Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचियाको रामकहानी

चियाको रामकहानी


काठमाडौं । चिया आधुनिक समाजमा हाम्रो दैनिक जीवनपद्धतिकै एक अभिन्न अंगजस्तो बन्न पुगेको छ । सानोतिनो छलफलदेखि लिएर ठूलाठूला सभा सेमिनारसम्ममा चियाले आफ्नो आधिपत्य जमाउने गरेको पाइन्छ । घरमा आउने पाहुनालाई यदि चिया खुवाउन सकिएन अथवा पाइएन भने त्यो स्वागत सत्कार नै एक किसिमले नुन नपुगेको तरकारीजस्तो खल्लो बन्न पुग्छ । कुनैकुनै पाहुना त अझ ‘एक कप चिया पनि खाएर जा भनेन’ भनेर गुनासो नै व्यक्त गर्ने पनि हुन्छन् ।

त्यस्तै, शरीरमा थकावटको महसुस हुँदा, आलस्य लाग्दा र निद्रा भगाउनुपर्दा मानिसहरू अक्सर चियाकै चाहना राख्छन् भने कतिपय व्यक्तिहरू त चिया पिउन नपाए टाउको दुख्ने, जिउ भारी हुने र शरीरमा बेचैनीे हुनेजस्तो धारणा समेत व्यक्त गर्ने गर्छन् ।

जहाँसम्म चियाको फाइदा र बेफाइदासम्बन्धी कुरा छ, सामान्यतया धेरै नपकाएको चिया दिनमा तीन वा चार पटकसम्म पिउने गरेमा यसले शरीरलाई फाइदा नै गर्ने तर सोभन्दा बढी चिया पिएको खण्डमा यसले शरीरमा प्रतिकूल प्रभाव पार्न सक्ने कुरा सम्बन्धित स्वास्थ्य विशेषज्ञहरू बताउने गर्छन् । तर यहाँ चियाको फाइदा र बेफाइदाभन्दा पनि चियाको प्रचलन कहाँ र कसरी भयो भन्ने बारेमा नै छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।

चियाको उत्पत्ति सर्वप्रथम चीनमा आठौँ शताब्दीताका भएको हो । अठारौँ शताब्दीको प्रारम्भतिर आएर युरोप र अमेरिकाजस्ता मुलुकहरूमा पनि चियाको खेती सुरु हुन थाल्यो । तर उत्पादनको तुलनामा माग अत्यधिक बढ्दै गएको हुँदा यी मुलुकहरूको लागि नपुग चियाको परिमाण चीनबाट आपूर्ति हुने गथ्र्यो । अहिले पनि सबैभन्दा बढी चिया उत्पादन गर्ने मुलुक चीन नै मानिन्छ । चीनपछि भारत, श्रीलंका, वर्मा(म्यानमार) तथा अन्य दक्षिणपूर्वी एसियाली मुलुकमा पनि चियाको राम्रो उत्पादन हुने गर्छ । नेपालमा पनि चिया खेतीलाई प्रोत्साहन दिने गरेको पाइन्छ र यसका लागि ‘नेपाल चिया तथा कफी विकास निगम’ नामक एउटा छुट्टै संस्था स्थापना पनि गरिएको छ । चिया उत्पादनका दृष्टिले नेपालको इलाम जिल्ला सबैभन्दा प्रसिद्ध स्थल मानिन्छ ।

चीनमा हरियो र कालो रंगको गरी जम्मा दुई प्रकारको चिया पिउने चलन छ । जसअनुसार हरियो रंगको चियालाई ‘मादा’ र कालो रंगको चियालाई ‘कोचा’ भन्ने गरिन्छ । त्यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतमा चियापत्तिमा नुन र मक्खन मिसाएर बनाएको एक प्रकारको ‘काँडा’ चियाको रूपमा पिउने चलन छ । जसको लागि बाँसको लामो खोलमा उमालेको पानी खन्याई त्यसमा नुन, चियापत्ति र मक्खनको घोलबाट एक किसिमको चिया तयार पारिन्छ । यस्तो चिया तिब्बतीयनहरू काठको कचौरामा हालेर बढो स्वादले पिउने गर्दछन् । त्यस्तै, संयुक्त राज्य अमेरिकामा पनि दुई प्रकारको चिया पिउने चलन छ । एउटा गरम चिया र अर्को ठण्डा वा वरफ चिया । जुन क्रमशः सर्दी र गर्मी मौसममा पिउने गरिन्छ ।

नेपाल र भारतजस्ता मुलुकहरूमा भने प्रायःजसो उमालेको पानीमा आवश्यक मात्रामा चियापत्ति, दूध र चिनी हालेको वा दूधविनाको चिया गिलास, मग वा कपमा हालेर पिउने चलन छ । इरानमा पनि यस्तै प्रकारको चिया पिउने गरिन्छ । तर उनीहरू चिया अक्सर चाँदीको सानो कचौरामा हालेर पिउने गर्छन् । किनभने गिलासमा हालेर पिउँदा उनीहरू चिया कालो, गाढा र कडा भएको महसुस गर्छन् ।

रुसमा भने चिया लामो गिलासमा हालेर दिने चलन छ । त्यहाँ चियामा मह अथवा चिनी मिसाएर स्वादिष्ट पारिन्छ तर दूधको प्रयोग गरिँदैन । बरु दूधको सट्टा कहिलेकाहीँ चियामा फलफूलको रस वा मदिरा मिसाएर पिउने गरिन्छ । थाइल्याण्डका मानिसहरू चिया बढो प्रसन्न भएर पिउने गर्दछन् । उनीहरू चियालाई आफ्नो भाषामा ‘म्याउ म्याउ’ भन्ने गर्छन् । त्यहाँका धेरैजसो मानिसहरू चियामा नुन मिसाएर पिउन रुचाउँछन् भने कोहीकोही नुनको साथमा खुर्सानी पनि मिसाउने गर्छन् ।

त्यसैगरी अरेबियन मुलुकहरूमा फेरि चिया पिउने प्रचलन आप्mनै प्रकारको छ । उनीहरू चियाको पानी उम्लनुभन्दा केही समय अगाडि भाँडामा अलिकति थप अतिरिक्त पानी खन्याउँछन् । यसरी खन्याएको गिलासको चिया फेरि अर्को भाँडामा राखिन्छ । दोस्रो पटक पनि त्यो चिया त्यत्तिकै उचाइबाट खन्याइन्छ । यस्तो प्रक्रिया तीनपटकसम्म दोह¥याउने गरिन्छ । उनीहरूको भनाइअनुसार यसो गर्नुको अर्थ सबैजना एक आपसमा मित्र हुन् र कहिल्यै कसैले पनि एक अर्कोमाथि शंका वा अविश्वास प्रकट गर्नुहुँदैन ।

जापानीहरू त चिया बनाउनुलाई पनि एक किसिमको कलाको रूपमा लिन्छन् । उनीहरू चिया बनाउँदा एउटा गहिरो भाँडोमा सानो बाँसको चम्चाले हरियो चिया पत्ती हालेर त्यसमा गरम पानी खन्याउँछन् र बाँसकै छडीले त्यसलाई राम्रोसँग घोटेर एक प्रकारको घोल तयार पार्छन् । कुनै विशेष अवसरमा यस्तो घोल (चिया) मा छानिएको एक विशेष प्रकारको मिश्रण हाल्ने चलन पनि छ । चिया बनाउने सो विधिमा दुईदेखि तीनघण्टासम्म लाग्ने गर्छ । चिया बिस्तारैबिस्तारै पिउनु जापानीहरूको शिष्टता मानिन्छ भने चिया पिउँदा उनीहरू आप्mनो रूचि र सौन्दर्यको प्रदर्शित पनि गर्ने गर्छन् । झन् पाहुनाहरूले चियाको भाँडाको कलात्मकताबारे केही प्रशंसा गरिदिने हो भने त जापानीहरू खुसीले त्यसैत्यसै मक्ख पर्ने गर्छन् ।

चिया सबैभन्दा बढी पिउने मुलुकको कीर्तिमानचाहिँ बेलायतले कायम गरेको छ । एक सर्वेक्षणबाट थाहा भएअनुसार बेलायतमा एकजना व्यक्तिले एक वर्षमा कम्तीमा चार किलोग्रामसम्म चिया हजम पार्ने गर्दछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया