शैक्षिक सीप : बेरोजगारी समस्याको समाधान
काठमाडौं । शिक्षाले मानव मात्रलाई चरित्रवान, ज्ञानवान तथा आफ्नो कर्मक्षेत्रमा कर्तव्यनिष्ठ बनी दैनिक जीवनयापनमा सहयोगीको भूमिका निभाउने छ भन्ने तथ्यलाई मनन् गर्दै उक्त महत्वगत विशेषता आर्जनका लागि मानव समुदाय आतुर रहेका हुन् । यति हुँदाहुदै पनि मुलुकमा हाल कायम रहँदै आएको परम्परागत अवधारणागत शिक्षा विकासले सम्बद्ध क्षेत्रको तथ्याङ्कको दरलाई किताबी दस्तावेजहरूमा उच्चता कायम राख्नेबाहेक समग्रमा आर्थिक विकास एवम् समृद्धि उन्मुख शैक्षिक सिपको सम्मुन्नतिको क्षेत्रमा सकारात्मक पहिचान कायम राख्न सकेको पाइएन । प्रस्तुत तथ्यगत विशेषतालाई आधार मान्ने हो भने सिप विकासको अभावमा आम नेपाली जनमानसको चाहना अनुरूपको समृद्धिको यात्रामा पुग्न कठिन हुने देखिन्छ । जसको ऋणात्मक परिणाम स्वरूप कोरा शैक्षिक ज्ञानले युक्त युवा जनशक्तिलाई बेरोजगारीको गहिरो खाडमा समाहित गर्नुबाहेक अर्को कुनै विकासको लक्ष्य हासिल गर्न नसकिने ठोकुवा गर्न सकिनेछ ।
शैक्षिक सिपका माध्यमबाट सर्वश्रेष्ठ ठहरिएको सामाजिक प्राणी मानव मात्रले व्यावहारिक शैक्षिक ज्ञानको उच्चतम सदुपयोग गर्दै सिपजन्य दक्षता हासिल गर्ने कुरामा हामीहरू कसैको पनि फरक मत रहन सक्दैन । जीवनमा घटेका र घट्न सक्ने सम्भावित घटनाक्रमबाट आधारभूत पाठ सिक्दै दक्षता अभिवृद्धिको क्षेत्रमा निश्चितरूपमा अब्बलता कायम गर्नेछन् भन्ने विश्वास लिन सकिनेछ ।
मनोवैज्ञानिकरूपमा अध्ययन गर्ने हो भने कुनै समुदाय विशेषमा सिक्ने चाहनाको अभिवृद्धि हुनु भनेको मूलतः सिपगत विकाससँग समनिकट सम्बन्ध स्थापित गरी शैक्षिक क्षमता विस्तारको अतिरिक्त सिप विकासको सक्षमता हासिल गर्नु हो । तदुपरान्त नागरिक समाजले सम्बद्ध समूहलाई के दियो र समाजलाई उसले के दिन सक्यो भन्ने तथ्यलाई अर्थपूर्ण हेरिनुपर्ने हुन्छ ।
शिक्षाले मानिसको सामाजिक जीवनमा प्रभाव पार्न सक्ने भएकाले भविष्यका कर्णाधार विद्यार्थी भाइबहिनीलाई शैक्षिक आधारभूत ज्ञानको अतिरिक्त सिप तथा अनुशासनको महत्वलाई समानरूपमा बोध गराउँदा उच्च लाभ हासिल गर्न सकिने परिस्थितिको निर्माण हुने देखिन्छ । आत्मानुशानले व्यक्ति विशेषलाई नैतिकवान रहन प्रेरित गर्नुको साथै अन्तरचक्षुको ढोका खोल्ने भएकोले अपराधरहित सत्कार्यमा लाग्न प्रेरणा एवम् हौसला प्रदान गर्नेछ । जसको सकारात्मक परिणामस्वरूप आत्मसम्मान र आत्मव्यवस्थापनका साथ समयसीमा निर्धारण गर्दै सिपउन्मुख कार्यगत व्यवस्थापनमा सफलता हासिल गर्नु नै नयाँ सोच र अनुसन्धानको गतिलाई तीव्रता प्रदान गरिनुसरहको अवस्था होभन्दा त्यति अत्युक्ति नहोला । जसको विकासले खोजमूलक अनुसन्धानको गतिलाई ग्राह्यता प्रदान गर्नेछ । किनकि यो नै सिप विकासको प्रमुख आधारस्तम्भ समेत हो ।
आजका सक्षम नेपाली युवा जनशक्ति विकासको क्षेत्रमा शैक्षिक ज्ञानसहितको सिपविकासको प्रधानता नै सम्बद्ध समूहको जीवन धान्ने प्रमुख आधारविन्दु हो भन्ने तथ्यलाई हामीहरू कसैले पनि भुल्न मिल्दैन । आफूले जानेको ज्ञान तथा सिप अन्य जोकोहीलाई पनि स्थानान्तरण गर्ने क्षमताको विकास नै सही अर्थमा सिप विकासको दक्षतायुक्त आधारभूमि समेत हो । जसले उत्पादनशील शिक्षा विकासको क्षेत्रमा निर्णायक भूमिका निभाउन सक्नेछ भन्ने विश्वास लिन सकिनेछ ।
मुलुकमा कायम रहन आएको बढ्दो बेरोजगारी समस्या समाधान हेतु सिपमूलक शिक्षा विकासको अवधारणगत शैक्षिक प्रणालीमा आधारित रहेर कार्य गर्ने हो भने निश्चितरूपमा सफलता हासिल गर्न नसकिने पनि होइन । शैक्षिक सशक्तीकरणका माध्यमबाट मुलुकमा कायम रहेको परम्परागत शैक्षिक प्रणालीको क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको तथ्यलाई मनन् गर्दै प्राप्त ज्ञान तथा सिपलाई व्यवहारमा उतार्न सकिने शैक्षिक प्रणालीको विकास नै आजको आवश्यकता हो ।
तसर्थ शैक्षिक उपाधि हासिल गरेपश्चात् बेरोजगारी बन्ने हालको सैद्धान्तिक शैक्षिक प्रणालीलाई सिपमूलक प्रणालीको रूपमा रुपान्तरण गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । परिणामतः कुनै पनि शिक्षित समुदाय विशेषले बेरोजगारीको पीडा भोग्नुपर्ने हो कि भन्ने मानसिक त्रासबाट सदाको लागि मुक्ति प्राप्त गर्नेछन् भन्ने विश्वास लिन सकिनेछ । अन्य क्षेत्रमा जस्तै नेपालमा पनि कायम रहेको उच्चदरको बेरोजगारी समस्या न्यून गर्न सिपमूलक शिक्षा विकासबाहेक अर्को कुनै भरपर्दो विकल्प मुलुकसामु रहेको पाइएन ।
जसले केही हदसम्म कार्यसम्पादनको गतिशीलताको अतिरिक्त व्यक्तिगत कार्यक्षमता तथा दक्षता वृत्तिविकासमा ठूलो राहत प्रदान गर्ने देखिन्छ । कागजीरूपमा कोरिएका सैद्धान्तिक सिपभन्दा पनि गरिखान सक्ने व्यवहारजन्य सिप विकासले नेपालजस्तो विकासोन्मुख मुलुकका नागरिक समुदायको आर्थिक सम्मुन्नतिको क्षेत्रमा आश्चर्यजनक परिवर्तनका अनुभूतिहरू दर्शाउने छन् । अन्यथा मानसिकरूपमा प्रताडित रहँदै खतराले भरिपूर्ण कार्य गर्न बाध्य रहनुपर्ने कटु यथार्थलाई लुकाएर पनि लुक्नसक्ने अवस्था अब रहेन । किनकि सिप तथा ज्ञानले भरिएको अब्बल जनशक्तिलाई कुनै पनि रितले आत्मसम्मानमा ठेस पुग्ने कार्यमा अनुबन्धित राख्ने प्रयासले सकारात्मक नतिजा हासिल हुन सक्दैन ।
प्रस्तुत प्रवृत्तिको खराब शैक्षिक परिसूचकबाट अलग रहनका खातिर विकल्पका सोचलाई सिपमूलक तालिमले प्रतिस्थापन गर्ने प्रयासलाई जारी राख्ने हो भने केही हदसम्म बेरोजगारीको दरलाई न्यून गर्दै सम्मानजनक रोजगारी विकासको सम्भावनालाई पहिल्याउन सक्ने अवस्था तयार हुने देखिन्छ । जसको भरपर्दो विकल्प भनेको सैद्धान्तिक शैक्षिक ज्ञानको सँगसँगै जीवनोपयोगी प्राविधिक ज्ञानले भरिएको उच्चस्तरको दक्ष जनशक्ति तयार गर्नु हो । तत्पश्चात् स्वदेशभित्रै स्वदेशी श्रमलाई आत्मसम्मानका साथ काम गर्न सक्ने वातावरणको विकासले स्वदेशी धन स्वदेशमा नै खर्चिन सक्ने परिवेशको निर्माण हुन सक्ने तथ्यगत विशेषतालाई सहजै नजरअन्दाज गर्न अवश्य पनि मिल्दैन ।
जसको सकारात्मक परिणाम भनेको सानोभन्दा सानोस्तरको रोजगारीका लागि जटिलताको सामना गर्दै मुुलुक छोडेर बाहिरिने संस्कृतिमा समेत कमी आउनेछ । जसका लागि पुस्तान्तरको सिप पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने क्षमताको विकासले भावी पिढीले कुनै पनि प्रकारको बेरोजगारीगत समस्याको सामना गर्नुपर्ने छैन । जसलाई रोजगारी विकासको क्षेत्रमा शुभ संकेतको रूपमा लिन सकिन्छ ।
जसलाई व्यक्तित्व विकासको सहयोगी यात्रा समेत मान्दा फरक नपर्ला । विशेषतः समूहगत भावनाको विकासले संगठितरूपमा प्राप्त हुन आएका समस्याहरूको समाधान गर्ने क्षमता तथा दक्षताको अभिवृद्धि हुनेछ । परिणामतः प्राविधिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएको कार्यमा समेत क्षमता विस्तार गर्न सक्ने हैसियतको विकासले सैद्धान्तिक तथा प्राविधिक दोहोरो ज्ञानको लाभ हासिल गर्न सक्नु नै सम्बद्ध क्षेत्रमा कार्यरत समुदायले आफ्नो सिप विकासको क्षेत्रमा अब्बलता कायम राख्नु हो । जसबाट कामका लागि हात बाधेर बस्नुपर्ने अवस्था रहँदैन भन्दा त्यति अत्युक्ति नहोला ।
विशेषतः विकासोन्मुख मुलुकको साझा समस्याको रूपमा रहेको बेरोजगारीउन्मुख व्यवहारलाई न्यून गर्न प्राविधिक ज्ञानले भरिपूर्ण रहेको सिप विकासको माध्यमबाट उच्चतम लाभ हासिल गर्न सकिनेछ । यस देखिनेबाहेक नेपालको सन्दर्भमा भन्ने हो भने औद्योगिक प्रविधिमा आधारित योग्य एवम् दक्ष सिपमूलक तालिमको आवश्यक व्यवस्थापन गर्दै योग्य जनशक्तिलाई मुलुकमा अवस्थित औद्योगिक प्रतिष्ठानमा समाविष्ट गर्ने रणनीतिलाई राज्यको बेरोजगारीमैत्री औद्योगिक नीतिको रूपमा अवलम्बन गर्दा हितकर रहन्छ ।
जसले खेर गई रहेको शैक्षिक जनशक्तिलाई सिपले भरिपूर्ण प्रविधियुक्त जनशक्ति निर्माण गर्न मद्दत पु¥याउनेछ । साथै, मुलुकभित्र वा बाह्य जगतबाट रोजगारको आदान–प्रदान गर्ने क्षमताको विकासले अभावग्रस्त क्षेत्रमा उत्पादनशील रोजगारीको सम्भाव्यता बढ्न जाने देखिन्छ । प्रस्तुत क्रियाकलापको विकासले उत्पादनको क्षेत्रमा अभिवृद्धि गर्दै नयाँ र नौलो थप रोजगारीको विकासको सम्भावना कायम गर्नेछ । जुन बेरोजगारी समस्या समाधानको क्षेत्रमा वरदान सावित हुने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया