Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफेरि डेङ्गीको जोखिम

फेरि डेङ्गीको जोखिम


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक सय २८ देशका करिब तीन अर्ब ९७ करोड जनसंख्या डेङ्गी रोगको जोखिममा छन् । यसमा भन्ने हो भने बर्सेनि पाँच करोडदेखि १० करोड बढीमा डेङ्गी सङ्क्रमण हुने गर्छ । जसमा पाँच लाख बिरामीमा कडा प्रकृतिको डेङ्गी हेमोरेजिक फिबर वा रक्तश्रावजन्य डेङ्गी हुने गर्छ । यस रोगले वार्षिक २२ हजार बालबालिका तथा २४ हजार मानिसको मृत्यु हुने गर्छ । बितेका दशकमा यस रोगको प्रभाव एसियाली मुलुकमा बढेको छ । यसको साथसाथै नेपालभर फैलिँदै गएको डेङ्गीले प्रकोपको रूप लिएको छ । यस डेङ्गीका चार वटा विषाणु (सेरोटाइप) हुन्छन् । जसलाई डेन वान, डेन टू, डेन थ्री र डेन फोर नाम दिइएको छ । यसरी हाम्रो देशमा भने डेङ्गीका चारवटै जीवाणुले संक्रमण गराइसकेका छन् । यसर्थ पहिलेभन्दा बढी सिकिस्त र मृत्युको संख्या बढेपछि विसं २०७६ सालभन्दा फरक सेरोटाइपले संक्रमण गराएको कि भनेर आशा गरेको थिएँ । तर कुन सेरोटाइपले संक्रमण गरायो भन्ने विषयमा अनुसन्धान भएन । त्यसपछि अनुसन्धानकर्ताले विसं २०७९ सालमा डेन वान र डेन थ्री सेरोटाइपले संक्रमण गराएको भनेर अनुसन्धानमूलक लेखहरू जर्नलमा प्रकाशित गरेका थिए । यही कुरा पहिले नै थाहा भएको भए डेङ्गीविरुद्ध लड्न तयारी गर्न सकिन्थ्यो । यसरी सर्वप्रथम मुलुकमा वि.सं.२०६१ सालमा पहिलो पटक चितवनमा देखिएको डेङ्गी विसं २०७३ सालयता बढ्दै आएको छ । त्यसको तीन वर्षपछि २०७६ सालमा डेङ्गीको प्रकोप ५६ जिल्लामा फैलिएको थियो भने १२ जनाले ज्यान गुमाएका थिए । त्यसरी नै कोरोनाभाइरस महामारीका बेला विसं २०७७ र २०७८ सालमा डेङ्गीको प्रकोप देखिएन । तर, २०७९ सालमा डेङ्गीको प्रकोप ७६ जिल्लामा फैलियो । सो रोगको फैलावटबाट ५४ हजार सात सय ८४ जना संक्रमित हुँदा ८८ जनाको ज्यानै गयो । यसरी विसं २०६१ सालयता डेङ्गीबाट मृत्यु हुनेको संख्या यही नै उच्च रहेको थियो ।

यो वर्ष पनि डेङ्गीको प्रकोप उच्च हुने स्वास्थ्यकर्मीको आकलन रहेको छ । यसरी हाल देशको ७४ जिल्लामा यो रोग फैलिसकेको छ । यसर्थ देशमा १४ हजारभन्दा बढी यस रोगको संक्रमण भइसकेको र ११ जनाको ज्यान पनि गुमाइसकेको अवस्था रहेको सम्बन्धित क्षेत्रले जनाएको छ । यसमा भन्ने हो भने सात प्रदेशमध्ये कोशी प्रदेशको सुनसरीमा सबैभन्दा बढी संक्रमित र मृत्यु भइसकेको अवस्था छ । त्यसरी नै कर्णालीमा हालसम्म डेङ्गुको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तर, संक्रमणको जोखिम भने धेरै रहेको सम्बन्धित क्षेत्रको निर्देशनालयले जनाएको छ । यसमा पनि भदौ र असोजसम्म यसको जोखिम धेरै हुने भएकाले पनि संक्रमितको संख्या धेरै बढ्न सक्ने अनुमान गरिएको छ । यसरी डेङ्गुुको संक्रमण महामारीको रूपमा फैलिने जोखिम बढेपछि स्वास्थ्य सेवा निर्देशनालयले स्थानीय तह र जिल्लामा रहेका स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जनाएको छ ।

डेङ्गी ज्वरो मौसमी ज्वरोजस्तै हो । यो डेङ्गी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यस जातको एडिज लामखुट्टेले प्रायः गरेर दिनमा टोक्छ । यद्यपि, घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनु दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा थप सचेत हुनुपर्छ । यस खालको लामखुट्टेको वृद्धि विकास हुने स्थान भनेको सफा थोरै पानीमा पनि फुल पार्छ । खासगरी पानी जम्ने टिनका डब्बाहरू, प्लास्टिकका बोतल, प्लास्टिकका खोल, टायर, सिसी, अण्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर पानीका ट्याङ्कीलगायत जुनसुकै पानी जम्ने भाँडा तथा स्थानहरू जस्तैः छाना, कौसी, बरन्डा आदिमा फुल पार्छ र यसरी लामखुट्टेको वृद्धि विकास हुन जान्छ ।

डेङ्गीको प्रकोप सुरू हुन थालेपछि यो रोग सार्ने लामखुट्टेबारे चर्चा हुन्छ । अन्यभन्दा डेङ्गी सार्ने लामखुट्टे कसरी फरक छ ? एडिस जातको लामखुट्टेले टोक्दा डेङ्गी हुन्छ । यो लामखुट्टेको फरक आनीबानी र व्यवहारले नै डेङ्गी नियन्त्रण गर्न चुनौती थपिएको छ । पहिलेपहिले लामखुट्टेको टोकाइबाट बच्न राती झुल लगाएर सुत्थ्यौँ । जसको कारण मलेरिया र कालाजारजस्ता रोगबाट बच्थ्यौँ । तर, एडिस जातको लामखुट्टे खासगरी सूर्योदय भएपछि र सूर्यास्त हुनुअघि सक्रिय हुन्छ । आम मानिस काममा व्यस्त भएको बेला टोक्ने भएकाले पनि धेरैले थाहा पाउँदैनन् । अतः डेङ्गीको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा देखिएको छ । जुन हालसालै प्रकाशित सम्बन्धित क्षेत्रको तथ्याङ्कअनुसार सुनसरीमा सात हजार ८९ जना डेङ्गीबाट संक्रमित भएका छन् । साथै, मोरङमा एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौंमा एक सय ९६, दार्चुलामा एक सय ९४, संखुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

समग्रमा भन्नुपर्दा संक्रमण एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा विकास हुँदै गएको छ । यसको रोकथामको लागि पनि सात दिनमा एक पटक आधा घण्टाको समय छुट्टाएर प्रत्येक घरपरिवारबाट लामखुट्टेको बासस्थान पत्ता लगाई लार्भालगायत अन्य वस्तुहरू नष्ट गर्न सकेको खण्डमा यो महामारीबाट बच्न सक्ने सम्बन्धित विज्ञहरूको राय सल्लाहहरू विभिन्न सञ्चार माध्यममा पढ्न पाइन्छ । अतः यस्ता संक्रामक रोग लाग्नै नदिने धेरै किसिमका उपायहरू रहेका हुन्छन् । जसलाई दैनिक जीवनमा अपनाएका छैनौँ । त्यसकारणले गर्दा जनस्तरमा सामान्यतया डेङ्गीको संक्रमणलाई रोक्नु छ भने लामखुट्टेको जीवनचक्र बुझ्नुपर्छ । यस किसिमको लामखुट्टेले खासगरी पानीमा अन्डा पार्छ । त्यस्ता किसिमका अन्डालाई पानीमा पहिचान गर्न गाह्रो हुन्छ । तर लार्भा र प्युपालाई ध्यान दिएर हेर्ने हो भने देखिन्छ । जुन स्थानमा लामखुट्टेले अन्डा पारेपछि प्युपा र लार्भाको अवस्थामा पुग्छ । त्यो बेलामा त्यसलाई नष्ट ग-यो भने डेङ्गी फैलिन्न धेरै कम हुन जान्छ । यस्ता संक्रामक रोग नियन्त्रण गर्न सरसफाइ, जनघनत्व व्यवस्थापनलगायत धेरै काम गर्नुपर्ने हुन्छ । यसका साथै स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढंगले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । जसमा प्रविधि, जनशक्ति र नियन्त्रण गर्ने सोच भयो भने डेङ्गीजस्ता रोग खासै टाउको दुखाइ हुँदैन । यसरी त्यस्ता किसिमका जनचेतना स्थानीय, प्रदेश र संघ तीनै तहको सरकारले आ–आफ्नो कार्य क्षेत्रमा रहेका गाउँपालिकाहरू तथा नगरपालिकाहरूमा प्रचारप्रसार गरेको खण्डमा सो रोगबाट बच्न धेरै नै सहयोग पुग्ने कुरामा कसैको पनि दुई मत नहोला ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया