Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविकासको बाधक राजनीतिक सोचमा ऋणात्मकता

विकासको बाधक राजनीतिक सोचमा ऋणात्मकता


काठमाडौं । नेपाललगायत विश्वको कुनै पनि मुलुकमा आर्थिक विकासको चाहनासहित अगाडि बढ्ने क्रममा राजनीतिक स्थिरता कायम रहनुपर्ने तथ्यलाई अनिवार्य तत्व विशेषको रूपमा लिन सकिनेछ । जसले आर्थिक विकासको सफल मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रयास गर्नेछ भन्दा फरक नपर्ला । उपरोक्त गहन तत्व विशेषको अभावका कारण लोकतान्त्रिक समूहहरूमा स्वार्थगत दलीय गठबन्धन हाबी हुन गई सोचेअनुरूपको आर्थिक लक्ष्यको गति कायम रहन नसकेको मात्र हो ।

जसका कारण आम नागरिक समाजमा विश्वासको संकट उत्पन्न भई आर्थिक वृद्धिदरसमेत ऋणात्मकतातर्र्फ उन्मुख रहने गरेको देखिन्छ । परिणामतः आर्थिक मन्दीको सामना गर्नुबाहेक मुलुकसामु अर्को कुनै विकल्प रहने छैन । केही दशकअगाडि मात्र सशस्त्र द्वन्द्वलाई त्याग्दै शान्तिको मार्गमा अवलम्बन गरेको अवस्था, कोरोना कहरका कारण विश्व जगतलगायत नेपालले भोग्नु परेको आर्थिक चुनौतीको अवशिष्टको तुवालो पूर्णरूपले अन्त्य नभइसकेको वर्तमान अवस्थाका अतिरिक्त भू–राजनीतिक जटिलताका कारण अनेकौँ प्रकारका आर्थिक समस्यालाई झेल्नुपरेको तथ्य तपाईं–हामीसामु घामजस्तै छर्लङ्ग रहेको छ ।

जसमा न्यूनरूपमा भए पनि सुधारको अपेक्षा गर्दै राहत व्यवस्थापनको लागि तयार रहनुपर्नेमा सो नभई विपरीत अवस्था प्रारम्भ गरी चुनौतीको सामना गर्न कायमी राजनीतिक सोचमा सकारात्मक भावनाको श्रीवृद्धि गर्नुपर्ने हुन्छ । अन्यथा राजनीतिक ऋणात्मक सोचको अभ्युदय गर्ने हो भने हामीले आर्थिक विकासको मार्गमा कहिले पनि अग्रगामी छलाङ्ग मार्न नसक्ने ठोकुवा गर्न सकिन्छ ।

किनकि सकारात्मक सोचको अभिवृद्धिले आर्थिक दृष्टिविन्दुको दिशानिर्देश गर्ने भएकाले निर्धारित समय–सीमाभित्रमा नै उच्चस्तरको आर्थिक सम्मुन्नतिको लाभ हासिल गर्न सक्ने अवस्था पैदा हुनेछ । जसले विकासको दृष्टिकोणबाट सकारात्मक गन्तव्यमा अगाडि बढ्न प्रेरणा प्रदान गर्नुका साथै उपलब्धिमूलक नतिजा हासिल गर्न सहयोगीे भूमिकासमेत निर्वाह गर्नेछ  ।

विपरीत अवस्था तयार भए राजनीतिक ऋणात्मकताको प्रभावले केवल द्वन्द्वात्मकताको गतिशीलता, अराजकताको उग्रता, अर्थहीनताको अनिश्चितता पैदा भई आर्थिक विकासमा ऋणात्मक, न्यून समृद्धिको भय समेत सिर्जना गर्ने गर्छ । जसले निश्चय पनि विकासको पथमा व्यवधान सिर्जना गरी केवल बेरोजगारी, गरिबी, आर्थिक विपन्नताजस्ता कहालीलाग्दो सामाजिक समस्या उत्पन्न गर्नेछ । ऋणात्मक प्रतिफलस्वरूप आर्थिक अपराधको दरमा व्यापकता छाउने छ । यो यस्तो कारक तत्व हो जसले समग्र विकास निर्माणको गतिलाई खण्डहर गर्नेबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक नतिजा हासिल हुने छैन । तसर्थ, अग्रगामी विकासको मुख्य स्रोत मानिएको राजनीतिलाई सम्बद्ध मुलुकका नागरिक समुदाय विश्वासको साथ नियालिरहेका हुन्छन् ।

प्रस्तुत अवस्थापश्चात् सामााजिक जनजीविकाको क्षेत्रमा के–कस्तो प्रभाव रहन्छ ? सोको अनुपातमा निस्कने नतिजाले सम्बद्ध मुलुकको आर्थिक विकासको भाग्य निर्धारण हुने देखिन्छ । किनकि राजनीतिक क्षेत्र भनेको सिद्धान्त तथा व्यवहारमा अन्तनिर्हित रहनेहु‘दा तत्पश्चात् निस्कने सकारात्मक परिणामले मुलुकमा आबद्ध रहेका स्रोत र साधनको उचित प्रयोग एवं बाँडफाँट गर्दै वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्नेतर्फ उचित लाभ हासिल गर्न सहयोग पुग्नेछ । तसर्थ, राजनीतिको क्षेत्रमा सन्देशमूलक घनात्मक सोचको अभ्युदय हुनु अत्यन्त जरुरी भइसकेको छ  ।

राजनीति र अर्थनीतिको समन्वयात्मक सहसम्बन्ध विस्तार भएको भए पनि विषयगत विधाको आधारमा यी दूई भिन्न परिवेशमा रहेका पृथक विषयवस्तुसँग समाहित रहेको पाइन्छ । तथापि कानुन र राजनीतिले सम्बद्ध मुलुकको अर्थव्यवस्थामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

कुनै पनि मुलुकको ऋणात्मक अर्थविन्दुको बारेमा कुरा गर्दा सफल नीति कार्यान्वयनको क्षेत्रमा राजनीतिक शक्तिहरूले खेल्ने भूमिका महत्वपूर्ण रहने गरेको पाइन्छ । यस क्षेत्रमा रहने गरेको प्रतिशोधपूर्ण भावनाको विकासले एक अर्को समूहलाई निचो देखाउने प्रवृत्तिको विकासले सधैँ नै अराजकता उत्पन्न गराई विकासको गतिमा ऋणात्मकता छाउने भएकाले यसलाई विकासविरोधी प्रमुख कारकतत्व विशेषको रूपमा लिन सकिनेछ । परिणामतः कायमी ऋणात्मक सोचको बाहुल्यले मनोवैज्ञानिक तथा व्यावहारिकरूपमा समेत मुलुकको अर्थतन्त्रलाई उल्टो गतिमा चल्न बाध्य तुल्याउने अवस्था खडा गर्नेछभन्दा फरक नपर्ला ।

जब नागरिक समाजमा आर्थिक चिन्ता अत्यधिक रहन्छ संज्ञात्मकरूपमा जनप्रतिनिधिहरूलाई समेत नैतिकरूपमा असजिलो परिवेशको निर्माण हुने देखिन्छ । सफल राजनीतिक स्थायित्व तथा आर्थिक विकासको लागि नागरिक समूहले निर्वाचनको माध्यमबाट जनप्रतिनिधिको चयन गर्ने तथ्य सर्वविदितै छ । कुनै कारणवश प्रतिनिधि चयनमा रहन गएको त्रुटिलाई राजनीतिक ऋणात्मक सोचको आरम्भविन्दु मान्दा फरक नपर्ला । जसका कारण नागरिक समाजमा सामाजिक, आर्थिक तथा राजनीतिक कठिनाइ उत्पन्न भई जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । जसको मूल तत्व भनेको कमजोर राजनीतिक परिवेशको निर्माणलाई लिन सकिन्छ ।

जहिले पनि राजनीतिक–आर्थिक सैद्धान्तिक धरातलको विकासले राज्य एवं नागरिक समाजको बीचमा रहँदै आएको सहसम्बन्धको निक्र्योल गर्नेछ । विपरीत अवस्था तयार भए ऋणात्मकताको गति अत्यधिक रहने गर्दछ । जसको सबैभन्दा खराब परिसूचक भनेको अत्यधिक सामाजिक अफवाह पैदा भई नकारात्मक राजनीतिको श्रीविन्दु तयार हुनु रहेको छ । जसको प्रत्यक्ष लाभ आमनागरिक समुदायलाई भन्दा पनि राजनीतिक समूहलाई नै हुने गर्दछ भन्ने तथ्यहरूले प्रमाणित गरिसकेको छ ।

तसर्थ, सकारात्मक स्वतन्त्रताको गतिले आर्थिक समृद्धिलाई पछ्याउँदै विकासको गतिलाई लक्ष्यतर्फ उन्मुख गराउनेछ भने विपरीत अवस्था तयार भए राजनीतिक सोचमा ऋणात्मकता हाबी हुने देखिन्छ । जुन आर्थिक विकासको लागि घातक सावित हुनेछ । दलीय भागबण्डाका कारण भीमकाय सरकारको निर्माणले आर्थिक स्रोत तथा साधनको अत्यधिक मात्रामा दुरुपयोग हुने प्रवल सम्भावनाको विकासले अन्ततः राष्ट्रको अर्थतन्त्रलाई अर्थहीन गन्तव्यतर्फ क्रियाशील गराउनेबाहेक अर्को कुनै ठोस आर्थिक उपलब्धि तथा राहतको अनभूति नागरिक समाजले गर्न सक्दैनन् ।

त्यसो भएकोले ऋणात्मक राजनीतिको सोचलाई सकारात्मकतातर्फ उन्मुख गर्ने क्रममा राज्य, राजनीतिक समूह तथा नागरिक समाजको समन्वयात्मक कार्यको विकासले गतिहीनतालाई चिर्दै सकारात्मक सोचको अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । जसलाई आर्थिक विकासको द्योतक तत्व विशेषको रूपमा लिने गरिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया