Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोदो र फापर किन खाने ?

कोदो र फापर किन खाने ?


काठमाडौं । कोदो, फापर आदि अन्न जसलाई अंग्रेजीमा मिलेट भनिन्छ, मानव सभ्यताको लाखौँ वर्षको इतिहासमा सबैभन्दा पुरानो अन्नमध्ये गनिन्छ । कोदो, फापरको खेती खासगरी पानी कम पाइने प्रतिकूल मौसम भएको पहाडी इलाकामा गरिन्छ । ती अन्नलाई केही समयअघि गरिबले खाने अन्न भनी हेलाको दृष्टिले हेर्ने गरिन्थ्यो भने हिजोआज तिनमा रहेका पौष्टिक पदार्थबारे सर्वसाधारणमा चेतना फैलनाले पाँचतारे होटलमा समेत कोदोको ढिँडो र फापरको रोटीका माग बढ्न थालेको पाइन्छ । कुनै समय कुअन्न नामले चिनिने कोदो, फापर आदि अहिले श्रीअन्नको नामले चिनिन्छ । यी अन्नहरू आजभोलि चामल र गहुँको विकल्पको रूपमा प्रयोग हुन थालेको पाइन्छ । किनभने चामल र गहुँमा कार्बोहाइड्रेडको मात्रा धेरै हुन्छ भने फाइबरजस्ता उपयोगी तत्वचाहिँ नगण्य मात्रामा पाइन्छ । त्यसको ठीकविपरीत कोदो, फापर आदि अन्नहरूमा भने फाइबर प्रशस्त मात्रामा पाइन्छ ।

संयुक्त राष्ट्र संघको तत्वावधानमा सन् २०२३ लाई कोदो फापरको वर्ष अर्थात् इयर अफ दि मिलेट भनेर मनाइँदैछ । भारतले सन् २०२३ लाई इयर अफ दि मिलेट मनाउने भनी प्रस्ताव गरेकोमा ७२ वटा देशहरूले त्यसलाई समर्थन गरेपछि सो निर्णय गरिएको बुझिएको छ । हिजोआज विज्ञहरू कोदो, फापर, कांगना (फक्सटैल मिलेट)जस्ता अन्नहरूमा निहित पौष्टिक तत्वलाई ध्यानमा राखेर भात र गहुँको रोटीको सट्टा यी अन्नहरूको उपभोग गर्नुपर्ने कुरामा जोड दिन्छन् ।

अब स्वस्थ रहने र दीर्घ आयुसम्म बाँच्ने हो भने हाम्रो जीवनशैलीमा नै परिवर्तन ल्याउन पर्ने पोषणविद्हरूको जोड रहिआएको छ । हिजोआज मानिसहरू सुगर, प्रेसर, अत्यधिक कोलेष्टोरल, क्यान्सरजस्ता अनेकौँ रोगहरूबाट पीडित रहँदै आएका छन् । यसको मुख्य कारण हो, चामल र गहुँलाई मुख्य अन्नको रूपमा प्रयोग गर्नु र अत्यधिक चिल्लो भएको तारेका खानाहरूका साथै क्यान, प्याकेज्ड खाना एवम् चाउचाउ, विस्कुटजस्ता जंक फुडको अत्यधिक प्रयोग गर्नु । चामल र गहुँमा कार्बोहाइड्रेडको मात्रा अत्यधिक तर फाइबर अत्यन्त न्यून हुने हुनाले यी खाद्यवस्तुको सकेसम्म न्यून सेवन गर्नुपर्ने सल्लाह विज्ञहरू दिन्छन् ।

एक सय ग्राम सेतो चामलमा करिब ७९ ग्राम कार्बोहाइड्रेड पाइन्छ भने फाइबरको मात्रा शून्य दशमलव दुई ग्राम मात्र हुन्छ । त्यस्तै, गहुँको पीठो एक सय ग्राममा कार्बोहाइड्रेड ६६ दशमलव दुई ग्राम पाइन्छ भने त्यसमा दुई दशमलव सात ग्राम मात्र फाइबर हुन्छ । हाम्रो शरीर स्वस्थ रहनका लागि प्रत्येक १० ग्राम कार्ब उपभोग गर्दा एक ग्राम फाइबर साथमा उपभोग गर्नपर्ने हुन्छ । यहाँ कार्ब र फाइबरको अनुपात गणना गरेर खाने सल्लाह विज्ञहरू दिन्छन् । चामलको कार्ब, फाइबर अनुपात ३९५ हुन आउँछ भने गहुँको पीठोमा यो अनुपात ६३.५ हुन्छ । चामलभन्दा गहुँ खानु स्वास्थ्यको निम्ति लाभदायक हुन्छ । तर गहुँलाई पनि सर्वश्रेष्ठ अन्न मान्न सकिन्नँ । किनभने विज्ञहरूका अनुसार हाम्रो शरीरको लागि कार्ब, फाइबरको अनुपात १० सम्म भएमा स्वास्थ्यको निम्ति लाभदायक हुन्छ । तर गहुँ र चामल दुवैमा यो अनुपात १० भन्दा बढी छ । त्यस्तै, मकैमा प्रति सय ग्राम ६६ दशमलव दुई ग्राम कार्ब पाइन्छ भने दुई दशमलव सात ग्राम फाइबर पाइन्छ । विज्ञका अनुसार कार्ब, फाइबर अनुपात १० देखि ६० सम्म हुनु हानिकारक भने हैन र त्यसलाई सामान्य मानिन्छ ।

कार्ब, फाइबर अनुपात १० सम्म भएको खानालाई पोजिटिभ, १० भन्दा बढी तर ६० भन्दा कमलाई न्युट्रल र ६० भन्दा बढी भएको खण्डमा त्यसलाई निगेटिभ मिलेट भनिन्छ । ६० भन्दा बढी अनुपात भएको खाना धेरै खानु स्वास्थ्यको निम्ति हानिकारक मानिन्छ भने १० देखि माथि तर ६० भन्दा नबढाइकन खाएमा त्यसबाट शक्ति त आउँछ तर केही हानि पनि गर्दैन । १० वा सोभन्दा कम अनुपात भएको खाना खाएमा त्यसले विभिन्न क्यान्सर, सुगर, कोलेस्ट्रोरलजस्ता रोगमा समेत लाभ प्रदान गर्छ । तसर्थ, कोदो, फापर, जौ, कांगनाजस्ता अन्नलाई खानामा बढीभन्दा बढी समावेश गर्नु स्वास्थ्यको निम्ति लाभदायक मानिन्छ । त्यस्ता खाना उपभोग गर्नु औषधि सेवन गरे सरह हुने विज्ञहरू बताउँछन् । ती खानाहरूमा पर्याप्त मात्रामा आइरन, फोस्फोरस, पोटासियम, क्याल्सियम आदि सूक्ष्म पोषण तत्वहरू पनि पाइन्छन्, जुन स्वास्थ्यको निम्ति अत्यावश्क छ । यसप्रकारको खानाले शरीर तन्दुरुस्त र स्वस्थ हुनुका साथै मोटोपनालाई पनि कम गर्नमा मद्दत मिल्छ ।

हामीले खाना खाएपछि त्यसले ग्लुकोज निर्माण गरी त्यसबाट शक्ति प्राप्त हुन्छ । ग्लुकोज निर्माण प्रक्रिया छिटो भएमा त्यो शरीरको निम्ति हानिकारक हुन्छ भने सुस्त गतिमा ग्लुकोज निर्माण प्रक्रिया हाम्रो निम्ति लाभदायक हुन्छ । छिटो, छिटो ग्लुकोज निर्माण भएमा हामीलाई चाहिनेभन्दा बढी ग्लुकोज उत्पादन भई त्यसले अनेक रोगको रूप लिन सक्छ । चामल र गहुँ खाँदा एक घण्टामै ग्लुकोज निर्माण कार्य सम्पन्न हुन्छ भने कोदो, फापर आदि उच्च फाइबरको खाना खाँदा ग्लुकोज निर्माण प्रक्रियामा ५/६ घण्टा लाग्ने विज्ञहरू बताउँछन् । त्यसबाट शरीरलाई आवश्यक मात्रामा मात्र ग्लुकोज निर्माण हुन्छ, जुन हाम्रो निम्ति लाभदायक हुन्छ ।

कोदो, फापर आदिको रोटी, ढिँडो, खोले आदि बनाएर उपभोग गर्न सकिन्छ । हामीले खाने सेल, फुलौरा तथा अन्य रोटीहरूमा आधा आँटा र आधा कोदो वा फापर मिसाएर पनि प्रयोग गर्न सकिन्छ । हिजोआज कोदोको बिस्कुट, फापर मिसिएको पाउरोटी, कोदोको केक, चकलेट आदि समेत बन्न थालेका छन्, ग्राहकहरूको मागलाई ध्यानमा राखेर । त्यस्तै, दिनमा बिहान एक छाक मात्र भात वा आँटाको रोटी खाने र बेलुकी सुत्ने बेला डिनरमा कोदो वा फापरको रोटी वा कांगनाको दलिया खान सकिन्छ । त्यस्तै, खानुअघि एक प्लेट फलफूल वा काँक्रो, मुला, गाँजरको सलाद खाएको खण्डमा भात वा रोटीको सेवनमा कमी आउन सक्छ । तारेको खाना र चाउचाउजस्ता सुख्खा खाना सकेसम्म नखाएकै राम्रो हुन्छ । हामीले खाने चिसो कोक, फैण्टा, क्यान जुस आदि पनि स्वास्थ्यको निम्ति हानिकारक नै छ । त्यसको सट्टा उखुको रस, नरिवल पानी, कागतीको सर्वत, बाबरीको सर्वत, बेलको सर्वत र चिनीको सट्टा सखरको प्रयोग गर्नु अति लाभदायक हुन्छ । हामीले जति प्राकृतिक खानेकुरा खायौँ त्यति स्वास्थ्यको निम्ति लाभदायक हुन्छ र जति अप्राकृतिक र प्रोसेस्ड खानेकुरा खायौँ त्यति हानिकारक हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया