Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकृषि उत्पादन र क्रयशक्ति

कृषि उत्पादन र क्रयशक्ति


काठमाडौं । हाम्रो देशमा कुल गार्हस्थ उत्पादनमा २३ प्रतिशत योगदान एवं ६० दशमलव चार प्रतिशत जनसंख्या आबद्ध कृषि क्षेत्र आर्थिक समृद्धि हाँसिल गर्ने राष्ट्रकै मूल आधारशीला हो । उच्च समावेशी आर्थिक वृद्धिमा योगदान पु¥याउने क्षेत्र भएकाले कृषि वैज्ञानिक ढंगले सुधार तथा रुपान्तरण गर्दै विगतका प्रयासलाई सघन बनाई उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु आवश्यक छ । नेपालको संविधानले खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको सन्दर्भमा विभिन्न कारणले उत्पन्न हुन सक्ने खाद्य तथा पोषण संकटको अवस्थालाई मध्यनजर गर्दै प्रमुख खाद्यान्न फलफूल, तरकारी र माछामासु उत्पादनमा आत्मनिर्भरताको लागि कृषिमा नीतिगत, संरचनागत र संस्थागत सुधार आवश्यक छ ।

देशलाई खाद्य सम्प्रभु तुल्याएर स्वाधीन अर्थतन्त्रको विकास गर्न कृषि क्षेत्रमा उल्लेख्य मात्रामा लगानी बढाउन पनि त्यत्तिकै आवश्यक छ । नेपालको संविधानका अधिकार सूची, कृषि क्षेत्रको समग्र विकासको लागि मार्गचित्रणको रूपमा रहेको कृषि विकास रणनीति र दिगो विकास लक्ष्यलाई मार्गदर्शनको रूपमा लिएको पाइन्छ । रणनीतिले कृषि तथा पशुपन्छीजन्य उत्पादनको व्यवसायीकरण, यान्त्रीकरण र विविधीकरण गरी यस क्षेत्रलाई प्रतिष्पर्धी बनाउन जोड दिएको छ । दिगो विकास लक्ष्यले लिएको भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषण सुनिश्चित गर्ने, दिगो कृषिको प्रवद्र्धन गर्ने लक्ष्य हाँसिल गर्ने गरी यो क्षेत्रमा स्रोत र साधनको वैज्ञानिक परिचालन गर्नुपर्छ । त्यस्तै, कृषि क्षेत्रको औद्योगिकीकरणको माध्यमबाट थप रोजगारी सिर्जना गरी आयआर्जन, गरिबी निवारण तथा आयात व्यवस्थापनलाई समेत सम्बोधन गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहको लगानीलाई कृषि क्षेत्रको समग्र विकासमा प्रभावकारी रूपबाट परिचालन गर्नु आजको आवश्यकता हो ।

यसै सिलसिलामा असार महिना भएकाले हाम्रो देशको मुख्य खाद्यान्न धान बालीको संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । असारलाई मानो छरेर मुरी उत्पादन गर्ने महिनाको रूपमा लिइन्छ । असार साउन महिना कृषकहरू भोक तिर्खा र पसिना बिर्सेर खेतीपाती गर्नमा व्यस्त हुन्छन् । असार १५ लाई किसानहरू चाडको रूपमा दही चिउरा/सेलरोटी अचार खाई खुसीले मनाइन्छ । यो क्रममा ब्याडमा राखिएको धानको बीउलाई उखेलेर मुठा पार्ने मानिसलाई बीउ काड्ने मानिस वा ब्याडे भनिन्छ । धानको बीउ रोप्नेलाई रोपार भने सम्याएर माटोलाई लेदो बनाएर धानको बीउ रोप्ने खेत तयार पार्ने बाउसे हुन् । साथै, आफ्नो रोपाई समाप्त भएपछि रोपाई समाप्त नहुनेलाई सघाउने प्रचलन पनि छ । केही वर्ष यता, असार पन्ध्रलाई राष्ट्रियस्तरमा दिवसको रूपमा मनाउन थालिएको पाइन्छ । रोपाई गर्दा एक प्रकारको असारे गीत गाई हिलो छ्यापाछ्याप गरी सो दिवस मनाउने संस्कृति छ । तर दुःख लाग्छ, धान दिवसका मुख्य प्रतिनिधिले गत वर्षमा खेतमा रोप्ने धानको बीउ गलामा माला लगाई गमलामा धान रोपी यो दिवस मनाएको हाम्रो मनसपटलमा स्पष्ट नै छ । सो दृश्यले हाम्रो कृषि प्रदान देशलाई नै गिज्याइरहेको भान हुन्छ ।

साँच्चै भन्नुपर्दा कुषि उपज हाम्रो जीवन हो । यो हाम्रो संस्कृतिको रूपमा जोडिएको छ । उदाहरणको लागि असार पन्ध्र दही चिउरा/सेलरोटी अचार, साउने सङ्क्रान्ति लुतो फ्याँकेर हरियो मकै पोली प्रसादको रूपमा खाने, साउन पन्ध्र खिर खाने, जनैपूर्णिमा क्वाँटी खाने, दशैँमा दही चिउरा, केरा खाने, तिहारमा सेलरोटी खाने, हरिबोधनी एकादशीमा फलफूल, सोको भोलिपल्ट द्वादशीमा नयाँ अन्न न्वागीको रूपमा दहीचामल खाने, पन्ध्र पुषमा लट्टे, माघे संक्रान्तिमा खिचडी, तरुल, चाकु, तिलको लड्डु र विभिन्न खाद्य परिकार, योमरी पूर्णिमामा योमरी, अक्षय तृतीयमा सातु र सर्वत खाइन्छ । यी माथिका खाद्यान्न परिकार हाम्रो रीतिरिवाजसँग जोडिएको छ । पहिले यी अवसरमा यी खाद्यान्नबाट बनाएका परिकार खाइन्थ्यो भने आजभोलि जुनबेला पनि पहुँचको आधारमा खाना पाइन्छ ।

हाम्रो देश कृषिप्रधान देश हो र कृषिसँग खाना जोडिएको छ । यस अर्थमा खाना पनि हाम्रो संस्कृति, विशेषगरी दही चिउरा नेपालीको जनजिब्रोमा झुण्डिएको असार पन्ध्रको दही चिउरा/रोटी अचारमध्ये यहाँ दही चिउराबारे संक्षेपमा प्रस्तुत गर्ने जमर्काे गरिएको छ । हाम्रो शरीरको लागि दही पोषक खाद्यान्नको रूपमा लिइन्छ । दहीमा शरीरलाई चाहिने क्याल्सियम, पोटासियम र अन्य आवश्यक तत्व पाइन्छ । यसमा पोषणमात्र नभई आयुर्वेदिक औषधिको गुण पनि हुन्छ । दहीले मधुमेहलाई सन्चो गर्छ । मांसापेशी र हाड बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले पाचन प्रक्रियामा मद्दत गर्दछ । पखाला लाग्दा दही खाए रोकिन्छ । मानव शरीरलाई गुणस्तर बनाउने भएकाले यसलाई परापूर्वकालदेखि नै महत्वपूर्ण खाद्यपदार्थको रूपमा लिइयो । यो दही हाम्रो पुर्खाले सिर्जना गरेको अमृततुल्य पदार्थ हो भन्नुमा अत्युक्ति नहोला । त्यस्तै, चिउरा पनि हाम्रो स्वास्थ्यलाई दहीसँग खाँदा बढी लाभदायक हुन्छ । त्यसैले धान रोपाइँ गर्ने हली, रोपार, ब्याडे, बाउसे आदिको कडा मेहनत गर्दागर्दै शरीर कमजोर हुने भएकाले शरीरलाई तन्दुरुस्ती राख्नका लागि दही चिउरा तथा सेलरोटी अचार आदि खाने हाम्रो संस्कृति छ ।

कृषि उत्पादन वृद्धि गर्न अपरिहार्य स्रोत साधन र सामग्रीको न्यून उपलब्धता, आर्थिक भौगोलिक पूर्वाधारजस्तै सिँचाइ, सडक, कृषि बजार, शीत भण्डार र गोदामघर संकलन तथा बिजुलीको अपर्याप्तता मूल समस्याको रूपमा देखिएको पाइन्छ । कृषिजन्य उत्पादनमा आशातीत उपलब्धि हासिल गर्न उन्नत, नश्ल तथा बीउको प्रतिस्थापन दर पनि अन्त्यन्त कम छ । यसको अतिरिक्त वैदेशिक रोजगारीमा युवाशक्ति, खाडी मुलुक जाने जग्गाको तीव्र खण्डीकरण पनि प्रमुख समस्याको रूपमा देखापरेको छ । साथै, कृषिमा वैज्ञानिक जनशक्ति व्यवस्थापन कमजोर, कृषिको आधुनिकीकरण, यान्त्रीकरण, पूर्वाधार, व्यापारीकरण, औद्योगिकीकरण कमजोर हुनु प्रमुख समस्याहरू हुन् ।

माथि भनेजस्तै मुख्य व्यावसायिक वातावरणको अपर्याप्तताका कारण कृषिका लागि आवश्यक पर्ने जनशक्तिको रूपमा रहेका युवा जनशक्ति अन्य क्षेत्र तथा वैदेशिक रोजगारीमा संलग्न भई हाम्रा गाउँघरका कृषियोग्य जमिनमा उनिउँ फुली उत्पादकत्वमा ह्रास आएको छ । अर्काेतिर अव्यवस्थित सहरीकरण, जग्गाको खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि भूमिलाई उपयोगमा ल्याउनु तथा कृषि प्रसार सेवामा कृषकको पहुँच अभिवृद्धि गर्नु, सीमित स्रोत साधन, कृषि ऋण, बीमा, प्रविधि र ज्ञानको प्रयोगलाई तारतम्य मिलाई कृषि उत्पादनमा वृद्धि गर्नु स्थानीय सरकारको प्रमुख भूमिका हो ।

त्यस्तै, किसानले पाइराखेको सुविधा, ऋण सहुलियत, मल, बीउ सिँचाइमा अनुदान आदिमा अधिकतम किसानको पहुँच पु-याउने, बिचौलियाको व्यवस्थापन गर्ने, अनुगमन कार्य प्रभावकारी बनाई किसानले कृषि उपजको उचित मूल्य पाउने व्यवस्था मिलाउने र सरकारी सहुलियत र बीमा सुविधाको सदुपयोग गर्न आवश्यक छ । भौगोलिक तथा जैविक विविधताजन्य सम्भाव्यता प्रभावकारी अध्ययन हुनु, पुँजी प्रेरणा, आत्माविश्वास र प्रविधिबारे ज्ञानसहित वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि व्यवसायमा आकर्षण गर्नु जैविक खेती र कृषि वनप्रति उद्यमी र सरोकारवालाको आकर्षण बढाउनु, उत्पादित वस्तुको देशभित्रै तथा बढी भएमा देशबाहिर व्यापारको पहुँच वृद्धि गर्नुपर्छ । कृषि ऋण, बीमा, नवीन प्रविधि आदिको प्रभावकारी विकास गर्न, जलवायु परिवर्तनसँग जुध्न, ज्ञान, सिप, प्रविधि र स्रोतको उचित व्यवस्थापन गर्नुपर्छ । यसमा माथि भनेजस्तै संघ, प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारकै अहम् भूमिका रहन्छ । त्यसपछि मात्र कृषि उपजसँग जोडिएको हाम्रो संस्कृतिद्वारा कृषिमा क्रयशक्ति वृद्धि हुन्छ । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया