Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिन सगरमाथा लास थुप्रिने ठाउँ बन्दैछ ?

किन सगरमाथा लास थुप्रिने ठाउँ बन्दैछ ?


काठमाडौँ । सगरमाथा हिमाल आरोहण गर्ने क्रममा अहिलेसम्म क्लाम्बिङ शेर्पालगायत ३२५ (कसैले ३१९–३२२–३२३–३२५ भनेर लेख्ने गरेका छन्) जना विभिन्न देशका पर्वतारोहीले ज्यान गुमाए । अमूल्य जीवन सगरमाथा क्षेत्रमा त्यागेका छन् । यसरी सगरमाथा क्षेत्रमा आफ्नो अमूल्य जीवन त्याग्नुपर्ने कारणमा बाटो बनाउने, बाटोमा भ-याङ टाँग्ने वा राख्ने, डोरी टाँग्ने, क्याम्प खडा गर्ने, क्याम्प–१, क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा खानेकुरा र दैनिक उपभोगका लागि चाहिने सामान ओसार्ने, हाई अल्टिच्युड पोर्टरहरू, क्लाइम्बिङ शेर्पाहरू अनि नेपाली तथा विदेशी आरोहीहरू रहेका छन् । यसरी तथ्यतथ्याङ्क हेर्दा सन् १९२१ देखि सन् २०२३ (लगभग १०२ वर्ष)सम्म विभिन्न देशका ३२५ जना पर्वतारोहीको मृत्यु भएको विकिपिडियाले राखेको नाम सूचीमा उल्लेख छ ।

सगरमाथा हिमाल आरोहण गर्नका लागि बाटो बनाउने क्रममा वा भनौं रेखी गर्न जाने क्रममा सर्वप्रथम सन् १९२१ मा बेलायती पर्वतारोही दलमा सम्मिलित डाक्टर अलेक्जेन्डर मिसेल (एएम) केल्लासको मृत्यु भएको थियो । उनको तिब्बतको खाम्पाजोङ स्वायत्त क्षेत्रमा हृदयाघातका कारण मृत्यु भएको मानिन्छ । त्यस्तै, १९२२ जुन ७ मा एकैचोटि (एकै वर्ष) सात जना शेर्पाको सगरमाथा आरोहणका लागि बाटो बनाउने र आवश्यक सरसामान ओसार्ने क्रममा मृत्यु भएको थियो । उनीहरू थिए– १ दोर्जे शेर्पा, २ ल्हाक्पा शेर्पा, ३ नोर्बु शेर्पा, ४ पासाङ शेर्पा, ५ पेमा शेर्पा र ६ साङ्गे शेर्पा । त्योबेला तत्कालीन श्री ३ महाराजधिराज सरकारले नेपालमा फिरङ्गी (गोरो छाला भएका विदेशी) लाई नेपाल प्रवेश गर्ने अनुमति दिने चलन नभएकाले गर्दा बेलायती पर्वतारोही दलले सगरमाथाको उत्तरतर्फबाट बाटो खोज्ने, पत्ता लगाउने रेखी गर्ने र सके आरोहण नै गर्ने उद्देश्यले तत्कालीन तिब्बत सरकार (दलाई लामा) को अनुमति लिएर त्यसतर्फ प्रस्थान गरेको थियो । सोही आरोहण दलमा डाक्टर एएम केल्लास पनि सम्मिलित थिए । तर उनी आफैं डाक्टर भए पनि सगरमाथा आरोहणका लागि बाटो पत्ता लगाउने, रेखी गर्ने क्रममा मृत्युवरण गर्न पुगे । लगत्तै सन् १९२२ मा उत्तरतर्फबाट नै फेरि सगरमाथा आरोहण गर्ने प्रयास गर्दा सात जना शेर्पा (नेपाली)हरू हिम पहिरोमा परेर एकैचोटि मृत्युवरण गर्न पुगे । स्मरणीय छ, उनीहरू सातै जना नेपालबाट दोर्जेलिङ/दार्जिलङ गएर त्यहाँबाट फेरि तिब्बतको बाटो भएर सगरमाथाको उत्तरी मोहोडाबाट बेलायती पर्वतारोही दलका साथ सगरमाथा आरोहण गर्ने/गराउने टोलीमा सामेल भएका थिए । यसरी सगरमाथा आरोहणको इतिहासमा ती सात जना नेपाली शेर्पाहरू सगरमाथा आरोहण गर्ने क्रममा चाहिने सरसामान ओसारपसार गर्ने क्रममा हिमपहिरोमा परेर मृत्युवरण गर्ने ठूलो समूह थियो । यसरी विश्व पर्वतारोहणकै इतिहासमा उनीहरू सगरमाथा आरोहण गर्ने क्रममा सहिद हुने पहिलो र ठूलो समूहका रूपमा दर्ज भए ।

त्यसपछि फेरि सन् १९२४ मे १३ मा बेलायती पर्वतारोही दलका सदस्यहरू सगरमाथा आरोहणका लागि उत्तरतर्फबाट गए । सो दलमा पनि मनबहादुर र महेश पुन नेपाली मूलका सम्भवतः तत्कालीन बेलायती सेनामा कार्यरत (किनभने, महेश पुनलाई ‘लान्स नाईक’ भनी जनाइएको छ) ले सगरमाथा आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका थिए । त्यसपछि एकैचोटि सन् १९३४ जुन ९ मा एन्ड्र्र्यु इर्भिन र जर्ज म्यालोरी संयुक्त अधिराज्य (युके) ले सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गरे । उनीहरूले कतै त्यही बेला नै पो सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए कि ? भनी पछिल्लोपटक अध्ययन पनि भएको थियो । तर इर्भिन म्यालोरीले त्यतिबेलै सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए भन्ने कुनै ठोस आधार र पुष्टि हुनेखाले कुनै तथ्य–प्रमाण भने फेला परेन । हुन त इर्भिनको खल्तीमा भेटिएको उनका श्रीमतीको फोटोले आधार प्रमाण देला कि ? भनी बहस र छलफल भएको हो । तापनि त्योबेलासम्मकै धेरै उचाइ (८,००० मिटर) सम्म इर्भिन र म्यालोरी पुगेको मात्रै होइन सगरमाथा सफलतापूर्वक आरोहण गरेका पो थिए कि ? भनी सन् १९९९ मा एक बेलायती पर्वतारोही दलले अध्ययन गरेका थिए ।

जे होस्, सगरमाथा आरोहणको प्रयास जारी नै थियो । यसै क्रममा फेरि सन् १९३४ मा संयुक्त अधिराज्य (युके) को अर्को एक टोली सगरमाथा आरोहणका लागि तिब्बतको बाटो भएर गए । तर त्योबेला पनि सगरमाथा आरोहणमा सफलता मिलेन । बरु बेलायती नागरिक माउरिस विल्सन र नेपालका दोर्जेमिङ्मा शेर्पाले पनि सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो अमूल्य जीवन उतै उत्सर्ग गरेका थिए । ‘विकिपिडिया’का अनुसार यसरी सगरमाथा हिम शिखर आरोहण गर्ने अथवा गराउने प्रयास गर्ने क्रममा जीवन उत्सर्ग गर्नेमध्ये ११८ जना (लगभग ४०/४२/४४ प्रतिशत) प्रतिशत नेपाली मूलका शेर्पा दाजुभाइहरू मात्रै रहनुभएको छ । त्यसपछि २४ जना भारतीय, २० जना अमेरिकी (त्यसमा दुईजना अमेरिकाबाहिर बस्ने अमेरिकी मूलका छन्) त्यस्तै गरेर आठ जना बेलायती, १८ जना जापानिज, १० जना चिनियाँ, ११ जना दक्षिण कोरियाली छन् ।

नाम चलेका र पर्वतारोहणमा प्रसिद्धि कमाएका पर्वतारोहीले पनि सगरमाथा आरोहण गर्ने क्रममा अथवा सगरमाथा आरोहण गरेर फर्कने क्रममा आफ्नो अमूल्य जीवन (सगरमाथामै) उत्सर्ग गरेका घटनाहरू पनि छन् । त्यस्ता विश्व प्रसिद्ध पर्वतारोहीले सगरमाथा क्षेत्रमै प्राण त्यागेको सन्दर्भमा कुरा गर्दा स्कट फिसर (अमेरिका), रब हल र एन्ड्रु ह्यारिस (न्युजिल्यान्ड), हिस्टो गाचेब बुल्गेरिया छन् । नेपालका पनि केही प्रसिद्ध सगरमाथा आरोहीले सगरमाथामै आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका छन् । जस्तो कि प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा एक हुन् । त्यस्तै पहिलोपटक धेरैपटक सगरमाथा आरोहण गरेका फु दोर्जे शेर्पा (जो वास्तविक नेपाली नागरिक सगरमाथा आरोही थिए भन्ने भनाइ छ), बाबुछिरी शेर्पा जसले २१ घण्टा सगरमाथाको शिखरमा बसेर विश्व कीर्तिमान कायम गरेका थिए, लोप्साङ जाङ्बु शेर्पा जसले त्यो बेलाको नेपालको राष्ट्रिय पोशाक दौरासुरुवाल, शेर्पा पोशाक बक्खु, कराँते खेलाडीले लगाउने पोशाक (खेलाडी पोशाक) ‘गी’ लगायत पोशाक लगाएर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया