भू–स्वरूप संरक्षणको आवश्यकता
काठमाडौं । साधारणतः भू–स्वरुप भन्नाले कुनै पनि स्थानको विहङ्गम आकृति भन्ने बोध हुन्छ । सो जीवनको त्यो फराकिलो भू–भाग हो, जुन प्राकृतिक वा सांस्कृतिक प्रक्रियाबाट विविध आकार तथा लक्षणले छुट्टिन्छ । तर धेरै व्यक्ति यस सम्बन्धमा आजसम्म पनि अनभिज्ञ छन् ।
वस्तुतः भू–स्वरूपको बारेमा विभिन्न समुदायको दृष्टिकोण फरक हुन सक्छ । यति मात्र नभई काष्ठ उद्योगमा संलग्न समुदाय तथा ग्रामीण जनताको दृष्टिकोणमा यसको व्यवस्थापन समान नहुन पनि सक्छ ।
साधारणतया भू–स्वरूपको क्षेत्रफल एक किलोमिटर र त्यसभन्दा बढी हुन्छ । यसको संरक्षण गर्न सकेमा जैविक विविधताको सुरक्षा तथा अन्य उद्देश्यहरू समेत परिपूर्ति गर्न सकिन्छ । अतः यसको संरक्षण गर्दा वंशाणुगत विविधता, प्रजाति विविधता र पारिस्थितिक प्रणालीको विविधताको सुरक्षामा ध्यान दिन उचित देखिन्छ ।
वंशाणुगत विविधताले भू–स्वरुप संरक्षणमा धेरै नै प्रभाव पार्छ । तर यो कुरा धेरैजसो व्यक्तिलाई थाहा छैन । यो प्रत्येक देशमा फरक–फरक हुन्छ । त्यसैले यसको संरक्षणको लागि बेग्लै तरिका अपनाउनुपर्छ । प्रजाति विविधता भू–स्वरूपको अभिन्न स्रोत हो । यो विभिन्न देशमा फरक देखिन्छ । तसर्थ, यसको संरक्षणको लागि पनि विभिन्न देशमा विभिन्न किसिमका तौरतरिका अपनाउन बाञ्छनीय हुन्छ । यसो गर्न सकेमा मात्र भविष्यमा भू–स्वरूप संरक्षणको लागि महत्वपूर्ण भूमिका खेल्न सकिन्छ ।
नेपालमा प्रजाति विविधता उच्च छ । यहाँ विश्वको नौ दशमलव तीन प्रतिशत (आठ सय ४४) वटा प्रजाति, पाँच दशमलव एक प्रतिशत (आठ सय ५३) फ्याउ–काई प्रजाति, पाँच दशमलव एक प्रतिशत (२८) अनावृत्तजीवी प्रजाति, चार दशमलव पाँच प्रतिशत (एक सय ८१ दशमलव ९३) पुतली तथा पुतङ्ग प्रजाति, तीन दशमलव चार प्रतिशत (तीन सय आठ) उन्यू प्रजाति, दुई दशमलव सात प्रतिशत (पाँच हजार आठ सय ५६) सुपुष्पक प्रजाति र दुई दशमलव छ प्रतिशत (छ सय ८७) लेउ प्रजाति छन् ।
एउटा उपयोगी भू–स्वरूपमा विभिन्न भू–प्रयोग प्रणालीको आवश्यकता पर्छ । जसमध्ये परिस्थितिक प्रणाली पनि एक हो । वास्तवमा भू–स्वरूपअन्तर्गत विभिन्न पारिस्थितिक प्रणाली हुन्छन्, जसले विभिन्न वस्तु तथा सेवा प्रदान गर्दै आएका छन् । यिनीहरूको परिणाम तथा गुणले पनि भू–स्वरूपको संरक्षणमा असर पार्छ । यस धरतीमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरू छन् । जसमध्ये भूमिलाई महत्वपूर्ण मानिन्छ । जुन सीमित प्रकृति प्रदत्त उपहार हो । मानव जातिको प्रमुख सम्पत्तिको रूपमा रहेको भूमिमा बसोबासदेखि विभिन्न व्यवसायसम्म सञ्चालन गरिन्छ । जसमध्ये खेतीपातीको विशेष महत्व छ ।
पृथ्वीको कुल १३ अर्ब हेक्टर भूमिमध्ये ११ प्रतिशत मात्र खेतीयोग्य छ । जसमध्ये १७ प्रतिशत मात्र सिञ्चित हुनाले खेतीपातीको लागि विशेष ध्यान दिनुपर्ने देखिन्छ । विश्वमा विद्यमान धरातलअनुसार खेतीयोग्य भूमिको अधिकता, केही वनजङ्गल तथा झाडी, केही मरुभूमि आदि पाइन्छ । तसर्थ, भौगोलिक वास्तविक उतालाई आधार मानेर भूमिको प्रयोग गर्न सकेमात्र यसबाट निरन्तररूपमा फाइदा लिन सकिन्छ । तर, यसको लागि भू–स्वरूपको संरक्षणको नित्तान्त आवश्यक छ ।
विभिन्न देशमा विकासको नाममा वातावरण विनाश भइरहेको छ । बढ्दो डोजर आतड्ढ, वनजङ्गल फडानी, डढेलो, अव्यवस्थित तरिकाले विकास निर्माण कार्य सञ्चालन, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँ तथा फोहर उत्सर्जन, कार्बनडाइअक्साइड उत्सर्जन, बढ्दो यातायातका साधन तथा रेफ्रिजरेटरको प्रयोगले विश्वमा धुवाँ र ताप बढिरहेको छ । विश्वमा हरितगृह ग्यास उत्सर्जनको असर बढेकोले ओजोन तहमा प्वाल परेर तापक्रम बढेको छ । यति मात्र नभई सबैजसो देशमा जलवायु परिवर्तन भएको छ । जुन समस्या एवम् चुनौतीको रूपमा रहेका छन् ।
आज विश्वको धेरै देशको भौतिक, सामाजिक, आर्थिक, नैतिक तथा पर्यावरणको विनाश निरन्तर रुपले भइरहेको छ । निहीत स्वार्थका लागि वातावरणको सुरक्षा गर्न नसक्दा विनाश दिन प्रतिदिन बढिरहेको छ । जसको कारण सम्पूर्ण मानव जाति र जीवित प्राणीमा नकारात्मक प्रभाव परेको छ । वास्तवमा प्रत्येक व्यक्तिको सुस्वास्थ्य तथा पर्यावरण संरक्षणको लागि बोट विरुवाको महत्वपूर्ण योगदान हुन्छ । एउटा बयस्क रुखबाट अक्सिजन उत्पादन मात्र पनि वार्षिक एक सय तीन लिटरसम्म हुन्छ । योबाहेक एउटा रुखले वायुमण्डलमा वार्षिक औषत २२ केजी कार्बनडाइअक्साइड ग्यास अवशोषण गर्छ । यसबाट निःसन्देह प्रत्येक व्यक्तिको श्वासप्रश्वासमा सकारात्मक प्रभाव पार्छ र दीर्घायुमा धेरै नै सघाउ पु-याउँछ ।
एउटा परिपक्व रुखले ५० वर्षमा फल तथा सौन्दर्यबाहेक अक्सिजन उत्सर्जन, वायु प्रदूषण न्यूनीकरण, बाढीपहिरो न्यूनीकरण, माटोको उर्वराशक्ति वृद्धि, जलीय चक्र प्रवाहमा सघाउलगायत पशुपन्छीलाई बासस्थान प्रदान गरेबापत औषत छ सय ७१ करोड रुपैयाँ बराबरको पारिस्थितिक सेवा प्रदान गर्छ । साथै, एउटा परिपक्व रुखको पारिस्थितिक सेवा काठ र दाउराको भन्दा तीन सय ४५ गुणा बढी हुने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । परन्तु, यो कुरा धेरै व्यक्तिलाई थाहा नहुँदा धेरैजसो देशमा रुख काट्ने काम रोकिएको छैन । यसबाट सम्पूर्ण मानव जातिमा नै नकारात्मक प्रभाव पर्छ ।
धरातलीय स्वरूप तथा हावापानीको विभिन्नताको कारण धेरै देशको पारिस्थितिक प्रणाली, बासस्थान, वनस्पति तथा प्राणी प्रजातिको विविधता फरक देखिन्छ । पारिस्थितिक प्रणालीको विविधताको सन्दर्भमा नेपालमा उष्ण प्रदेशीय हावापानीदेखि हिमाली क्षेत्रीय हावापानीसम्म पाइन्छ र त्यसलाई दश प्रकारको जीव जलवायु क्षेत्रमा बाँडिएको छ । यहाँ जम्मा एक सय १८ प्रकारका पारिस्थितिक प्रणाली, ७५ किसिमको वनस्पति क्षेत्र र ३५ प्रकारको वनजंगलको पहिचान गरिएको छ । जसको संरक्षण गर्न सकिएमा भविष्यमा धेरै फाइदा प्राप्त गर्न सकिन्छ ।
नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हिमाली प्रदेश, ६८ प्रतिशत पहाडी प्रदेश र १७ प्रतिशत तराई प्रदेशले ओगटेको छ । यसैगरी, भू–उपयोगको दृष्टिकोणले वनजंगल २९ प्रतिशत, झाडीबुट्यान १० दशमलव छ प्रतिशत, घाँसे मैदान १२ प्रतिशत, खेती गरिएको जग्गा सात प्रतिशत र अन्य जग्गा १७ दशमलव आठ प्रतिशत छ । जसको संरक्षणको लागि सदुपयोगको आवश्यकता छ ।
मानव जातिको अस्तित्वको लागि भू–स्वरूपको नित्तान्त आवश्यक छ । तर, वर्तमान परिवेशमा विभिन्न मानवीय आवश्यकता परिपूति गर्न भू–स्वरूपको कस्ता लक्षण हुनुपर्छ, यसबाट पशुपन्छीलाई कस्ता तत्वको आवश्यकता पर्छ । सोको अध्ययन अनुसन्धान गरी व्यवहारमा उतार्न आवश्यक छ । यसो गर्न सकेमा भू–स्वरूपको संरक्षणमा टेवा पुग्नेछ र सम्पूर्ण मानव जातिको कल्याण हुने कुरामा दुईमत नहोला ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया