गुणस्तर स्वास्थ्य सेवा : आर्थिक विकासको मेरुदण्ड
काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।
स्वास्थ्य सेवामा कार्यान्यन भएका विभिन्न कार्यक्रमको फलस्वरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशु मृत्युदर २१ र पाँच वर्षमुनिको बाल मृत्युुदर ३९ तथा मातृमृत्युदर २३९ (प्रतिलाख जीवित जन्ममा) मा झरेको छ भने कुल प्रजनन दर दुई दशमलव तीन प्रतिमहिला रहेको छ । त्यसैगरी पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्षमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।
पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बीमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी आठ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चारपटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय स्वरूप, भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधी आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैको लागि स्वास्थ्य बीमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो ।
यसै सन्दर्भमा मुलुकमा लोकतन्त्रको बहालीसँगै राज्यसँग आमजनताले गर्ने अपेक्षामा अत्यधिक वृद्धि हुनुका साथै चेतनास्तरमा भएको विकासका कारण सार्वजनिक सेवाप्रवाहलाई नागरिकको हितअनुकूल बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । लोकतान्त्रिक परिपाटीले नागरिकको सार्वजनिक सेवाप्रतिको चासो र जनस्तरबाट यसको प्रभावकारी अनुगमनलाई थप बल पु-याएको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन’ भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकभित्र समावेश गरेको पाइन्छ ।
यसै सिलसिलामा प्रत्येक वर्ष जुलाई २८ तारिखको दिन विश्व हेपाटाइटिस दिवस मनाईँदै आइएको छ सो बारेमा यहाँ छोटो चर्चा गर्ने प्रयास गरिएको छ । भाइरल हेपाटाइटिसको प्रभाव घटाई विश्वभरका मानिसलाई गुणस्तर स्वास्थ्य बनाउने उद्देश्यले विश्वभरका मानवहरू एकजुट हुने दिन हो जुलाई २८ । भाइरल हेपाटाइटिसले मावनको गुणस्तर स्वास्थ्यमा विकराल समस्या ल्याउँछ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई हेर्ने हो भने विश्वभरमा करिब ३२ करोड ५० लाख मानिसहरू भाइरल हेपाटाइटिस बी र सीबाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १०० जनामध्ये ९० जना यस रोगबाट अनभिज्ञ रहने पनि तथ्याङ्कले जनाएको छ । माथिको तथ्याङ्कअनुसार १०० जनामा ९० जना यसबाट अनभिज्ञ हुनु नै यो रोगको विकराल समस्या हो । यसले मानव स्वास्थ्यलाई झन् अस्वस्थकर बनाउँछ । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ भनेर नै यो दिवस मनाउन थालिएको हो । एचआईभी, एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि संसारभरका मानवलाई मृत्युको शिकार बनाउँदै लगेको छ । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुने गर्छ । कलेजोको क्यान्सर हुनुमा पनि यसले प्रभाव पार्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणको कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्यगरी पाँच किसिमका हुन्छन्, ए, बी, सी, डी र ई ।
एचआईभी, एड्स, मलेरिया, क्षयरोगभन्दा हेपाटाइटिस बी र सीको प्रभावले बर्सेनि धेरै मानिसको मृत्यु भइरहेको छ । कलेजोको क्यान्सरले मृत्यु हुने तीनमध्ये दुई हेपाटाईटिसका रोगी हुने गर्छन् । हेपाटाइटिस बी र सीलाई मौन महामारीको रूपमा लिइन्छ । यसले मुख्यतः बालबालिका र सीमान्तकृत समूहलाई धेरै असर पु¥याउँछ । त्यस्तै, लागूपदार्थ दुर्व्यसनी, एचआईभी एड्सका रोगीहरूलाई हेपाटाईटिसले बढी सताउने गर्छ । अतः हेपाटाइटिसबारे जागरुकता बढाउन आवश्यक छ । स्वास्थ्य संस्थाको सहज पहुँच, स्वास्थ्यकर्मी र औषधीको सुलभ उपलब्धता भएमा यो रोगबाट बच्न सकिन्छ । स्वास्थ्य सेवा सुलभ र सहज प्रयोग नभएको हाम्रोजस्तो देशमा त झन् कुनै पनि रोग राख्नु यसै नै घातक छ । त्यसकारण हेपाटाइटिसबारे जागरुक भई विश्वभरका मानिसको स्वास्थ्य रक्षा गरी गुणस्तर राख्न यो दिवस मनाइन्छ । सन् २०२३ को विश्व हेपाटाइटिस दिवसको नाराले हेपाटाइटिसको उपचार, जानकारी र यससँग सम्बन्ध राख्ने हरेक कदममा अब विश्व समुदाय कुर्न सक्तैन भन्ने विषयको पैरवी गरेको छ ।
मानवको गुणस्तर स्वास्थ्य सेवाबाट मात्र आर्थिक विकास सम्भव हुन्छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने राज्यको नीतिलाई भौतिक संरचनाको निर्माणले सघाए पनि गुणस्तर सेवा प्रवाहमा चुनौती भएको सम्बन्धित विज्ञले बताएका छन् । यस चुनौतीको कारणले गुणस्तरीय स्वास्थ्य नभई यसको प्रभाव आर्थिक विकासमा पनि परेको छ ।
निष्कर्षमा गुणस्तर स्वास्थ्यको लागि स्वास्थ्य संस्थाहरू नीति र विधानअनुसार चल्नुपर्छ, आफ्नो हात जगन्नाथ हुनुहुँदैन । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनुपर्छ । औषधी, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्छ । आम नागरिकलाई प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । निःशुल्क औषधी बेलैमा उपलब्ध हुनुपर्ने, उक्त औषधी कति प्रकारको पाइन्छ भन्ने सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसेकम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनुपर्छ । स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थामा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन आवश्यक छ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आमनागरिकको स्वास्थ्यमा गहन भूमिका खेली स्वास्थ्य सेवा गुणस्तर हुनेछ । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया