भ्रष्टाचारलाई प्रहार गर्ने नेपाली विचारको तरबार
काठमाडौं । भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको माउ विचार छ भन्ने नेपालका सबै नेता तथा दलहरूलाई थाहा छ । तर उनीहरू थाहा नभएको अभिनय गरिरहेका छन् । नेपालको भ्रष्टाचार विरोधी माउ विचारले सबै खाले भ्रष्टाचार र भ्रष्टहरूलाई निचरनाचर पार्न सक्छ । यो विश्वभरको भ्रष्टाचार विरोधी साझा वैचारिक हतियार हुन सक्छ । भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको विचारको तरबारको अर्थात् भ्रष्टाचार विरोधी नेपाली माउ विचारको आज यहाँ चर्चा यसैको गर्न खोजिएको छ ।
‘नियानिसाप बिगान्र्या भन्याको घूस दिन्या र घूस षान्या इन दुइको ता धन जीव गरिलियाको पनि पाप छैन । ई राजाका(राज्यका, राज्यकेन्द्रका,राजनेताका हरेक तहका प्रमुखका –ले.) महासतुर हुन्” । यो भ्रष्टाचार विरोधी नेपालको माउ विचार हो । यो विचार नेपाल राष्ट्रका निर्माता एवं बडानेता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले अघि सारेका हुन् । यो भ्रष्टाचार विरोधी आधुनिक नेपालको आदि विचार हो । राष्ट्र निर्माण गर्ने बडानेताको सुशासन पनि निर्माण गर्ने यो बडा विचार जब व्यवहारमा आउँछ, तब भ्रष्टाचार पछारिन थाल्छ । भ्रष्टहरू थेचारिन थाल्छन् । किनकि पृथ्वीको यो विचार भ्रष्टाचार विरोधीका लागि साँच्चै बलियो हतियार हो । यो भ्रष्टाचारलाई प्रहार गर्ने नेपाली विचारको तरबार हो । आउनुहोस् यो विचारको तरबारको मर्म समातौँ र भ्रष्टाचार निर्मूल पार्ने उपायको खोजी गरौँ ।
सबैलाई थाहा भएकै हो, नेपाल मात्र होइन कि विश्व नै घुसखोरी कमिसनतन्त्र र भ्रष्टाचारले आक्रान्त भएको छ । घुस, भ्रष्टाचारले मूल्य र मान्यतालाई समाप्त पारिरहेछ । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, धार्मिकलगायत सबै क्षेत्रमा विकृति, विसंगति अराजकता र अविश्वसनीयता बढाएको छ । निमुखाले प्राप्त गर्नुपर्ने न्याय, आय, सेवा, विकास र समृद्धि उनीहरूको हातबाट खोसिरहेको छ । यसले सामाजिक असमानता, भेदभाव र अशान्तिलाई बढाइरहेको छ । साथै, यसले व्यक्ति–व्यक्तिको नैतिकतालाई स्खलित गराउँदै राज्य तथा समाजका हरेक अंगलाई पङ्गु बनाएर लगिरहेछ । अझ डरलाग्दो कुरो त घुस र भ्रष्टाचारलाई राजनीतिले पछार्नुपर्नेमा भ्रष्टाचारलाई जताततै उल्टो राजनीतिले नै बोकिरहेको छ, संरक्षण दिइरहेछ । घुस भ्रष्टाचारले गर्दा मौलाएको तस्करी तथा कालोधन्धाले सिङ्गो मानव समाजलाई नै संकटतिर धकेलिरहेको छ । पैसाका लागि सूचना बेच्ने र राष्ट्रका दुश्मनसँगसमेत साँठगाँठ गर्नेहरूले राष्ट्रिय सुरक्षामा समेत खतरा बढाएका छन् । जताततै विश्वभरमा विखण्डन आतंकको आधार बढाएका छन् ।
घुस खाएर भ्रष्टाचारीहरूले राष्ट्रहित विपरीत सौदाबाजी गर्न सक्छन् । सन्धिसम्झौता गर्न सक्छन् । विदेशीसँग साँठगाँठ गरेर राष्ट्रहितका ठूलाठूला आयोजनाहरू र उद्योगहरू चौपट पार्न सक्छन् । जनताको स्वास्थ्य, शिक्षामाथि खेलबाड गर्न सक्छन् । हतियार कमिसनको लोभमा युद्धको खेती गर्न सक्छन् । देशका गोप्य सूचनाहरू बेच्न सक्छन् । स्वच्छ राजनीतिलाई भ्रष्ट व्यवसाय बनाउन सक्छन् भने स्वच्छ व्यवसायलाई बर्बादै पार्न सक्छन् । राज्यका सबै अंगहरू कार्यपालिका, न्यायपालिका व्यवस्थापिका तथा चौथो अंग पत्रकारिता र राजनीति सञ्चालन गर्ने दलसमेतलाई बदनाम र पथभ्रष्ट बनाउन सक्छन् । तसर्थ, सबै क्षेत्रलाई बर्बाद बनाउने घुस भ्रष्टाचार र यसका स्रोतहरूलाई निमिट्यान्न पार्न विश्वव्यापीरूपमा पृथ्वीको विचारको नेतृत्वमा नयाँ साझा तर सशक्त अभियानको खाँचो छ । भ्रष्टाचार विरोधी नेपाली विचारको तरबार याने पृथ्वीविचारको तरबार सबै भ्रष्टहरूको शिरमाथि फनफनी फन्का मार्नैपर्ने हुन्छ ।
भ्रष्टाचारलाई सबै क्षेत्रबाट सशक्त र चोटिलो प्रहार गरेर मात्र यो विरुद्धको लडाइँमाथि विजय हासिल गर्न सकिन्छ । उच्च नैतिकता र मनोबलले मात्र यसका विरुद्ध लडाइ लडेर जित्न सकिन्छ । कुनै पनि लडाइँ जित्नलाई सुस्पष्ट र सशक्त वैचारिक हतियारको जरुरी हुन्छ । भ्रष्टाचारलाई तह लगाउन पृथ्वीविचारभन्दा बलियो वैचारिक हतियार विश्वमा विरलै होला । तसर्थ, भ्रष्टाचाररूपी मानव सिर्जित सामाजिक रोगको उपचार पुथ्वीविचार नै हो भन्ने सत्य बुझ्न कति पनि ढिलो गर्नुहुँदैन ।
भ्रष्टाचारविरुद्धको लडाइँमा होमिन चाहने जो कोहीले पनि पृथ्वीविचारलाई वैचारिक अस्त्रकारूपमा लिनै पर्छ । भ्रष्टाचारीहरूको भ्रष्टाचारको हार तब हुन्छ जब तीमाथि भ्रष्टाचारविरोधी पुथ्वीविचार सवार हुन्छ र निर्ममतापूर्वक शिरदेखि पाउसम्म भ्रष्टाचार विरोधी पृथ्वीविचारको तरबारले प्रहार गर्न थाल्छ ।
माथि नै भनियो न्याय, विकास, व्यापार, धर्म संस्कृति, समाज, राजनीति, अर्थनीति प्रशासन आदि इत्यादि सबैलाई बिगार्ने भनेको नै भ्रष्टाचार हो । पृथ्वीविचारले घुस लिनदिन बाध्य पार्ने दुवै आर्थिक अपराधीलाई राज्य र नेतृत्वको सत्रु मानेको छ । यस्ता अपराधीलाई कडा सजाय दिनू भन्ने पृथ्वीनारायणको मत नै भ्रष्टाचार विरोधी पृथ्वीविचार हो । घुस र भ्रष्टाचारले अपराध गर्ने र अपराधसम्बन्धी धेरै कुरालाई ढाकछोप गर्ने हुनाले यिनीहरूलाई पृथ्वीविचारले महाअपराधी मानेको हो । त्यसैले पृथ्वीनारायणले यस्ता भ्रष्ट अपराधीहरूलाई राज्यको सत्रु ठानेको हो । पृथ्वीविचारले यस्ता भ्रष्टहरूको सम्पत्ति जफत गर्ने र ज्यान सजायसम्म दिन सकिने कानुनको वकालत गर्छ । सुशासन, सामाजिक न्याय, विकास, स्वच्छ राजनीति तथा अर्थतन्त्रलाई सुदृढ बनाउन र जनमुखी प्रजातन्त्रलाई सफल बनाउन घुस, भ्रष्टाचार र कमिसनतन्त्रलाई नियन्त्रण गर्न भ्रष्टाचार विरोधी पृथ्वीविचारलाई सम्मान गर्दै सक्रिय बनाउनै पर्छ ।
घुस, भ्रष्टाचार र कमिसनको सञ्जाल राष्ट्रियस्तरमा मात्र सीमित छैन । अन्तर्राष्ट्रियस्तरमा नै यसको सञ्जाल फैलिएको छ । ठूलाठूला भ्रष्टहरूले कालो अवैध धन अर्को मुलुकमा लुकाउन वा सेतो वैध बनाउन लान्छन् । तर भ्रष्टहरूको लागि त कुनै पनि मुलुक सुरक्षित नहुनुपर्ने होइन र ? हो भ्रष्टाचारको लागि संसारको कुनै पनि मुलुक सुरक्षित बासस्थान हुनुहुँदैन । संसारभरका सबै भ्रष्टहरूलाई लखेट्न पृथ्वीविचार संसारभर पुगेको हुनुपर्छ । संयुक्त राष्ट्र संघमार्फत् पृथ्वीविचार उसका सबै सदस्य राष्ट्रमा पुग्नुपर्छ र भ्रष्टाचार विरोधी लडाइँमा सामेल हुनुपर्छ । जब सबै मुलुकमा भ्रष्टाचार विरोधी कडा कानुन बन्छ र भ्रष्टहरूमाथि प्रहार सुरु हुन्छ, तब त्यहाँ पृथ्वीविचार पुगेको मानिने छ । संयुक्त राष्ट्र संघ वा भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय निकाय पृथ्वीविचारले निर्देशित हुनुपर्छ । भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्ने र ज्यान सजायसम्म दिन सकिने कडा कानुन संयुक्त राष्ट्र संघले सबै मुलुकमा बनाउन लगाउनुपर्छ । भ्रष्टाचार गरेको सबै कालोधन र भ्रष्ट व्यक्ति सम्बन्धित मुलुकमा फर्काउने सन्धिसम्झौता सबै भ्रष्टाचार विरोधी मुलुकबीचमा हुनुपर्छ । तर विडम्बना भ्रष्टाचारको सबैभन्दा बढी विरोध गर्ने र सुशासनको वकालत गरेर नथाक्ने कतिपय पश्चिमा मुलुकहरूका बैंकहरू नै भ्रष्टको सबभन्दा सुरक्षित स्थान बनेका छन् । गरिब मुलुकका गरिबहरूको गास भ्रष्टहरूले खोसेर धनी मुलुकमा लैजाने अनि त्यही कालोधनको सानो अंश लिएर पश्चिमाहरू गरिब मुलुकमा भ्रष्टाचार विरोधी सुशासनको शिक्षा दिन आउँछन । योभन्दा व्यङ्ग्य के हुन सक्छ भ्रष्टाचार विरोधी युद्धको मैदानमा । अब पश्चिमाहरूलाई भ्रष्टाचार विरोधी शिक्षा दिन पृथ्वीविचार पश्चिमा मुलुकमा पुग्नुपर्छ र सबै भ्रष्टाचार र भ्रष्टहरूलाई पछार्न थाल्नुपर्छ । हामीसँग भ्रष्टाचार विरोधी यति बलियो पृथ्वीविचारको तरबारलाई बेवास्ता गर्दै भ्रष्टाचार विरोधी लडाइँ लड्न पश्चिमाहरूले खडा गरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको आडलाग्नु पर्ने हो र नेपालले ?
नेपालका भ्रष्टाचार विरोधी विचारका बडानेता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भ्रष्टाचार विरोधी विचारलाई बलियो कानुनी र नैतिक हतियारको रूपमा प्रचारित गर्नुपर्छ । एकतिर माथि भनिएजस्तो पृथ्वीविचारको मर्मानुसारको भ्रष्टाचार विरोधी कडा कानुन बनाउनु र लागु गर्नुपर्छ । अर्कोतिर भ्रष्टाचार विरोधी जनमत बढाउन, जनताको नैतिक मनोबल उच्च बनाउन र बनाइराख्न एउटा प्रभावकारी उपाय छ । त्यो उपाय हो नेपालका सबै नोटमा राष्ट्रनिर्माताको तस्वीर राख्ने हो । अनि नोटको वरिपरि घुस लिनेदिने दुवै राज्यका सत्रु हुन् र तिनको सम्पत्ति जफत गर्न र ज्यान सजाय दिँदा पनि पाप लाग्दैन भन्ने बढो उक्ति लेख्नुपर्छ । यसले भ्रष्टाचार विरोधी जनमत बढाउँछ र भ्रष्टाचार घटाउन मद्दत गर्छ । यस्तो सिको विश्वका अरू देशले पनि गर्नेछन् ।
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत सबै कार्यालयमा भ्रष्टाचार विरोधी पृथ्वीविचारको उक्त उक्ति लेख्नुपर्छ । भ्रष्टाचार विरोधी माउ विचार पृथ्वीविचार जन्मेको मुलुक नेपालमा भ्रष्टाचार बढ्नु र सबै क्षेत्र भ्रष्टाचारले सड्नु निश्चय नै राष्ट्रिय लज्जा हो । तसर्थ, भ्रष्टाचारलाई निर्ममतापूर्वक प्रहार गर्ने भ्रष्टाचार विरोधी नेपाली विचारको तरबारलाई खिया लाग्न नदिएर धारिलो बनाइराख्न प्राथमिक तहदेखिको पाठ्यपुस्तकमा भ्रष्टाचार विरोधी पृथ्वीविचारलाई पाठ््यसामग्रीको रूपमा सामेल गर्नुपर्छ । जसले भ्रष्टाचार विरोेधी नैतिकवान् नागरिक बनाउन पूर्वाधारको काम गरोस् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल भन्ने भ्रष्टाचार विरोधी संस्थाले पृथ्वीविचारलाई भ्रष्टाचार विरोधी नेता विचार नमानेसम्म उसको भ्रष्टाचार विरोधी लडाइँ अधुरो नै हुन्छ । गैरसरकारी संस्थाको नाममा पश्चिमाहरू आएर डलरको बाढी बगाएर राज्यका, समाजका हरेक अंगलाई भ्रष्ट बनाएर लाने अनि तिनै भ्रष्ट संस्थाहरूबाट भ्रष्टाचार विरोधी सुशासनको अर्ती नेपाली जनतालाई सुनाएको पश्चिमाहरूलाई लखेट्ने पृथ्वीनारायणले सुने भने के भन्लान् ?
भ्रष्टाचारमाथि प्रहार गर्ने पृथ्वीविचारको झण्डा उठाउँदै भ्रष्टाचार विरोधी सुशासनका पक्षपातीहरू एक भएर अघि बढौँ र भ्रष्टाचारको विरुद्ध लडौँ । नेपाल राष्ट्रका निर्मातालाई अपमान गर्ने, किनारामा धकेलेर नेपाली जनको मन मस्तिस्कबाट विस्मृतिको खाडलमा जाक्न चाहने देशीविदेशीहरूको षड्यन्त्रलाई नेपाली जनताको देशभक्तिपूर्ण एकताले चकानाचुर पारौँ । भ्रष्टाचारविरुद्ध सुशासनसहितको समृद्ध नेपालको लागि एक ढिक्का भएर अघि बढौँ ।
‘जति ठूलो पद त्यति नै भ्रष्टाचार विरोधी उच्च कद’ भन्ने मत नेपाली सुशासनका जनक पृथ्वीनारायण शाहको हो । नत्र किन भ्रष्टहरू राजाका सत्रु भनेर घोषणा गर्दथे । पृथ्वीनारायणले चाहेजस्तै हरेक तह क्षेत्रका प्रमुखहरूले भ्रष्टाचारलाई सत्रु ठानेर भ्रष्टाचार विरोधी लडाइँ माथिदेखि तलैसम्म लैजाने हो भने यो युद्ध जितिँदैन र ? तर उल्टो भएको छ, भ्रष्टाचारको जराहरू शिरमाथि गाडिएको छन्, संसारभरि नै र माथिबाटै शब्दमा होइन व्यवहारमा पृथ्वीनारायणले भने जस्तो सत्रु नठानिएर भ्रष्टाचार मित्र ठानिएको छ । माथिबाट नै मल र बल पाएको छ भ्रष्टाचारले र नै संसारभरि भ्रष्टाचार मौलाउँदो छ । भ्रष्टाचार विरोधी नेपाली विचारको तरबारको प्रहार नै भ्रष्टाचारको सही उपचार हो । पृथ्वीविचार सबै खाले भ्रष्टाचार र भ्रष्टहरूलाई तह लाउने राष्ट्रको मूलविचार हुनुपर्छ, सबैमा चेतना भया ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया