पार्टीजस्तो हुन नसकेको माओवादी केन्द्र
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले यही साउन १७ गतेबाट काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै माओवादी पार्टी पार्टीजस्तो नभएको भन्दै व्यापक सुधारको जरुरी रहेको बताउनुभयो । सो पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आगामी मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीको बारेमा छलफल हुने भनिएको छ । जुन छलफलका लागि ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको तथ्याङ्कबाहिर आएको छ । बैठक सुरु हुनुभन्दा अघिल्लो दिनसम्म पनि पार्टीमा के कति केन्द्रीय सदस्य छन् भन्ने कुनै टुङ्गो थिएन ।
पार्टीका अध्यक्ष दाहालले अन्धाधुन्धरूपमा विभिन्न व्यक्तिलाई विभिन्न समयमा केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएका कारण पार्टीको केन्द्रीय कार्यालयसमेत अन्योलमा रहेको थियो । खासमा ०७८ को पुसमा पार्टीको आठौँ महाधिवेशनदेखि नै माओवादी केन्द्रमा आन्तरिक विवादको अवस्था रहँदै आएको छ । महाधिवेशनकै बारेमा विवाद रहेको थियो । किनकि सुरुमा केन्द्रीय विस्तारित भनेर बोलाइएको बैठकलाई एकाएक महाधिवेशनमा परिणत गरिएको थियो । त्यसैले सो महाधिवेशनमा अन्य नेता तथा प्रतिनिधिले आवश्यक पूर्वतयारी गरेर बोल्नसमेत पाएका थिएनन् । आठ दिन चलेको सो महाधिवेशनमा लामो रस्साकस्सीपछि २९९ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष दाहालले २३६ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो । त्यही केन्द्रीय समितिमा हाल एकाएक सदस्यहरू बढेर कसरी ३८५ पुगे भन्ने प्रश्न पनि उठेको छ । आठौँ महाधिवेशनमै अध्यक्ष दाहाल स्वयम्ले पार्टीका चार कमजोरीका बारेमा उल्लेख गर्नुभएको थियो । जतिबेला उहाँले पार्टीमा व्यक्तिवाद र गुटवाद, विधि पद्धतिमा कमजोरी, आर्थिक भ्रष्टीकरण र सांस्कृतिक विचलनजस्ता चार समस्या रहेको बताउनु भएको थियो । अध्यक्ष दाहालले माओवादी केन्द्र शान्ति र क्रान्तिको दोधारे अवस्थामा रहेको बताउँदै अब पार्टीको राजनीतिक विचारधारामा पनि सुधार गर्नुपर्ने औँल्याउनु भएको थियो । आठौँ महाधिवेशनमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका नेताहरूमा देखिएको विचलनको फेहरिस्त नै समावेश थियो । प्रतिवेदनमा दाहालले नेता र कार्यकर्ताहरूको जीवनशैलीबारे आफैँले आत्मालोचना गर्दै त्यसलाई सुधार्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । सो प्रतिवेदनको एक नम्बर बुँदामै आत्मसमीक्षासम्बन्धी प्रावधान राखिएको थियो । प्रतिवेदनमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्न नसक्दा आफूहरूले ठूलो उपलब्धि र शक्तिलाई जोगाउन नसकेको व्यहोरा उल्लेख गरिएको थियो । जुन कुरा आज करिब १९ महिना ब्यतित हुँदा पनि कायमै छ ।
पार्टीका अध्यक्षले नै आफ्नो पार्टीलाई पार्टीजस्तो नभएको बताउनुपरेको छ । खासमा माओवादीले ०५२ सालमा पनि ठोस परिस्थितिको ठोस विश्लेषणविना नै जनयुद्धमा जाने निर्णय गरेको थियो । ०४६ सालमा भर्खर बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापना भएको थियो । खुला वातावरणमा पार्टीको संगठन गर्न सकिने प्रशस्त सम्भावना पनि थिए । आफ्ना माग लिएर जनताको घरदैलोमा गएर खुलेआम छलफलगर्न सकिने अवस्था पनि थियो । तर केही नेताहरूको लहडकै भरमा हतारहतार त्यतिबेला प्रचलनमा रहेका ४० वटा मागलाई सूत्रबद्ध गरेर माघमा सरकारलाई बुझाइयो । सरकारले वार्ताका लागि बोलाउनसमेत नपाउँदै फागुन एक गतेबाट जनयुद्धका नाममा हतियार बन्द सशस्त्र कारबाहीहरू सुरु भए । चीनमा भएको जनयुद्धमा जनतालाई प्राथमिकता दिइएको थियो । तर नेपालमा जनयुद्ध गर्नेहरूले युद्धलाई मात्र बढी प्राथमिकता दिए । नेताले बन्दुकबाटै पार्टी संगठन गर्न सुरु गरेका थिए । त्यतिबेला नेपाली कांग्रेस र पूर्व पञ्चमात्र होइन आफूलाई कम्युनिस्ट भन्नेलाई पनि बन्दुकको बलमा माओवादीमा सहभागी हुन बाध्य पारिएको थियो । हुँदाहुँदा झापाको माओवादी कार्यकर्ता इलामका पुग्दा त्यहाँका माओवादीले स्वीकृति बेगर आफ्नो इलाकामा प्रवेश गरेकोभन्दै माओवादी हिरासतमा लिनेसम्मका काम कारबाही भए । माओवादीभित्रै यस्तो अराजकता बढ्यो कि कसले कसलाई कतिबेला मार्छ भन्ने कुनै ठेगान हुन छाड्यो । पुष्पकमलले नेतृत्व गरेको माओवादी त्यतिबेला पनि अराजक र उदण्ड नै थियो । उहाँ ०५२ मा जनयुद्धको बाघको घोडा त चड्नुभयो तर त्यसलाई नियन्त्रण गरेर गन्तव्यमा पु¥याउन सक्नुभएन ।
०६२ को मंसिरमा एकाएक भारतको नयाँ दिल्लीमा दाहाल र डा बाबुराम भट्टराईले नेपालका सात संसद्वादी दललाई साक्षी राखेर १२ बुँदे सहमति गर्दै जनयुद्ध परित्याग गरिदिनु भयो । त्यसपछि ०६३ मा शान्ति सम्झौताका नाममा जनयुद्ध परित्याग गरेको कुरालाई लिपिबद्ध समेत गरियो । ०६३ पछि दाहाल र डा भट्टराईलगायतको नेतृत्व आफूहरू जनयुद्ध छाडेर संसदीय राजनीतिमा प्रवेश गरेको स्पष्ट भए पनि उहाँहरूले अन्य नेता तथा कार्यकर्तालाई आफूहरू क्रान्तिमै रहेको भ्रम दिन छाड्नु भएन । त्यसपछि पनि धेरै लामो समयसम्म माओवादीका धेरै नेता तथा कार्यकर्ताहरू भ्रममै रहे । आज पनि त्यो भ्रम कायमै छ । ०७९ मंसिर चार गते भएको निर्वाचनमा अध्यक्ष दाहाल आफैँले ०५२ पछि माओवादी प्रभावित मानिएका रोल्पा र रुकुमलगायतका जिल्लामा गएर सार्बजनिक मञ्चबाटै नेपाली कांग्रेस र माओवादी केन्द्र उस्तै पार्टी भएकाले नेपाली कांग्रेसलाई मत दिएर विजयी गराउन आह्वान गर्नुभयो । जसले गर्दा माओवादी केन्द्रका कतिपय नेता तथा कार्यकर्ताहरू नेपाली काँग्रेसमै गए । ०७५ जेठ तीन गते अप्रत्यासितरूपमा एमालेसँग पार्टी एकता गरेर ०७७ फागुन २३ गते अलग हुँदा धेरै नेता तथा कार्यकर्ता उतै एमालेमै रहेका थिए । अब उहाँले एकीकृत समाजवादीलगायतका विभिन्न चार पार्टीको समाजवादी मोर्चा बनाउनुभएको छ । जहाँ माओवाद छाड्दै नछाड्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र माओवाद मान्दैनमान्ने एकीकृत समाजवादीसमेत रहेका छन् । अब माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको आकर्षण एकीकृत समाजवादीतर्फ हुनलागेको देखिएको छ । अध्यक्ष दाहालको अस्थिर मनस्थिति र व्यवहारकै कारण माओवादी पार्टी कहिल्यै पनि संगठित हुन पाएन । हिजो जनयुद्धकालीन माओवादीमा हुँदा पनि दाहालले कम्युनिस्ट पार्टीका विश्वव्यापी मूल्य, मान्यता, आदर्श र अनुशासनको पालना गर्नुभएन । आज संसदीय बहुदलीय संसदीय व्यवस्थामा रहँदा पनि उहाँले संसद्वादलाई मानिरहनुभएको छैन । भन्दा माओवाद भनिए पनि उहाँले पालना गर्ने भनेको अवसरवाद हो । खासमा अवसरवादलाई राजनीतिको महारोग नै भनिन्छ । आफ्नो पार्टीमा अध्यक्ष आफैँले महारोग सल्काएपछि पार्टी कसरी स्वस्थ हुन्छ ?
आजका दिनमा माओवादी केन्द्रको मुख्य समस्या भनेकै अध्यक्ष दाहाल हुनुभएको छ । जनयुद्धका मुख्य नेतामध्ये डा बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी नै परित्याग गरिदिनुभयो । यथार्थमा उहाँ कम्युनिस्ट हुनुहुन्थेन । त्यसैले उहाँले कम्युनिस्ट पार्टी त्याग्नु स्वाभाविक भएको छ । खासमा अध्यक्ष दाहाल पनि कम्युनिस्ट पार्टीका लागि सुहाउने नेता होइन । उहाँले ०७८ पछि पार्टीको नाम कम्युनिस्ट भए पनि नेपाली कांग्रेसका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गर्दै आउनुभएको छ । खासमा दाहालले पनि कम्युनिस्ट पार्टी परित्याग गर्नु देश र जनताका साथै उहाँ आफैँका लागि पनि न्याय गरेको ठहर्छ । उहाँलाई आफ्नो पार्टीका सल्लाहकार समितिका सदस्यसमेत कहाँ र कस्तो अवस्थामा छन् भन्ने केही पनि थाहा छैन । अन्य नेता तथा कार्यकर्ताको त कुरै भएन । दाहालकै कारणले शान्ति प्रक्रियामा आएपछि पनि माओवादीका नेता र कार्यकर्ताहरू जनपक्षीय हुन नसकेका हुन् । जनताबाट टाढिएको पार्टीले उठाएका मुद्धालाई व्यवहारमा कार्यान्वयनगर्न नसकिएको हो । सामान्य पार्टीको संगठनसमेत सन्तुलितरूपमा गर्न/गराउन नसक्नेले पछिल्लो समयमा समाजवादको भ्रम दिने प्रयास थालिएको छ । यथार्थमा अध्यक्ष दाहालको समाजवाद वैज्ञानिक समाजवाद होइन भन्ने स्पष्ट छ । अध्यक्ष दाहालकै कमजोरीका कारण समयक्रममा पार्टीबाट डा भट्टराई र मोहन वैद्य र सीपी गजुरेलजस्ता नेताहरू अलग हुनुभएको हो । आज पनि दाहालको रोजाई विचारवान नेतातिर नभएर गैरकम्युनिस्टतिरै बढी केन्द्रित भएको देखिएको छ । माओवादी केन्द्रलाई यदि जीवन दिने हो भने अध्यक्ष दाहाललाई ३५ वर्षदेखि निरन्तर नेतृत्व गरेकोमा धन्यवाद दिँदै पार्टीबाट स–सम्मान बिदा गर्नुपर्छ । उनी पार्टीमा सम्मानित नेता भएर रहँदा राम्रो हुन्छ । त्यसपछि पार्टी एमालेजस्तो संसद्वादी कम्युनिस्ट पार्टी हुनेकि क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनेभन्ने निश्चित गर्नुपर्छ । उक्त दुई कुराको मात्र निर्णय हुनासाथ माओवादी केन्द्रमा नयाँ रक्तसञ्चार हुन्छ । पार्टीले आफ्नो खास गन्तव्य पहिल्याउनासाथ गति लिन्छ । जारी बैठकले यसतर्फ ध्यान देओस् । (लेखक माओवादी केन्द्रसम्बद्ध हुनुहुन्छ ।)
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया