नेपालमा किन बढ्यो दादुराको प्रकोप, जोगिन के गर्ने ?
काठमाडौं,नेपालमा गत ११ महिनामा एक हजारभन्दा बढीमा दादुराको सङ्क्रमण देखिएको र १६ जिल्लामा दादुरा प्रकोप पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
यस अवधिमा उक्त सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको सरकारी विवरणमा उल्लेख छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको विवरणअनुसार शुक्रवारसम्म देशभरि १,००३ दादुराका बिरामी भेटिएका छन्।
गत ज्यानुअरी महिनामा बाँकेको नेपालगञ्जमा पुष्टि भएको दादुरा प्रकोप हाल मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, कपिलवस्तु, अर्घाखाँची, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा पनि देखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
काठमाण्डूको गोकर्णेश्वर नगरपालिकामा पनि गत साता चार जनामा दादुरा पुष्टि भएको थियो। बिरामी सबै जोयो कदम्पा विद्यालयका रहेको अधिकारीहरूले बताएका छन्।
‘‘सङ्क्रमण भएका व्यक्तिहरूको खोजी गरी आएका प्रारम्भिक तथ्याङ्कहरूले खोप नलगाएका व्यक्तिहरू बढी सङ्क्रमित भएको भन्ने देखिएको छ,’’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बीबीसीसँग भने।
‘‘त्यसको अर्थ खोपको सन्दर्भमा र सचेतनाका विषयमा पनि अलि बढी गम्भीर भएर काम गर्नुपर्ने सङ्केतहरू देखिएका छन्।’’
नेपालले सुरुमा सन् २०१९ मा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो। तर उक्त लक्ष्य पूरा हुन नसकेपछि सन् २०२३ को लक्ष्य तय गरिएको थियो। अब भने सन् २०२६ सम्मका लागि भाका सारिएको विवरणहरू सार्वजनिक भएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०१९ को पहिलो तीन महिनामा विश्वव्यापी रूपमा दादुराका बिरामीको सङ्ख्या गत वर्षको उक्त अवधिको तुलनामा तीन गुणा भएको पाइएको जनाएको थियो।
किन बढ्यो सङ्क्रमण?
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सन् २०२२को नोभेम्बर २४ तारिख देखि सन् २०२३को मार्च १० सम्मको नेपालको अवस्था प्रतिवेदनमा दादुरा हुने ८६ प्रतिशत मानिस १५ वर्षभन्दा मुनिका बालबालिका रहेको उल्लेख छ।
सन् २००४ मा नेपालमा दादुराको निकै ठूलो प्रकोप देखिएको थियो। त्यस बेला झन्डै १२ हजार मानिस सङ्क्रमित भएका थिए।
तर त्यस यताका वर्षहरूमा भने निश्चित स्थानहरूमा अनियमित रूपमा दादुराबाट सङ्क्रमित भएका व्यक्तिहरू फेला पर्ने गरेका छन्। हाल देखिएको प्रकोप भने विगतका वर्षहरूको तुलनामा ‘असाधारण रूपमा उच्च’ रहेको जनाइएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन खोप कार्यक्रममा भएको कमीकमजोरीका कारण पछिल्लो समय दादुराको प्रकोप बढेको हुन सक्ने ठान्छन्।
झन्डै पाँच महिनाअघि नेपालगञ्जमा देखिएको प्रकोपले खास गरी कोभिड महामारीका बेला धेरै सर्वसाधारण सङ्क्रमणको त्रासका कारण खोप केन्द्रसम्म नगएको देखिएको उनको भनाइ छ।
‘‘नेपालगञ्जमा प्रकोप देखिएपछि त तुरुन्त एक्सनमा जानुपर्ने थियो। त्यहाँको अवस्थाबाट सिक्न सकिएन कि भन्ने लाग्छ,’’ पुनले भने।
गत मार्चमा विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार हालको प्रकोप तुलनात्मक रूपमा कम प्रतिरोधात्मक क्षमता भएको जनसङ्ख्यामा देखा परेको छ।
त्यस्तो हुनुको कारण कोभिड महामारीका बेला नियमित खोप कार्यक्रममा भएको अवरोध अनि सन् २०२० मा दादुरा-रुबेलाका लागि उपलब्ध गराइएको खोपको अतिरिक्त मात्राको गुणस्तर रहेको डब्ल्यूएचओले उल्लेख गरेको छ।
खोप कार्यक्रमको अवस्था
दादुराको हकमा एउटा मात्रै सङ्क्रमण पुष्टि हुनु वा भेटिनुलाई पनि अलार्मिङ सिचुएशन (सचेत हुनुपर्ने अवस्था) मानिने गर्छ। त्यसै कारण उक्त प्रकोपबारे खोजदेखि नियन्त्रणका लागि विभिन्न कामहरू अघि बढाइएको सरकारी भनाइ छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप प्रभावित जिल्लाहरूमा हालसम्म कुल दुई लाख १५ हजार ५४ जनालाई दादुरा खोप लगाइएको छ।
त्यस्तै दादुरा प्रकोप अति प्रभावित मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्मााल असार मसान्तसम्ममा १६ लाख ८१ हजार ८५१ बालबालिकालाई दादुरा खोप लगाइने परिवार कल्याण महाशाखाको लक्ष्य छ।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सरकारले स्थानीय तह अनि समुदायहरूको सक्रियता खोजेको अधिकारी बताउँछन्।
‘‘खोप लगाउने उमेर समूहका बालबालिका त्यो समयमा खोप लगाउन छुट्नुभयो भने त्यसको नकारात्मक प्रभाव दीर्घकालसम्म पर्ने खालको हुन्छ,’’ अधिकारीले भने।
हाल दादुरा र रुबेलाविरुद्धको खोप नेपालमा पर्याप्त मात्रामा उपलब्ध रहेको सरकारले जनाएको छ।
खोपबाहेक सङ्क्रमण फैलिन नदिन प्रकोप देखिएको ठाउँहरूमा केही दिनका लागि विद्यालयहरू बन्द गर्ने, लक्षण देखिएका वा सङ्क्रमण पुष्टि भएका बालबालिकालाई आइसोलेशनमा राख्नेलगायतका उपायहरू अवलम्बन गर्नुपर्ने डा. पुनको सुझाव छ।
सङ्क्रमण पुष्टि भइसकेकाको हकमा ७२ घण्टा भित्रमा खोप लगाइदिए जटिल अवस्था हुनबाट जोगिने उनी बताउँछन्।
दादुरा के हो?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दादुरा मिजल्स भाइरसबाट हुने अति सङ्क्रामक रोग हो।यो रोग जुनसुकै उमेर समूहका मानिसलाई र विशेष गरी बालबालिकालाई लाग्न सक्ने बताइन्छ।
‘‘अति सङ्क्रामक भएको कारणले गर्दा यो रोगले छिट्टै महामारीको रूप लिन सक्दछ,’’ मन्त्रालयले जारी गरेको एक सूचनामा उल्लेख छ।
डा. पुनका अनुसार दादुरा कोभिडका सङ्क्रामक भनिएका भेरिअन्टहरूभन्दा पनि तीव्र गतिमा फैलन सक्छ।खास गरी पाँच वर्ष भन्दामुनिका र ३० वर्षभन्दा माथिका मानिसहरूमा यसको जोखिम उच्च हुन्छ।दादुरा सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।
दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ।तर कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा सङ्क्रमण भएर जटिलता उत्पन्न हुन सक्छ।
मुख्य लक्षण के हुन्?
उच्च ज्वरो आउनु
खोकी लाग्नु
आँखा रातो हुनु
नाकबाट पानी बग्नु
शरीरमा राता मसिना बिमिराहरू देखिनु
दादुरा रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा सङ्क्रमण (निमोनिया) हुने, आँखामा समस्या भई अन्धोपन सम्म हुने अनि मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने मन्त्रालयले जनाएको छ।
आफू र अरूलाई जोगाउन के गर्ने?
शङ्कास्पद बिरामीहरूमा दादुराको लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
महामारी फैलन नदिन शङ्कास्पद बिरामीहरूलाई आइसोलेसनमा राख्ने
हाँच्छिँउ गर्दा, खोक्दा नाक र मुख सफा रुमाल वा कपडाले छोप्ने
व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने। बेला बेलामा साबुन पानीले मिचिमिची हात धुने
सङ्क्रमित व्यक्तिलाई घरभित्र हावा ओहोरदोहोर हुने, सफा अनि घाम लाग्ने कोठामा राख्ने
सङ्क्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहने
स्वास्थ्य मन्त्रालयका अनुसार दादुराबाट सङ्क्रमित भएका बालबालिकालाई सामान्य अवस्थाभन्दा बढी पोषिलो खानेकुरा खुवाउनुपर्छ। त्यस्तै उनीहरूलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार भिटामिन ए खुवाउनु पर्छ।
कतिपयले दादुराबाट जोगिनका लागि घरेलु विधि पनि अपनाउने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन्। खास गरी दुर्गम क्षेत्रहरूमा यस्ता अभ्यास अझै पनि प्रचलनमा रहेको बताइने गरेको छ।
तर चिकित्सकहरू भने दादुराविरुद्ध खोप नै लगाउन जरुरी रहेको बताउँछन्।
‘‘पुराना प्रचलन खराब छन् त म भन्दिनँ, तर त्यस्ता विधिका कारण कति जनामा कस्तो समस्या आयो भन्ने हामीसँग यकिन डेटा छैन र त्यसको वैज्ञानिक आधारहरू पुष्टि नभएसम्म ठीक छ भनेर भन्न सकिँदैन,’’ पुनले भने।(बीबीसी)
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया