रहेको आकस्मिक सेवा कक्षलाई रेड, एल्लो र ग्रिन जोनमा बाँडिएको छ । तत्कालै अक्सिजन दिएर उपचार गरिनुपर्ने बिरामीलाई रेड, निगरानीमा राख्नुपर्ने बिरामीलाई एल्लो र सामान्य प्रकृतिका बिरामीलाई ग्रिन जोनमा राख्न थालिएको छ । कक्षका पाँच शय्यामा मोनिटर जडान गरिएको र यसबाट बिरामीको रक्तचाप, पल्स रेट र अक्सिजन लेभल थाहा हुनेहुँदा उपचार सजिलो बन्दै गएको छ ।
यस्तै उक्त कक्षको प्रत्येक शय्यासम्म अक्सिजनको पाइप लाइन पु¥याइएको छ । आकास्मिक सेवा कक्षभित्र रहेको चार सिसी टिभी क्यामेराले त्यहाँ भित्रको गतिविधि निगरानी गर्ने गरेको छ । क्यामेरा जडान भएदेखि कक्ष पूर्णरूपमा सुरक्षित भएको छ भने अनावश्यक व्यक्तिको प्रवेशलाई नियन्त्रण गर्न पनि सघाउ पुगेको छ । उक्त कक्षमा सात चिकित्सक, १७ प्यारामेडिक्स, चार कार्यालय सहयोगी र चार सफाइ कर्मचारी खटिएका छन् ।
बिरामी भई सघन उपचार कक्षमा भर्ना भएकी एक वृद्धाकी कुरूवा तारा चापागाईंले आकस्मिक कक्षमा भएको परिवर्तनले आफू अचम्ममा परेको बताइन् । उनले यस अस्पतालको आकस्मिक सेवा सरकारी नभएर कुनै निजी अस्पताल भएको झैँ महसुस भएको चर्चा गरिन् । खोटाङ्ग जिल्लाबाट आएर आकस्मिक सेवामै आमाको उपचार गराइरहेका सुर्यकुमार रइलाले यहाँकोे सरसफाई र छिटो छरितो सेवादेखि आफू प्रभावित भएको राससलाई बताए ।
उनले कक्ष सफासुग्घर रहेको र उपचारमा कुनै समस्या नदेखिएको उल्लेख गरे । जनस्वास्थ्य निरीक्षक एवं उक्त अस्पतालका आकस्मिक सेवा इन्चार्ज गजेन्द्र यादवले पहिलेको जस्तो नाक थुनेर कक्ष छिर्नुपर्ने अवस्था अन्त भएको बताए । उनले यस कक्षलाई प्रविधिमैत्री बनाउँदै लगिएको र सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ भने । इन्चार्ज यादवले कक्षलाई प्रदेश नं. १ कै नमुना बनाउने गरी आफू नेतृत्वको टोलीले कार्य गर्दै आएको बताए । वि.सं. १९४७ मा उक्त अस्पताल स्थापना भएको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, कोशी प्रदेश
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया