नेपालमा मुद्रा बजारको स्थिति
काठमाडौं । वित्तको अल्पकालीन लेनदेन हुने बजारलाई मुद्रा बजार भनिन्छ । मुद्रा बजार वित्तीय बजारको एक प्रमुख अङ्ग हो । व्यक्ति तथा संस्थाहरूले वित्त आपूर्ति गर्दछन् भने विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूले वित्त माग गर्दछन् । तिनै वित्त आपूर्तिकर्ता र मागकर्ताबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष कारोबार नै मुद्रा बजार हो । मुद्रा बजारलाई अल्पकालीन पुँजी कोषको रूपमा लिन सकिन्छ । मुद्रा बजारसँग सम्बन्धित माग तथा आपूर्ति लगानी पुँजी हो । देशको मुद्रा बजारमा अल्पकालका लागि दिन सकिने कुल ऋण पुँजीको सञ्चय गरिन्छ । यो पुँजी वाणिज्य र वित्तीय समाजका ती सदस्यहरूलाई ब्याजमा लगानी गरिन्छ जसलाई यसको आवश्यकता हुन्छ । मुद्रा बजार शब्दले अल्पकालीन पुँजीको उधारो लगानी गर्ने माध्यम र वित्तीय कारोबार तय गर्ने सम्पूर्ण प्रक्रियालाई जनाउँछ । केन्द्रीय बैंक, वाणिज्य बैंक, बट्टा गृह, सहकारी संस्था, स्वीकृति गृह, व्यक्तिगत लगानीकर्ताहरू, वित्तीय संस्थाहरू, मुद्रा बजारका प्रमुख आपूर्तिकर्ताहरू हुन् भने सरकार, व्यावसायिक गृहहरू र व्यक्तिहरू मुद्रा बजारका प्रमुख मागकर्ताहरू हुन् ।
मुद्रा बजारमा वाणिज्य बैंकहरू बीमा कम्पनीहरू, केन्द्रीय बैंक र अन्य वित्तीय संस्थाहरू ऋणदाता हुन्छन् भने व्यापारीहरू, व्यवसायीहरू, सट्टेबाजीहरू, नाफाखोरहरू, उद्योगी एवम् साहसीहरू र सरकारी संस्थाहरू पनि कर्जा प्राप्त गर्ने निकाय हुन्छन् । मुद्रा बजारले ऋणदाता र ऋण माग गर्नेहरूका बीचमा सम्बन्ध जुटाइदिने काम गर्छ । यस्तो बजारमा सुरक्षणपत्रहरू, विनिमय बिलहरू, तमसुक, प्रतिज्ञापत्रजस्ता साखपत्रहरूको जमानतमा एक दिनदेखि छ महिनासम्मको अल्पकालीन अवधिको ऋण प्रदान गर्ने काम गरिन्छ ।
मुद्रा बजारको सर्वाधिक आवश्यक र महत्वपूर्ण अङ्ग बैंकर्स स्वीकृत बजार हो । तापनि वाणिज्य पत्र बजार र अल्पावधि राजकोष पत्र बजार र अविलम्ब राशि बजार पनि मुद्रा बजारका अङ्ग हुन् र यिनीहरू सबै एक आपसमा प्रभावित र सम्बन्धित हुन्छन् । मुद्रा बजार र पुँजीबजारबीचको के फरक छ भने पुँजीबजारलाई पनि मुद्रा बजारको एक अङ्ग मानिन्छ । मुद्रा बजारको संगठन औपचारिक हुन्छ र यसको कुनै निश्चित स्थान हुँदैन । मुद्रा बजारको सन्दर्भमा बजार शब्द त्यो व्यावसायिक द्योतक हो जुन क्रेतालाई एकअर्काको समीप ल्याउन सहायक सिद्ध भई उनीहरूका बीच किनबेच सम्भव बनाउँछ ।
मुद्रा बजारका अङ्ग तथा संरचनाअन्तर्गत कुनै पनि मुद्रा बजारमा त्यस देशको केन्द्रीय बैंक शीर्षस्थ संस्थाको रूपमा रहन्छ । मुद्रा जारी गर्ने एकाधिकार केन्द्रीय बैंकलाई नै हुन्छ । यसले मुद्राको मात्रामा कमी वा वृद्धि गर्न सक्छ । यसले व्यापारिक बैंकद्वारा दिइने साखमा पनि नियन्त्रण गर्दछ । मुद्रा बजारमा केन्द्रीय बैंक नै अन्तिम सहायकको रूपमा काम गर्छ । मुद्रा बजारको सम्पूर्ण कोषको अन्तिम भण्डार नै केन्द्रीय बैंक हुन्छ । केन्द्रीय बैंकपछि मुद्रा बजारमा व्यावसायिक बैंकहरूको स्थान आउँछ । वाणिज्य बैंकहरू मुद्रा बजारको महत्वपूर्ण र आवश्यक अङ्ग हुन् । वाणिज्य बैंकहरू विनिमय बिल कट्टा गर्ने, बट्टा गर्ने, बट्टा गृहहरूलाई विनिमय बिल कट्टा गर्न अभियाचित ऋण दिने आदि काम गर्छन् । मुद्रा बजारमा एक वर्षभन्दा कम अवधिमा परिपक्क हुने वित्तीय साधनहरूको खरिद बिक्री हुन्छ । वित्तीय बजारअन्तर्गत वर्णन गरिएको अल्पकालीन साधन नै मुद्रा बजारका साधन हुन् । मुद्रा तथा पुँजीबजार दुवैमा पहिलो महत्वपूर्ण साधन सिक्का तथा रुपैयाँ हो । यसबाहेक मुद्रा बजारका प्रमुख साधन बैंक निक्षेप प्रमाणपत्र, ट्रेजरी बिल, व्यापारिक पत्र, बैंकहरूको स्वीकृति पत्र, फेड्रलकोष, युरो करेन्सी आदि हुन् । गैरवित्तीय व्यावसायिक संस्थासँग पनि केही समयका लागि नगद बचत हुन सक्छ । यस्ता संस्थाले मुद्रा बजारमा वाणिज्य बैंक प्रतिभूति कारोबारकर्ता तथा अन्य संस्थाहरूलाई ठूलो परिमाणमा अल्पकालीन रकम उपलब्ध गराउन पनि सक्छ ।
विकसित मुद्रा बजारका विशेषताहरू यस प्रकारका छन् :– (१) शक्ति सम्पन्न केन्द्रीय बैंक (२) संगठित बैंकिङ व्यवसाय (३) साख साधन (४) उपबजारहरू (५) पर्याप्त वित्तीय स्रोत (६) आन्तरिक र अन्तर्राष्ट्रिय घटनाहरूको प्रभाव (७) समन्वित ब्याजदरको छनोट (८) कोष झिकाउने/पठाउने सस्तो सुविधा । विश्वको सबैभन्दा पुरानो मुद्रा बजार ब्रिटेनको लण्डन मुद्रा बजार हो । लण्डन मुद्रा बजारमा १९ औँ शताब्दीदेखि नै वित्तीय कारोबारमा अत्यन्त ठूलो वृद्धि हुँदै आएको छ । ब्रिटेनमा भएको राजनीतिक, आर्थिक स्थिरता र समृद्धि, देशभित्र वैदेशिक पुँजीको प्रवाह र नयाँ वित्तीय संस्थाहरूको स्थापना र प्रभावकारिताको कारण लण्डन मुद्रा बजार विकसित हुन पुगेको हो । न्युयोर्क मुद्रा बजारले बीसौँ शताब्दीको दोस्रो दशकदेखि ख्याती प्राप्त गरेको हो । यो विश्वको सबैभन्दा ठूलो मुद्रा बजार हो । यो मुद्रा बजारमा कार्यरत वित्तीय संस्थाहरू, साखपत्रहरू र बिलहरू निकै ठूलो मात्रामा रहेका छन् । न्युयोर्क मुद्रा बजारमा फेडरल रिजर्भ बैंकले केन्द्रीय बैंकको रूपमा कार्य गर्दछ ।
नेपालमा संगठित मुद्रा बजारको रूपमा कार्यरत वित्तीय संस्था–नेपाल बैंक लि. नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय बीमा संस्थान, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, कर्जा सुरक्षण निगम, सेक्युरिटी खरिद बिक्री केन्द्र (धितो बजार) आदि प्रमुख छन् । असंगठित मुद्रा बजारमा स्थानीय साहुमहाजनहरू पर्छन् । नेपालमा अझसम्म पनि बहुसंख्यक मानिसहरू स्थानीय साहुमहाजनसँगै कर्जा लिने गर्छन् । नेपालमा मुद्रा बजारलाई बढी व्यवस्थित गर्न दर्ता प्रणालीको विस्तार, संशोधन गृहको विस्तार पुनः बट्टा सुविधा, गोदाम सुविधा आदि महत्वपूर्ण विषयहरूको क्षेत्रमा विकास गरिनु आवश्यक भएको छ ।
दोस्रो बजार कारोबारलाई विस्तार गर्न तथा प्रगाढ बनाउन गत वर्षहरूमा प्रयोगमा ल्याइएको रिपो, सोझै बिक्री, सोझै खरिद र क्रमिक बिक्रीजस्ता संयन्त्रहरूलाई कायमै राखिएको छ । साथै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७५ को उपदफा (७)बमोजिम नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहने ऋणपत्रको कुल रकम अघिल्लो आर्थिक वर्षको राजस्व आयको दश प्रतिशतभन्दा बढी हुन नहुने भएकाले दोस्रो बजारअन्तर्गत बैंकको स्वामित्वमा रहेको ऋणपत्रको बिक्री कारोबारलाई अझ तीव्रता दिइएको छ । फलस्वरूप गत वर्षको तुलनामा समीक्षा वर्षको अन्तमा यस्तो रकममा २६ दशमलव तीन प्रतिशतले कमी आई १५ अर्ब १३ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।
पुँजीबजारको दिगो विकासको लागि आवश्यक पूर्वाधारको व्यवस्थाका साथै पुँजीबजारको सुधार प्रक्रियालाई निरन्तरता दिनुपर्ने खाँचो देखिएको छ । उत्पादनशील, निर्यातमूलक, रोजगारीउन्मुख, स्वरोजगारी र गरिबी निवारणमा सहायक हुने आर्थिक क्रियाकलापहरूको अभिवृद्धिका लागि आवश्यक पर्ने वित्तीय साधनको व्यवस्था गर्न र प्रभावकारी वैकल्पिक उपायहरूको पहिचान गरी आधिकारिक वित्तीय साधन र स्रोत त्यसतर्फ प्रवाहित गराई आर्थिक विकास प्रक्रियामा थप गतिशीलता दिनुपर्ने चुनौती रहेको छ । देशमा क्रमशः प्रशस्त उद्योगहरूको स्थापना र सञ्चालन व्यवस्थितरूपमा बढ्दै गएपछि उद्योगहरूप्रति जनताको विश्वास बढ्दै जान्छ । यसबाट औद्योगिक लगानीको राम्रो वातावरण सिर्जना हुन्छ र आन्तरिक पुँजी परिचालन गर्न सजिलो हुनुका साथै वैदेशिक लगानीकर्ताहरूलाई समेत आकर्षण गर्न सफल हुन्छ । विकासको क्रममा जब जनताहरूको आम्दानी बढ्दै जान्छ तब उपभोगको अतिरिक्त बचत बढ्न गई लगानीको मात्रा बढ्न जान्छ जसले पुँजीबजारको आधार खडा गर्छ । संगठित संस्थाहरू एक अर्कामा गाभ्ने गाभिने (मर्जर तथा एक्विजिसन) क्रम बढ्दै गएकोमा सेयरधनीहरूको हकहित संरक्षणका लागि गर्नुपर्ने व्यवस्थासहितको निर्देशिका तयारीको क्रममा छ । बोर्डका वेब पोर्टललाई अद्यावधिक गर्न, बोर्डको आन्तरिक तथा बाह्य सूचना प्रणालीलाई व्यवस्थित गर्न, बोर्डको आन्तरिक गतिविधिहरूको यान्त्रिकीकरण गर्न तथा पुँजीबजार क्षेत्रमा विद्युतीय विवरण प्रवाह प्रणालीको व्यवस्थालाई थप सुदृढ गर्न बोर्डका वेब पोर्टलहरू नियमितरूपमा अद्यावद्यिक गर्नुका साथै बोर्डको वेबसाइटलाई सुधार गरी प्रयोगकर्तामैत्री बनाइएको छ । सामूहिक लगानी कोष स्थापना तथा व्यवस्थापन गर्न बजारमा चारवटा कोषहरू सिद्धार्थ म्युचुअल फण्ड, नबिल म्युचुअल फण्ड, लक्ष्मी म्युचुअल फण्ड र एनएमबी म्युचुअल फण्ड दर्ता गरिएको छ । २०६९ साल फागुन मसान्तसम्म सिद्धार्थ म्युचुअल फण्डले लगानीकर्ताहरूको हितलाई ध्यानमा राखी सेयर खरिद कर्जाको लागि बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराई यस कर्जालाई सुव्यवस्थित बनाउन धितोपत्र दलाल कम्पनीमार्फत सहजीकरण गर्ने व्यवस्था गरिएको छ । कमोडिटिज डेरिभेटिभ बजार नियमन सम्बन्धमा विज्ञहरूबाट अनुसन्धान भई प्रतिवेदन तयार गरिएको छ भने यसको नियमनका लागि नियमावलीको मस्यौदा तयार भएको छ । नेप्सेको हाल प्रयोगमा रहेको ट्रेडिङ सफ्टवेयर विस्थापित गरी अनलाइन ट्रेडिङ सुविधा समेत रहेको अत्याधुनिक सफ्टवेयर जडान गर्न दुई पक्षीय सहयोगका लागि भारतीय सरकार समक्ष प्रस्ताव पेश भएको छ । साथै, नयाँ अनलाइन ट्रेडिङ सुविधासहितको सफ्टवेयर जडान गरी धितोपत्रको कारोबार देशका विभिन्न सहरहरूमा थप विस्तार गर्ने क्रममा कारोबार प्रणाली जडानपश्चात अविलम्ब विभिन्न सहरबाट कारोबार सुरू गर्न सकिने अवस्थामा रहेको छ ।
त्रिवर्षीय योजनामा धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ कम्पनीजस्ता धितोपत्र बजारको अतिआवश्यक पूर्वाधारहरूको स्थापनालाई प्रोत्साहन गर्न तत्सम्बन्धी नियमन व्यवस्थाहरू विकास गर्ने कार्य भएको छ । यसअन्तर्गत धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ तथा सामूहिक लगानी कोष नियमावली, २०६७, क्रेडिट रेटिङ नियमावली, २०६८ समेत लागू भइसकेको छ । सोही व्यवस्थाअनुसार बजारमा चारवटा सामूहिक लगानी कोष दर्ता भई केही कोषको योजना समेत आउन थालेको छ । क्रेडिट रेटिङको सेवा दिन इक्रा नेपाल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कार्य सञ्चालन सुरु गरिसकेको छ । त्यस्तै, केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेड खडा भई राफसाफ कार्य सुरु गरिसकेको अवस्था छ ।
आर्थिक सर्वेक्षण, आर्थिक वर्ष २०७९/८० मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षको फागुन महिनासम्म कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई नेपाल राष्ट्र बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था भएको छ । वाणिज्य बैंकले सम्बन्धित निकायबाट स्वीकृतिलाई कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था भएको छ । नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीको धितोपत्रको खरिद बिक्री आटीसी बजारमा गर्न सकिने व्यवस्थाबमोजिम आर्थिक वर्ष २०७७/७८ मा करिब दुई अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको आर्थिक वर्ष २०७८/७९ मा करिब दुई अर्ब ९३ करोड बराबरको कारोबार भएको छ । चालू आर्थिक वर्षको फागुनसम्म कुल ३२ कम्पनीको करिब ६० करोड बराबरको धितोपत्रको ओटीसी बजारमा कारोबार भएको छ । मर्चेण्ट बैंकको संख्या २०७८ फागुन मसान्तमा ३१ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा कुल चार हजार दुई सय ग्राहकको करिब १३ अर्ब ६८ करोड बराबरको कोष व्यवस्थापन भएको छ । गत आर्थिक कर्ष कुल तीन हजार एक सय छ ग्राहकको करिब १२ अर्ब ८२ करोड बराबरको कोष व्यवस्थापन भएको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म सीडीएससीमा दर्ता भएका कम्पनीको संख्या दुई सय ३६ र निक्षेप सदस्यको संख्या ८२ पुगेको छ । निक्षेप सदस्यले ७७ जिल्लाबाट नै निक्षेप सेवा उपलब्ध गराउँदै आएका छन् । अभौतिकृत धितोपत्रको संख्या २०७९ फागुन मसान्तसम्म नौ अर्ब ९१ करोड ९० लाख पुगेको छ । २०७८ फागुन मसान्तमा यस्तो संख्या यस्तो आठ अर्ब ३९ करोड आठ लाख रहेको थियो ।
धितोपत्र बजारमा लगानीकर्ताको सहभागीताको अवस्था उत्साहजनकरूपमा बढेको छ । २०७८ असारसम्म ३७ लाख ८९ हजार डिम्याट खाताको संख्या रहेकोमा २०७९ फागुनसम्म उक्त संख्या ५६ लाख ५४ हजार पुगेको छ । यो संख्या कुल जनसंख्याको १९ दशमलव चार प्रतिशत हो । २०७९ फागुनसम्म ४६ लाख ७१ हजार पुगेको छ । २०७९ फागुनसम्म तीन रेटिङ कम्पनी सञ्चालनमा रहेका छन् । यी कम्पनीले चालू आर्थिक वर्षको फागुनसम्म धितोपत्र निष्काशन गर्ने २५ कम्पनी र एक सय ५७ ऋणीको के्रडिट रेटिङ गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा धितोपत्र निष्काशन गर्ने ५० कम्पनी र दुई सय १० ऋणीको रेटिङ सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा पुँजीबजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गरिनुका साथै बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने कार्यक्रम राखिएको छ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत् र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्न व्यवस्था मिलाइने नीति लिइएको छ । धितोपत्र औजारको विस्तार र विविधीकरण गरिने कार्यक्रम राखिएको छ । पुँजीबजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिनुका साथै आवश्यक पूर्वाधार तयार गरी कमोडिटिज एक्सचेन्ज मार्केट तथा एमएमईज प्लेटफर्म सञ्चालनमा ल्याइने नीति लिइएको छ ।
वर्तमान पन्ध्रौं पञ्चवर्षीय योजना २०७६–२०८१ मा मुद्रा बजार विकास कार्यक्रमअन्तर्गत् स्वच्छ प्रतिस्पर्धा, फराकिलो धितोपत्र तथा वस्तु विनिमय बजारमार्फत राष्ट्रिय पुँजी निर्माण गर्ने सोच राखिएको छ । त्यस्तै, सवल गतिशील र विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकासमार्फत लगानी, आकर्षित गर्ने लक्ष्य राखिएको छ भने धितोपत्र तथा वस्तु विनिमय बजारलाई पहँुचयोग्य, विश्वसनीय र स्वच्छ बनाउने उद्देश्य पनि राखिएको छ । यसका साथसाथै धितोपत्र तथा वस्तु विनिमय बजारलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउनुका साथै यसको क्षेत्र तथा दायरा अभिवृद्धि गर्ने, कानुनी संरचनागत र संस्थागत सुधारगरी, धितोपत्र तथा वस्तु विनिमय, बजार सञ्चालन तथा विनिमय प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, धितोपत्र बजारमा साना र स्वदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाउने रणनीति पनि राखिएको पाइन्छ ।
देशमा छरिएर रहेको बचतलाई दीर्घकालीन बचतका उपकरणमार्फत् परिचालन गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउन पुँजीबजारले महत्वपूर्ण संयन्त्रको रूपमा कार्य गर्छ । दक्ष एवम् प्रभावकारी बजार तथा नियमन व्यवस्थाले पुँजीबजार अझ गहिरो, स्थिर र प्रभावकारी हुनेछ । नेपालमा विसं २०३३ मा पुँजीबजारको संस्थागत विकास प्रारम्भ भएको भए पनि हालसम्म यसले अपेक्षित विस्तार र गहिराइ प्राप्त गर्न सकेको छैन । धितोपत्र तथा दीर्घकालीन ऋणको सेवा विस्तार गर्दै यसलाई उदीयमान पुँजीबजारको स्तरमा वृद्धि गर्न आवश्यक छ । आर्थिक वृद्धिलाई प्रत्यक्ष सघाउ पुग्ने गरी पुँजीबजार परिचालन, संस्थागत सुशासनको आचारसंहिता लागू गरी संस्थागत सुशासनमा सुधार, धितोपत्र बजारको सुदृढ नियमन व्यवस्था, धितोपत्र निष्काशन तथा कारोबार लागतमा कमी, धितोपत्रको निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणको व्यवस्था र पुँजीबजारमार्फत् पुँजी परिचालन गर्ने वास्तविक क्षेत्रका सङ्गठित संस्थाहरूलाई वित्तीय प्रोत्साहनको व्यवस्था गरी पुँजीबजारमा प्रवेश गराउने कार्य चुनौतीपूर्ण रहेको छ । धितोपत्र व्यवसायलाई थप व्यावसायिक तथा मर्यादित बनाई धितोपत्र व्यवसायी सेवालाई थप प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन आवश्यक संस्थागत व्यवस्था गर्ने कार्य पनि चुनौतीपूर्ण रहेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया