Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचुनौतीपूर्ण बन्दै श्रमिक सुरक्षा

चुनौतीपूर्ण बन्दै श्रमिक सुरक्षा


काठमाडौ । ‘निर्माणाधीन बेलिब्रिज भाँचियो, दुई कामदारको मृत्यु’, ‘सुरुङभित्र ढुङ्गा खसेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्य, दुई घाइते’, ‘करेन्ट लागेर श्रमिकको मृत्यु’, ‘सिसा अपलोड गर्ने क्रममा च्यापिएर कामदारले ज्यान गुमाए’, ‘ढुंगाले लागेर श्रमिकको मृत्यु’ ।

यिनीहरू केही समययता विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका शीर्षकहरू हुन् । पछिल्लो समयमा पूर्वाधार निर्माण तथा विभिन्न क्षेत्रमा संलग्न प्राविधिक र मजदुरहरू मृत्यु तथा घाइते हुने गरेका घटनाहरू बाक्लै रूपमा आमसञ्चार माध्यमलगायत विभिन्न माध्यमबाट आउने गरेका छन् । देशमा केही दशकयता भौतिक विकासले गति लिएसँगै विकासको सोचलाई कार्यरूपमा परिणत गर्ने श्रमिकहरूको व्यावसायिक सुरक्षाको सवाल चुनौतीपूर्ण बन्दै गइरहेको देखिन्छ ।

औद्योगिकीकरणको वर्तमान युगमा श्रमिकहरूको सुरक्षाको सवाल विश्वभर नै चुनौतीपूर्ण विषयका रूपमा रहेको छ । नयाँनयाँ प्रविधिको विकास, विस्तार र प्रयोगका कारण कार्यस्थलमा जोखिम र जटिलता पनि बढ्दै गएको देखिन्छ । कार्यस्थलको अवस्था, कार्यप्रक्रिया, कार्यसञ्चालनको प्रविधिमा हुने परिवर्तन र उत्पादन प्रक्रियामा प्रयोग हुने रसायनको बढ्दो प्रयोगसमेतका कारण श्रमिकहरूको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य जोखिममा परिरहेको अवस्था छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार विश्वमा प्रतिवर्ष २० लाखभन्दा बढी कामदारहरू व्यवसायजन्य दुर्घटनामा पर्ने गरेका छन् । दैनिक छ हजार हाराहारी श्रमिकहरूले व्यवसायजन्य दुर्घटना र रोगका कारण ज्यानसमेत गुमाउने गरेका छन् । नेपालमा सरकारी तवरबाट यससम्बन्धी तथ्याङ्क उपलब्ध रहेको पाइँदैन । काउन नेपाल, क्युपेक नेपाल र अखिल नेपाल मजदुर युनियनले गरेको एक अध्ययनले नेपालमा हरेक वर्ष २० हजार हाराहारी मजदुरहरू कामको सिलसिलामा दुर्घटनामा परेर घाइते हुने र प्रत्येक वर्ष करिब दुई सय ५० कामदारले कार्यस्थलमा भएको दुर्घटनाबाट ज्यान गुमाउने गरेको तथ्य अघि सारेको छ । अनौपचारिकरूपमा हेर्ने हो भने श्रमिकको मृत्यु र दुर्घटनाको अवस्था यो तथ्याङ्कभन्दा पनि निकै भयावह रहेको सहज अनुमान गर्न सकिन्छ ।

श्रमिकहरूको व्यवसायजन्य सुरक्षाका सम्बन्धमा कानुनी र नीतिगतरूपमा थुप्रै व्यवस्थाहरू गरिएका छन् । श्रम ऐन, २०७४ ले श्रमिकप्रति रोजगारदाताको कर्तव्य प्रष्टरूपमा किटान गरी श्रमिक सुरक्षाको विषयलाई समावेश गरेको छ । जसमा कार्यस्थलमा सुरक्षा र स्वास्थ्यसम्बन्धी उचित प्रबन्ध गरी काम गर्न सुरक्षित वातावरण बनाउने, कार्यस्थलमा रसायन र यन्त्र उपकरणको सञ्चालन, प्रयोग र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर पार्न नहुने, श्रमिकलाई आवश्यताअनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने तथा सुरक्षासम्बन्धी सूचना, जानकबारी र तालिम प्रदान गर्नेलगायतका व्यवस्थाहरू रोजगारदाताले अपनाउनुपर्ने हुन्छ । यस किसिमका सुरक्षासम्बन्धी सुविधा वा उपकरण उपलब्ध गराएबापत रोजगारदाताले श्रमिकबाट कुनै शुल्क लिन नपाउने व्यवस्थासमेत श्रम ऐनले गरेको छ ।

यसैगरी, श्रम नियमावली, २०७५ ले रोजगारदाताले कामदारको सुरक्षासम्बन्धी नीति बनाउनुपर्ने व्यवस्था गरेको छ । यस्तो नीतिमा कार्यप्रकृतिअनुसार कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षा सर्तकता, कार्यस्थलमा हुनु सक्ने सम्भावित दुर्घटना, कार्यस्थलमा मेसिनरी, यन्त्र, उपकरण सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीजस्ता व्यवस्था समेटिनुपर्ने नियमावलीले निर्दिष्ट गरेको छ । यस्तो नीतिको कार्यान्वयन भए/नभएको अनुगमन, मूल्याङ्कनका लागि सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्ने व्यवस्थासमेत श्रम नियमावलीले गरेको छ । सुरक्षित र स्वस्थ कार्य वातावरणमा काम गर्न पाउने श्रमिकको अधिकार सुनिश्चित गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने दूरदृष्टिका साथ राष्ट्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, २०७६ पनि कार्यान्वयनमा रहेको छ । कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रणालीमा सुधार गरी मानवीय एवं भौतिक क्षतिको न्यूनीकरण गर्ने सन्दर्भमा यो नीतिले थुप्रै प्रावधान व्यवस्थित गरेको छ । यति मात्र होइन, सरकारी तवरबाट सञ्चालन गरिने जुनसुकै आयोजनाको ठेक्का सम्झौतामा श्रमिकको सुरक्षा मापदण्डको विषय पर्याप्त मात्रामा राखिएको हुन्छ । तर, व्यवहारमा यस किसिमका कानुनी र नीतिगत व्यवस्थाहरूको कार्यान्वयन अपेक्षितरूपमा कमजोर रहनुका साथै श्रमिकहरूको सुरक्षा प्रोटोकलको पालना भइरहेको पाइँदैन ।

पछिल्लो समयमा खासगरी पूर्वाधार निर्माणका आयोजनामा ज्यानै जानेसम्मका गम्भीर प्रकृतिका दुर्घटना दोहोरिने क्रम बढ्नुका पछाडि केही ठोस कारणहरू विद्यमान रहेका देखिन्छन् । कार्यस्थललाई सुरक्षित र व्यवस्थित बनाउन रोजगारदाताले पर्याप्त ध्यान पु-याउन नसक्नु, कानुनी व्यवस्थाको परिपालना अपेक्षितरूपमा प्रभावकारी नहुनु, प्रतिष्ठानमा कार्यरत श्रमिकहरूमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान र चेतना नहुनु, श्रमिक सुरक्षाको अनुगमनका लागि श्रम निरीक्षण प्रणाली प्रभावकारी बन्न नसक्नुजस्ता कारणले श्रमिक सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । जीउज्यानको सुरक्षा संवेदनशीलतासम्बन्धी विषयलाई हेलचेक्र्याइँ गर्ने, सुरक्षा मापदण्डको कार्यान्वयन र पालना नगर्ने, सुरक्षा सावधानीमा ध्यान नदिने, निर्माण कम्पनीले लागत बढ्ने भयले सुरक्षाका मापदण्डहरूको कार्यान्वयन उदासीनता देखाउनेजस्ता कारणहरू पनि यस किसिमका घटनाहरूको बढोत्तरीमा जिम्मेवार रहेका देखिन्छन् । श्रमिक स्वयम्ले नै काम गर्ने समयमा सुरक्षा सामग्रीको प्रयोग गर्ने हो भने कार्यस्थलमा हुने दुर्घटना र जोखिममा निकै कमी ल्याउन सकिने अवस्था रहन्छ । तर आफ्नै ज्यानजोखिममा राखेर सुरक्षा सामग्री प्रयोग नगरी काम गरिरहेको यत्रतत्र देखिने गर्छ । घर तथा भवनहरूको निर्माणका क्रममा साधारण बाँसको खट र डोरीको सहारामा झुण्डिएर प्लास्टर, रंगरोगन, बिजुली बत्तीलगायतको काम गरिरहेको दृश्य जताततै देख्न पाइन्छ । यस किसिमका असावधानीले ठूलो दुर्घटना निम्त्याइरहेको हुन्छ । प्रतिष्ठान वा कम्पनीको लापरबाही, श्रमिक वा कामदारको लापरबाही र प्राविधिक त्रुटि जुनकुनै कारणले भए पनि निर्माण क्षेत्रमा कार्यरत जनशक्तिहरू असुरक्षित देखिन थालेका छन् ।

कार्यस्थलमा श्रमिकको ज्यानै जानेसम्मको जोखिमलाई घटाउँदै सुरक्षा प्रणालीलाई सुदृढ तुल्याउन विभिन्न सुधारहरू आवश्यक छन् । यस किसिमका घटनालाई न्यूनीकरण गर्न व्यवस्थापन पक्ष र श्रमिक दुवै पक्षको हातेमालो आवश्यक पर्छ । श्रमिकले सुरक्षित तवरले आफ्नो कार्य सम्पादन गर्ने, सुरक्षा संवेदनशीलताका विषयमा कुनै सम्झौता नगर्ने र सुरक्षाका उपकरणको अनिवार्य प्रयोग गर्ने, आफ्नो कामका कारणबाट अरूलाई समेत जोखिममा नपार्ने, कामदारका सुरक्षासम्बन्धी अधिकारको बारेमा जानकार रहनेजस्ता सर्तकता अपनाउन जरुरी छ । अर्कोतर्फ, आयोजना व्यवस्थापनको महत्वपूर्ण पक्ष श्रमिकको सुरक्षा पनि भएकाले यसप्रति निर्माण व्यवसायीलगायतका सरोकारवालाहरू संवेदनशील र जिम्मेवार बन्नैपर्छ ।

पेसाजन्य जोखिमहरूको सही पहिचान नै श्रमिक सुरक्षालाई मजबुत तुल्याउने पहिलो आधार भएकाले कामको प्रकृतिअनुसार असुरक्षाका जोखिमहरूको पहिचान गरी यसको न्यूनीकरणका लागि सम्बद्ध सबै पक्षले उचित ध्यान पु-याउन सके कार्यस्थलमा हुने दुर्घटनामा कमी ल्याउन सकिन्छ । व्यवस्थापन पक्षले आयोजनाको खर्च बढ्ने नाममा श्रमिकहरूको जीउज्यान नै जोखिममा पर्ने गरी सुरक्षा प्रोटोकलको पालना नगर्ने/नगराउने र सुरक्षा उपकरणहरू उपलब्ध नगराउनेजस्ता निकृष्ट सोच र प्रवृत्तिलाई बेलैमा त्याग्न अपरिहार्य छ । नेपालका सन्दर्भमा श्रमिक सुरक्षासम्बन्धी कानुनी र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वय नहुने हो भने पनि श्रमिक सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ । यसका साथै, श्रमिक सुरक्षाको अनुगमनका लागि श्रम निरीक्षण प्रणालीलाई चुस्त बनाउन र दक्ष श्रम निरीक्षकहरूको परिचालन गर्नु पनि अत्यावश्यक भइसकेको छ ।

पूर्वाधार विकासले केही गति लिन लागेको हाम्रोजस्तो अतिकम विकसित मुलुकमा विकास, निर्माण कार्यलाई सुरक्षित तुल्याउन नसके मुलुकले कोल्टे फेर्न सक्दैन । रोजगारीका नाममा कार्यस्थलमा नै अपाङ्ग बन्नुपर्ने, अंगभंग हुनुपर्ने र ज्यान नै गुमाउनुपर्ने दुःखद् अवस्थाबाट श्रमिकलाई मुक्त राख्न सम्बद्ध सबैले तदारुकता देखाउन जरुरी भइसकेको छ । खासगरी भौतिक निर्माणका आयोजनाहरूमा निश्चित मापदण्डसहितको सुरक्षा प्रणाली बनाएर कडाइका साथ लागू गर्ने हो भने निर्माण अवधिमा हुने दुर्घटना न्यूनीकरण हुनुका साथै निर्माण कार्यलाई सुरक्षित उद्योगका रूपमा विस्तार गर्न सकिन्छ । अतः विकास गतिविधिलाई श्रमिक मृत्युको मुहान बन्नबाट रोक्नतर्फ नेपाल सरकार, व्यवसायीहरू, आमश्रमिकलगायतका सरोकारवालाहरू एकजुट बन्नुपर्ने अपरिहार्यता खड्किएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया