पर्यटन क्षेत्रको विकासमा नयाँ बजेट
कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा नराम्रो प्रभाव पा¥यो । त्यसको असर अहिलेसम्म पनि परिरहेको छ । त्यस अवधिमा मानिसहरू बन्दाबन्दीमा परे । घरभित्रै बस्नुपर्ने भयो । आर्थिक गतिविधि हुन सकेनन् । बेरोजगारी बढ्दै गयो । वैदेशिक रोजगारीमा गएकाहरू पनि स्वदेश फर्किन थाले । विश्व अर्थतन्त्र नै कमजोर हुन गयो । यसको प्रत्यक्ष प्रभाव नेपाललाई पर्नु कुनै नौलो कुरा भएन ।
नेपालको अर्थतन्त्रलाई टेवा दिँदै आएको पर्यटन क्षेत्र धराशायी भयो । पर्यटन क्षेत्र भन्नेबित्तिकै मानिससँग सम्बन्धित भएको क्षेत्र हो । बन्दाबन्दीको कारणले गर्दा नेपाल भ्रमणमा आउने पर्यटकहरू रोकिनुपर्ने अवस्था सिर्जना भयो । ठूलो रोजगारी भएको क्षेत्रबाट बाहिरिनु पर्दा रोजगारी गुम्न गयो । परिणामस्वरूप देशको राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको विदेशी मुद्रा ठप्प हुन पुग्यो । यसरी नेपालको पर्यटन क्षेत्र कमजोर हुँदै गयो र अहिले पनि यो क्षेत्र धर्मराएको अवस्थामा देखिन्छ ।
पर्यटनको सम्भावना नै सम्भावना भएको देश नेपाल हो । पर्यटन क्षेत्रको विकास गर्न सकियो भने देशको अर्थतन्त्र सजिलै सुदृढ हुन सक्छ । कुनै उद्योगधन्दा सञ्चालन गर्न धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तुलनात्मकरूपमा हेर्ने हो अन्य व्यवसायभन्दा पर्यटन व्यवसाय सञ्चालन गर्न धेरै सजिलो देखिन्छ । अहिले गाउँघरमा समेत होमस्टे सञ्चालन गरिएका छन् । आफ्नो घर जस्तो छ त्यस्तैमा पर्यटकहरू राखेका हुन्छन् । आफूले जे खान्छन्, त्यही खुवाएका हुन्छन् । आफ्नो चालचलन, रीतिरिवाज, भेषभुषाजस्ता कुराको परिचय गराएर पर्यटकहरूलाई आकर्षण गराएका हुन्छन् । यसको लागि उनीहरूले ठूलो लगानी गर्नुपर्दैन । आफूसँग उपलब्ध साधनस्रोत र केही आवश्यक पूर्वाधार विकास गरेर जीवननिर्वाह एवम् आम्दानी गर्न सकिने भएकाले यो पर्यटन व्यवसाय भुइँमान्छेको लागि समेत निकै सहयोगी भएको देखिन्छ ।
यो त भयो सामान्य मानिसले गर्ने व्यवसाय । ठूला–ठूला पर्यटन व्यवसायको हकमा भने झनै बढी सम्भावना छ । त्यसकारणले गर्दा पर्यटन व्यवसायलाई नेपालमा सबैभन्दा ठूलो उद्योगको रू पमा लिइएको छ । स्थानीय तहदेखि नै यसबाट आम्दानी गर्न सकिन्छ । नेपालजस्तो अतिकम विकसित मुलुक जहाँ विदेशी मुद्राको अभाव छ । आवश्यक मात्रामा आन्तरिक उत्पादन गर्न सकिएको छैन । आयातमा आधारित अर्थतन्त्र भएको हुँदा शोधनान्तर घाटा बढ्दै गएको छ । यस अवस्थामा देशको लागि आवश्यक हुने वैदेशिक मुद्राको आम्दानी र अर्थतन्त्र मजबुत बनाउने काम पर्यटन क्षेत्रको पनि हो । त्यसकारण देशको अर्थतन्त्र सुदृढ बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नैपर्ने हुन आउँछ ।
सानो तर सम्भावना धेरै बोकेको देश हो, नेपाल । संसारको सबैभन्दा अग्लो हिमाल यही देशमा पर्छ । विश्वमा भएका ठूलाठूला र अग्ला हिमालमध्ये अधिकांश यहीँ पर्छन् । हिमाल आरोहण, रक आरोहण, ट्रेकिङ, हाइकिङजस्ता अद्वितीय पर्यटनसम्बन्धी प्रमुख गन्तव्यको स्थान नेपाल भएको कुरा विश्वले थाहा पाइसकेको छ । विश्वको सर्वोच्च अग्लो स्थान नेपालमा भएको र यसको आरोहण गर्न विश्वका अनेक स्थानबाट आउने हुँदा नेपालप्रति विश्वको आकर्षण बढ्दै गएको छ ।विश्वको अग्लो स्थानमा रहेको हिमाल मात्र होइन निकै होचो ठाउँ पनि नेपालमै छ । करिब १४७ हजार वर्गकिलोमिटर भएको यति सानो भू–भागमा ७० मिटरको होचो भू–भाग र ८८४८ मिटरको उच्च भू–भाग पनि नेपालमै छ । त्यस्तैगरी यही देशमा १२४ भाषा बोलिने गरिन्छन् भने १४२ जात रहेका छन् । विभिन्न जातजाति, भेषभुषा, धर्म, संस्कृतिले सुुसम्पन्न भएको हुँदा यहाँ आउने जुनसुकै पर्यटकहरू पनि अचम्म मानेका हुन्छन् ।
दक्षिणबाट उत्तर तर्फ उचाइ बढ्दै गएको हुँदा मानिसहरूको जीवनस्तर फरक हुँदै गएको छ र हावापानी पनि फरक भएको पाइन्छ । यसरी सानो देश भएर पनि नेपाल भौगौलिकरूपले, जातजातिका रूपले, भाषाको रूपले, भेषभुषाको रूपले, रहनसहनका रूपले, हावापानीका रूपले, प्राकृतिक सम्पदाका रूपले, सांस्कृतिक तथा वातावरणीय विविधताका रूपले ज्यादै आकर्षणको रूपमा रहेको छ । त्यस्तैगरी धार्मिक दृष्टिकोणबाट हेर्दा गौतम बुद्धको जन्म भएको स्थान लुम्बिनी नेपालमै पर्छ । हिन्दुहरूको पवित्र पशुपतिनाथको मन्दिर पनि नेपालमै पर्छ । त्यसकारण यी र यस्ता प्रचुर सम्भावना बोकेको हुनाले नेपालमा पर्यटन क्षेत्रको विकासको सम्भावना अत्यधिक देखिएको छ । सानो देश भएर पनि विभिन्न विविधता भएको कारणले गर्दा नेपाललाई आफ्नो गन्तव्य बनाउनको लागि नेपालजस्तो उपयुक्त पर्यटन क्षेत्र सायदै अन्यत्र कतै भेटिएला ।
नेपालमा पर्यटन क्षेत्रको विकासका लागि जति नै सम्भावना भए पनि यसको विकास भने हुन सकेको छैन । सजिलोसँग आयआर्जन गर्न सकिने भए पनि यसको विकासको लागि कार्यान्वयन पक्ष कमजोर भएको कारणले गर्दा नेपाल धेरै पछाडि परेको छ । त्यसैले यसको विकास नगरी देशको अर्थतन्त्र सुदृढ नहुने हुँदा आर्थिक बर्ष ०८०÷०८१ को बजेटमा केही महत्वपूर्ण व्यवस्था भएको देखिन्छ ।
नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कार्य पनि त्यति सजिलो छैन । किनभने सम्भावना धेरै भए पनि पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास भइसकेको छैन र धेरै काम गर्नुपर्ने छ । कतिपय सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाउनुपर्ने, नेपालमा भएका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीयस्थलबारे अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिने छ भनी आर्थिक वर्ष ०८०÷०८१ को बजेट वक्तव्यमा भनिएको छ । साथै, सन् २०२३ देखि २०३२ को अवधिलाई पर्यटन दशकको रूपमा मनाइने अभियानले पर्यटकको संख्यामा वृद्धि हुने आशा गर्न सकिन्छ । सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख पु¥याइने भनिएको छ ।
लक्ष्य हासिल गर्न विभिन्न व्यवस्था गरिने कुरा बजेट वक्तव्यमा उल्लेख भएको छ ।आन्तरिक पर्यटन प्रवद्र्धनबाट पनि नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने हुन्छ । स्थानीय तहमा हुने मेला, जात्रा, चाडपर्वको प्रचारप्रसार तथा अन्तर प्रदेश हवाई सेवा सञ्चालन गर्नेजस्ता कुरा पनि बजेटले समेटेको देखिन्छ । ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ट्रेल निर्माण कार्यलाई तीव्रता दिइने कुरा र मनाङसम्मको पदयात्रा निर्माण गरिने भनिएको छ । रोल्पा, रुकुम र डोल्पा जिल्लामा भएका ऐतिहांसिक एवम्् सांस्कृतिक पक्षलाई मिलाएर पर्यटकीय पदमार्ग निर्माण गरिने कुरा बजेट वक्तव्यमा उल्लेख भएको देखिन्छ ।
पर्यटन विकासका लागि आवश्यक हुने धार्मिक स्थल, तीर्थस्थल, मठमन्दिर, गुम्बा, चैत्य, विहार आदि नेपालमा प्रशस्त रहेका छन् । विदेशी पर्यटकको लागि यी चिजहरू अनौँठा हुन्छन् । त्यसकारण यिनीहरूको सम्भार र संरक्षणबाट नेपालले प्रशस्त मात्रामा पर्यटन भित्र्याउने सम्भावना रहेको छ । यसैलाई मध्यनजर गरेर पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भनिएको छ । त्यसरी नै जनकपुरधाम, पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथलगायत अन्य धार्मिक स्थलहरू समेटेर हिन्दु सर्किटको विकास गरिने कार्यक्रमले पर्यटन क्षेत्र झनै राम्रो हुने आशा गर्न सकिन्छ । नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने किराँत धर्मको विकासका लागि किराँत सांस्कृतिक सर्किटको निर्माण गरिने कुराले किराँत धर्मावलम्बीको लागि खुसी हुने वातावरण निर्माण भएको छ । सबै धर्मसंस्कृतिउपर समान व्यवहार, समान आस्था र सबैको विकास गरिने भएको हुँदा पर्यटन क्षेत्रको विकासमा सबैको योगदान हुने अपेक्षा गर्न सकिन्छ ।
यो बजेटले हलेसी क्षेत्र, मिथिला क्षेत्र, बडीमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रूपमा विकास गरिनुका साथै गोरखा जिल्लाको जनजाति झल्किने गरी संग्रहालय स्थापना गर्ने भनिएको छ । हिमाली क्षेत्रमा रहेका ऐतिहासिक गुम्बाहरूको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने कुरा बजेट वक्तव्यमा उल्लेख भएको देखिन्छ । यसले के देखाउँछ भने आर्थिक वर्ष ०८०÷०८१ को बजेटले अधिराज्यभर छरिएर रहेका विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्रको सम्भार तथा संरक्षण गरेर पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य राखेको देखिन्छ ।
२०७२ सालको भूकम्पबाट धेरै सांस्कृतिक सम्पदाहरू नष्ट भए । तिनीहरूको पुननिर्माण गर्नु अनिवार्य थियो । त्यसकारण धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुपाल्चोकलगायत अन्य ठाउँमा रहेका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने र दोलखा भीमसेन, दुप्चेश्वर, मुक्तिनाथ, देवघाट, स्वर्गद्वारीजस्ता धार्मिक एवम् पर्यटकीय स्थलको मर्मत तथा संरक्षण गर्ने भनिएको छ । यिनीहरूका अतिरिक्त महत्वपूर्ण केही नयाँ पर्यटकीय पूर्वाधार विकास तथा संरक्षणको लागि दुई अर्ब १३ करोड रुपैयाँ विनियोजन भएको छ । यसबाट निश्चय नै प्राकृतिक सम्पदाको संरक्षणबाट पर्यटन क्षेत्रको विकास हुन जाने देखिन्छ ।
यो बजेटमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्नुका साथै देशभर छरिएर रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विकासको लागि ध्यान दिएको देखिन्छ । अझ यसले साहसिक पर्यटन, चलचित्र पर्यटन, पर्यटक विमानस्थल, हरियाली पार्क निर्माण, वन्यजन्तु अवलोकन आदिको विकास तथा प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छ । पर्यटन विकासका लागि विमानस्थलको स्तरोन्नति गर्नु आवश्यक भएको हुँदा यसको लागि पनि बजेटको व्यवस्था भएको देखिन्छ ।
पर्यटन क्षेत्रको विकासको लागि नेपाल नागरिक उड्ययन प्राधिकरणको विशेष भूमिका हुने हुँदा यसको पुनर्संरचना गरी नियामक निकाय र सेवा प्रदायक निकायलाई अलगअलग गरिने प्रावधानले उडान सुरक्षा प्रभावकारी हुने देखिन्छ । गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिने बजेटमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको भ्रमणमा रहँदा भारतको रुट लिने सम्बन्धमा पनि सहमति भएको हुँदा विदेशबाट नेपाल आउने पर्यटकलाई सुविधा हुन जाने देखिन्छ । जसको परिणाम नेपालको पर्यटन क्षेत्रको विकासमा सघाउ पुग्न जानेछ । आर्थिक वर्ष ०८०÷०८१ को बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको लागि ११ अर्ब ९६ करोडको बजेट विनियोजन भएको छ । निश्चय नै यो बजेट कार्यान्वयन हुन सक्यो भने पर्यटन क्षेत्रको विकासले नयाँ आयामको सिर्जना गर्नेछ । मुख्य प्रश्न भनेको कार्यान्वयनको हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया