Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालका प्रथम वैज्ञानिक : गेहेन्द्र शमशेर

नेपालका प्रथम वैज्ञानिक : गेहेन्द्र शमशेर


काठमाडौं । गेहेन्द्र शमशेरको जन्म विसं १९२८ सालको पुस महिनामा भारतको पुरानो राजधानी कलकत्तामा भएको थियो । कलकत्तामा उनका पिता वीर शमशेरलाई नेपाली प्रतिनिधिको रूपमा कार्य गर्न खटाइएको थियो । उनको प्रारम्भिक शिक्षा निजी अंग्रेजी शिक्षक राखी घरमा नै व्यवस्था गरिएको थियो । पछि राणा शासनकालमा निर्मित नेपालकै प्रथम आधुनिक विद्यालय मानिने दरबार हाई स्कुलमा उनलाई औपचारिक शिक्षाको लागि भर्ना गरिएको थियो । त्यसो त उनको शैक्षिकस्तरबारे हालसम्म कुनै पनि आधिकारिक जानकारी उपलव्ध हुन सकेको छैन । तैपनि गेहेन्द्र शमशेर नेपाली आविष्कारक, हातहतियारका प्रमुख डिजाइनर एवम् तत्कालीन शाही नेपाली सेनामा जर्नेल समेत बन्न पुगेका थिए । गेहेन्द्र शमशेरलाई नेपालकै प्रथम वैज्ञानिकको रूपमा पनि मान्ने गरिएको छ ।

वैज्ञानिक गेहेन्द्र शमशेर वीर शमशेरका जेठा छोरा थिए । वीर शमशेर राणा शासनका तेस्रा प्रधानमन्त्री हुन् । विसं १९४२ सालमा रणोदीप सिंह कुँवरको हत्या भएपछि वीर शमशेर राणा शासनको तेस्रो प्रधानमन्त्री बन्न पुगेका थिए । गेहेन्द्र शमशेर बाल्यकालदेखि नै विभिन्न यान्त्रिक सामान र हात हतियार निर्माणमा रुचि राख्ने गर्थे । उनको यही अभिरुचिका कारण पिता वीर शमशेरले पनि आफू प्रधानमन्त्री हुँदा छोरा गेहेन्द्रलाई १४ वर्षको अवस्थामै तत्कालीन शाही नेपाली सेनाको हातहतियार विभाग हेर्ने प्रमुखको जिम्मा दिएका थिए । जसले गर्दा गेहेन्द्र शमशेर हातहतियार र गोलीगठ्ठा निर्माणमा निकै उत्प्रेरित पनि हुन पुगेका थिए ।

तर त्यस बखत विदेशी मुलुकबाट हातहतियार तथा गोलीगठ्ठा आयात गर्न पाइँदैन थियो । त्यसैले वैज्ञानिक गेहेन्द्रले स्थानीयरूपमै उपलब्ध कच्चा सामग्री प्रयोग गरेर विभिन्न हातहतियार निर्माणको थालनी गरेका थिए । यसका लागि उनले बेलायती मोडलको हातहतियार निर्माण कारखाना काठमाडौंको जमलस्थित आप्mनै निवास सेतो दरबार अनि सुन्दरीजल, बालाजु र भोजपुरको मेगचन भन्ने ठाउँमा समेत स्थापना गरेका थिए । त्यति मात्र नभई वैज्ञानिक गेहेन्द्र शमशेरले तत्कालीन शाही नेपाली सेनाको आधुनिकीकरणमा समेत ठूलो योगदान पु-याएको इतिहासकारहरू बताउँछन् ।

प्रधानमन्त्री वीर शमशेरको निधनपछि देव शमशेर चौथो राणा प्रधानमन्त्रीको रूपमा सत्तासीन हुन पुगे । त्यसो त देव शमशेर र गेहेन्द्र शमशेरबीच पनि त्यतिखेर निकै राम्रो र घनिष्ठ सम्बन्ध रहेको थियो । त्यसैले दरबारमा गेहेन्द्रको निकै राम्रो पोजिसन पनि थियो । यस क्रममा उनलाई तत्कालीन प्रहरी सेवाको जासुसी प्रमुख अर्थात् स्पाई चिफको रूपमा समेत नियुक्त गरिएको थियो । पछि प्रधानमन्त्री देव शमशेरकै सल्लाह र आग्रहमा उनी जापानमा हातहतियार निर्माणसम्बन्धी विभिन्न प्रविधि सिक्नका लागि भनी जापान पनि गएका थिए । पछि विसं १९५६ को अन्त्यतिर आएर गेहेन्द्र शमशेरले संयुक्त राज्य अमेरिकाको डेट्रोइटस्थित फोर्ड मोटर कम्पनीबाट मोटर कार मगाई उक्त मोटरकारको सबै पार्ट पुर्जाहरू खोलेर त्यसको बृहत् अध्ययन गरी आफैं मोटर कार निर्माणमा समेत जुटेका थिए । वैज्ञानिक गेहेन्द्र शमशेरका प्रमुख आविष्कार तथा उपलब्धिहरू बुँदागतरूपमा यस प्रकार उल्लेख गर्न सकिन्छ ।

पानी मुनि बत्तीः– जतिखेर नेपालमा बिजुलीको प्रचलन ठ्याम्मै थिएन, त्यतिखेर गेहेन्द्र शमशेरले पानीमुनी बत्ती बाल्ने प्रविधिको विकास गरे । तैल इन्जिनको प्रयोगद्धारा डीसी डाइनामो चलाएर त्यसबाट उत्पन्न बिजुलीलाई जम्मा गरी अर्थात् ब्याट्री चार्ज गरी त्यसबाट लाइन जोडी उनले बिजुली बत्ती बाले । यो बत्ती पानी मुनि पनि बाल्न सकिन्थ्यो । आजको जस्तो जलविद्युत् शक्तिको अभाव भएको त्यस समयमा डाइनामो चलाएर भए पनि यसरी बिजुली बत्ती बाल्नुलाई इतिहासकारहरूले ठूलै उपलब्धि मानेका छन् । स्मरण रहोस् ! नेपालको पहिलो फर्पिङ्ग जलविद्युत् आयोजना निर्माणको थालनी पनि उनले नै गरेको मानिन्छ ।

धान कुट्ने कलः– काठमाडौंको जमलस्थित त्रिभुवन विश्वविद्यालयको पुरानो परीक्षा नियन्त्रण कार्यालय रहेकोे भवन र त्यस वरपर फैलिएको दरबारलाई त्यतिखेर सेतो दरबार भनिन्थ्यो । जुन दरबार उनलाई आफ्ना पिता वीर शमशेरले पैत्रिक सम्पत्तिको रूपमा प्रदान गरेका थिए । त्यसै सेतो दरबारको कम्पाउण्डभित्र गेहेन्द्र शमशेरले यस्तो कलको स्थापना गरेका थिए, जुन कलले धान कुट्ने, पीठो पिस्ने, तोरी पेल्ने आदि गथ्र्यो । यस कलका निम्ति उनले सातवटा ब्रोइलर इन्जिन समेत जडान गरेका थिए ।

छाला प्रशोधन कारखानाः– वैज्ञानिक गेहेन्द्र शमशेरले काठमाडौंको बालाजुमा छाला प्रशोधन कारखाना पनि स्थापना गरेका थिए । यसबाट देशभित्रै काँचो छालालाई प्रशोधन गर्न सम्भव भएको थियो । यस कारखानाले नेपालको औद्योगिक विकासमा समेत निकै महत्वपूर्ण थालनी गरेको मानिएको छ । हावा मिलः– इनारको पानीलाई तानी बाहिर ल्याउने यो मिल हावाको गतिले पङ्खालाई घुमाएको आधारमा चल्थ्यो । त्यसै बहेर खेर जाने हावालाई मानव जातिको सेवामा लगाउन उनले प्रयोग गरी सफलता प्राप्त गरेका थिए । उनको यो प्रविधिलाई त्यतिखेर सेतो दरबारको कम्पाउण्डभित्र इनारको पानी बाहिर ल्याई बगैँचामा सिञ्चन गर्न समेत प्रयोग गर्ने गरिएको थियो ।

गेहेन्द्र राइफलः– गेहेन्द्र शमशेरका वैज्ञानिक उपलब्धिहरू ज्यादाजसो तोप, बन्दुक, राइफल आदि हातहतियारको निर्माण र नयाँ प्रयोगहरूमा नै केन्द्रित रहेको थियो । त्यतिखेर सरकारी सेनाको उपयोगका लागि पनि ती हतियारहरू प्रयोग हुने गर्थे । यी हतियारहरूमध्ये एकथरी राइफललाई गेहेन्द्र शमशेरले आफ्नै नामबाट गेहेन्द्र राइफल भनी नामकरण पनि गरेका थिए । यो राइफलमा दुईनाले कार्टिज्स समावेश गरिएको थियो । त्यतिखेर सैनिकहरूको अभ्यासका निमित्त समेत यी राइफलहरू वितरण गरिएका थिए ।

गे–गनः– गेहेन्द्र शमशेरले एकथरी यस्तो तोप बनाएका थिए जुन तोपलाई बसीबसीकन पनि प्रहार गर्न सकिन्थ्यो । यसलाई उनले आफ्नै नामको सुरुको अक्षर गेबाट ‘गे–गन’ भनी राखेका थिए । यसको प्रमुख विशेषता के थियो भने प्रहार गर्दा यो पछाडि सर्दैनथ्यो । जब कि अरू तोपहरूमा गोली प्रहार भई छुटेर गएपछि गन जोडले पछाडि सर्ने गथ्र्यो । तर यो गे–गन चलाउँदा चलाउने मान्छेलाई गोली लाग्न नपावस् भनी यसमा अगाडिपट्टि मान्छेको टाउको छेकिने गरी धातुको पाता समेत जडान गरिएको थियो । साथै, यस गनको अर्को महत्वपूर्ण विशेषता के पनि थियो भने यसलाई केही डिग्री घुमाएर पनि प्रहार गर्न सकिन्थ्यो । यस हिसाबले यो गन आजको चौतर्फी प्रहार गर्न सक्ने आधुनिक ट्याङ्करकै एउटा प्रारम्भिक स्वरूप थियो भनेर कतिपय इतिहासकारहरूले टिप्पणी पनि गरेका छन् ।

वीर–गनः– विसं १९५३ मा गेहेन्द्र शमशेरले अर्को दुई नाले तोप पनि बनाए । यसलाई उनले आफ्नो पिता वीर शमशेरको नामसंग जोडेर ‘वीर–गन’ भन्ने नाम दिएका थिए । यसका दुवै नालहरूबाट क्रमशः गोली चलाउन सकिन्थ्यो । यो पनि केही डिग्री घुमाएर प्रहार गर्न सकिने गरी बनाइएको थियो ।

धीर–गन र चार नाले तोपः– आफ्नो बाजे धीर शमशेरको नाममा गेहेन्द्र शमशेरले विकास गरेको यो तोपको बारेमा इतिहासकारहरूले पर्याप्त जानकारी प्राप्त गर्न सकेका त छैनन् । तर पनि त्यस समयमा यो गन पनि गेहेन्द्र शमशेरको महत्वपूर्ण वैज्ञानिक उपलब्धिकै रूपमा रहेको मानिएको छ । यस्तै, उपलब्धिको रूपमा रहेको अर्को एकथरी तोपको बारेमा पनि कमै मात्र जानकारी प्राप्त छन् । तर एउटा उपलब्ध जानकारीअनुसार यो तोपमा जम्मा चारवटा नालहरू थिए ।

मेसिन–गन, गोली, गोला र कार्टिज्सः– गेहेन्द्र शमशेरले मेसिन गन पनि बनाएका थिए र उनले विभिन्नखाले गोली, गोला र कार्टिज्सहरूको पनि निर्माण गरेका थिए ।

फोटोग्राफीः– गेहेन्द्र शमशेर बहुआयामिक प्रतिभा भएका व्यक्ति थिए । संगीत, खेलकुद, चित्रकलादेखि लिएर फोटोग्राफीमा समेत रुचि भएका र तालिम लिएका उनले त्यतिखेरको नेपालका निम्ति नयाँ प्रविधिकै रूपमा रहेको फोटोग्राफीको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु-याएका थिए । यस क्रममा उनले फोटोग्राफीका निम्ति प्रयोग हुने रसायनहरू आफ्नै खर्चमा विदेशबाट मगाएका थिए । यसरी फोटोग्राफीको प्रयोग र विकास गरी उनले थुप्रै फोटोहरू बनाउने काम पनि गरेका थिए ।

यस्ता बहुप्रतिभाशाली नेपाली वैज्ञानिक गेहेन्द्र शमशेरको अन्ततः विसं १९६३ मा ३५ वर्षको अल्प उमेरमै अत्यन्त रहस्यमय ढङ्गले मृत्यु हुन पुग्यो । उनको मृत्युको कारणबारे वास्तविक रहस्य खुल्न नसके पनि प्रधानमन्त्री चन्द्र शमशेरले उनको राजनीतिक र सैन्य प्रभावबाट भयभीत भएर उनको षडयन्त्रपूर्वक हत्या गराएको हुन सक्ने केही इतिहासकारहरूले उल्लेख गरेका छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया