विकास हुन किन सकेन ?
काठमाडौं । कुनै एक क्षेत्रको प्रगति तथा उन्नतिले मात्र विकासलाई बुझाउँदैन । किनभने विकासका विभिन्न अवयव हुन्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता क्षेत्रहरूको स्तरोन्नति गरी समग्र क्षेत्रको समुन्नति हुनुलाई नै विकास भनिन्छ । यस प्रकारले समग्र क्षेत्रको विकासबाट नै देशको विकास भएको हुन्छ । विकास भन्नेबित्तिकै कुनै एक क्षेत्रमा अल्मलिनु हुँदैन र समग्रमा हेरिनुपर्छ । यसको लागि मूलतः राजनीति नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ ।
नीतिमध्ये राजनीति सर्वश्रेष्ठ हो । यही नीतिबाट विकास निर्माणका नीतिसहित अन्य कतिपय क्षेत्रगत नीतिहरू निर्माण गरिन्छन् । तर नेपालमा भने राजनीति नै लथालिङ्ग भएको अवस्था छ । कुनै पनि सरकार स्थिर हुन सकेको देखिँदैन । पटक–पटक सरकार परिवर्तन हुँदा नीतिहरू पनि परिवर्तन भएका हुन्छन् । अस्थिर नीतिले राज्यका सबै क्षेत्रमा असर पारेकै हुन्छ । उद्योगी व्यवसायीहरू नयाँ व्यवसायमा प्रवेश गर्न सक्दैनन् । विदेशी लगानीकर्ताहरू नीति परिवर्तन हुँदैन भन्ने कुरामा विश्वस्त हुन सक्दैनन् । टालटुले नीतिले समग्र आर्थिक प्रणालीमा विश्वासको वातावरण सिर्जना हुन सक्दैन । सरकारप्रति जनतामा विश्वास गर्ने आधारहरूमा क्रमिकरूपमा ह्रास आएको हुन्छ । यस्ता अवयवहरू विकासको लागि अवरोध हुन् । हो अहिले नेपालमा यही भएको छ र विकास हुन सकेको छैन ।
विकास हुन नसक्नुमा राजनीतिको अतिरिक्त अन्य कतिपय कारणहरू पनि हुन सक्छन् । तर मुख्य कारण भनेको राजनीति नै हो । राजनीतिले बाटो बिराएपछि अन्य नीतिहरूले काम गर्न नसक्नुलाई अन्यथा भन्न पनि सकिँदैन ।
विकासको लागि देशमा प्रजातन्त्र ल्याइयो । त्यसपछिको अवधिमा समय समयमा विकासकै लागि राजनीति प्रणाली नै परिवर्तन गरियो । विकासकै लागि भनेर विश्वमा उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याइयो । सरकारको उपस्थिति जनताको घरघरमा पु-याउनका लागि ७५३ वटा स्थानीय सरकारहरू स्थापना गरिए । तीन तहका सरकार गठन गरिए तर जनताको जीवनस्तरमा खासै सुधार आउन सकेन । अहिले पनि शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकता जनताका पहुँचभन्दा बाहिर छन् । गरिब र धनीेबीच ठूलो खाडल बन्दै गएको अवस्था छ । त्यसैले गर्दा नेपालको सम्पत्ति विदेशी बैंकमा थुप्रिएको खबर छापामा आइरहेका छन् । यसबारे राजनीतिले खोजतलास गरेर कारबाही गर्नुपर्ने हो भएको देखिँदैन । सत्तामा कसरी पुग्ने र टिकिरहने भन्नेमा नै राजनीतिको लक्ष्य भएपछि देशको कसरी विकास हुन सक्छ र ? विकासकै लागि भनेर राज्यले ठूलो ऋण लिएको छ । अहिले २३ खर्बभन्दा बढी ऋण पुगिसकेको छ । प्रत्येक नेपालीको टाउकोमा ८० हजार ऋणभार छ । त्यस्तै, किसिमले जनताकै सुविधाका लागि भनी विदेशी मित्रराष्ट्रहरूबाट अनुदान प्राप्त भइरहेको छ । यतिले नपुगेर विभिन्न देशहरूले नै आयोजना निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण पनि गर्दै आएका छन् । यद्यपि, विकासले बाटो लिन सकेको छैन र नेपाली जनताले कष्टकर जीवन बिताइरहनु परेको छ । विकासकै लागि जनताले राज्यलाई कर तिर्दै आएका छन् । प्रत्येक वर्ष खर्बौंको कर राज्यले उठाउँछ । आर्थिक वर्ष ०८०/८१ मा नै १२ खर्बभन्दा बढीको राजस्व उठाउने लक्ष्य रहेको देखिन्छ । यो लक्ष्य हासिल गर्ने भनेको जनताले राज्यलाई कर तिर्ने हो । जेजस्तो गरेर भए पनि राज्यले कर उठाएकै हुन्छ । जनताले कर तिरेकै हुन्छन् । यसरी जनताले कर तिर्ने तर विकास भने नभएको अहिलेको यथार्थ हो ।
विकासको लागि सबैभन्दा ठूलो आधारभूत आवश्यकता भनेको पुँजी हो । पुँजीले नै अन्य अवयवहरूलाई चलायमान बनाउने हो । पुँजीका अतिरिक्त हामीसँग आवश्यक पर्ने जनशक्ति पनि नभएको होइन । विकास निर्माण कार्य सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू पनि खडा नभएका होइनन् । त्यस्तैगरी विकासको लागि चाहिने ऐन कानुन एवम् नियमहरूको पनि कुनै अभाव देखिँदैनन् । यसरी सबैकुरा उपलब्ध हुँदाहुँदै पनि विकास हुन नसकेकोमा सबैको लागि चिन्ताको विषय भएको छ ।
भनिन्छ, राजनीतिमा अपराधीकरण र अपराधीकरणमा राजनीति घुलमिल भएपछि राज्यका महत्वपूर्ण क्षेत्रहरू सबै ओझेलमा पर्छन् । यो कुरो अहिले सत्य सावित भइसकेको देखिन्छ । राजनीतिको संरक्षण पाएपछि ठूलाठूला जघन्य अपराधीहरूले पनि छुटकारा पाइरहेका छन् । अदालतबाट दोषी प्रमाणित भई जेल सजाय पाएकालाई पनि छुटकारा दिने कार्य पनि राजनीतिकर्ताबाटै भइआएको छ । यसरी राजनीतिले जे काम गर्नुपर्ने थियो त्यो नगर्ने र जे नगर्नु थियो त्यो गर्दा जनताले दुःख पाउने नै भए ।
जनताको जीवनस्तरमा सुविधा पु-याउन स्थापना गरिएका स्थानीय सरकारहरू नै जनतालाई सेवा उपलब्ध गराउनुको सट्टा भ्रष्टाचारमा लिप्त हुँदा विकासले गति लिन नसक्नु स्वाभाविकै होला । मुख्य कारक तत्व भनेको भ्रष्टाचार नै हो । विकास निर्माणको लागि भनेर बजेट विनियोजन गर्ने तर अधिकांश बजेट भ्रष्टाचारमा जाने भएको हुँदा देशमा विकास हुन नसकेको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन ।
देशमा अचाक्ली भ्रष्टाचार बढ्दै गएको छ । भ्रष्टाचार नभएको कुनै क्षेत्रै छैन । ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणजस्ता हालै घटेका घटनाहरूले नेपालमा भएका भ्रष्टाचारले अन्तर्राष्ट्रिय जगतसमेत परिचित भएको अवस्था छ । यस्ता भ्रष्टाचारका काण्डहरूले विदेशी मित्र राष्ट्रबाट उपलब्ध हुने विभिन्न प्रकारका सहयोगहरूमा समेत प्रतिकूल प्रभाव पर्दै गएको अनुभव अहिले गरिन थालिएको छ । विगतमा आशलाग्दो अनुदान उपलब्ध हुँदै आइरहेकोमा अहिले त्यो खुम्चिँदै गएको अवस्था छ । यसरी विदेशी मुलुकहरूले नपत्याउने हो भने अबका दिनमा विकासको गति झनै खस्किँदै जानेछ ।
आश्चर्य लाग्दो कुरा के छ भने बजेट तर्जुमा गर्दाको अवस्थादेखि नै स्वार्थ लुकेको देखिन्छ । आवश्यक भएका ठाउँमा उपयुक्त योजना तर्जुमा गरिँदैनन् र अनुपयुक्त ठाउँमा पहुँच र शक्तिको आधारमा योजना तथा बजेट पु-याइएको हुन्छ । यस्ता योजना तथा कार्यक्रमबाट न त जनताका आवश्यकता पूरा हुन सक्छन् न त सीमित स्रोत साधनको नै अधिकतम उपलब्धि हुने गरी प्रयोग भएका देखिन्छन् । यसरी देशको सीमित स्रोत साधन बालुवामा पानी हालेसरह हुन गएको छ ।
सरकारको अक्षमताको कारणले गर्दा विनियोजित पुँजीगत बजेट पनि खर्च हुन सकेको छैन । जहाँ पुँजीगत बजेट खर्च हुँदैन त्यहाँ विकास हुने कुरै भएन । त्यस्तै, कतिपय योजनाको लागि आवश्यक बजेट नभएर त्यसै अलपत्र भएका पनि देखिन्छन् । यसरी विकासले कुनै निश्चित बाटो लिन नसकेको हुनाले नै गन्तव्यहीन भएको अहिलेको अवस्था हो ।
विकास निरन्तर चलिरहने प्रक्रिया भए पनि नेपालमा विकासका गतिविधि अवरुद्ध भएका देखिन्छन् । विकासका लागि योजनाबद्ध विकास प्रक्रिया थालनी भयो । २०१३ सालदेखि विभिन्न आवधिक योजनाहरू सञ्चालन भए र अहिले हामी १५ औँ योजना सम्पन्न गरी १६ औँ योजना तर्जुमाको प्रारम्भिक चरणमा प्रवेश गरेका छौँ । जनताको घरदैलोमा सेवा र विकास पु-याउनका लागि राजनीतिक संरचना तथा प्रशासनिक संगठनहरू निर्माण पनि भएका छन् । तर पनि न त राजनीतिले विकासलाई गतिदिन सकेको छ न त प्रशासन नै चुस्त र दुरुस्त हुन सकेको छ । विकासको मेरुदण्डको रूपमा रहेका राजनीति र प्रशासनले ध्यान नदिएपछि विकास अघि बढ्न सक्ने कुरै भएन । त्यसकारण देश विकास हुन अझै लामो समय नेपाली जनताले कुर्नैपर्ने अवस्था सिर्जना हुँदै गएको देखिन्छ ।
विकास किन हुन सकेन भन्ने सन्दर्भमा विभिन्न कारण औँल्याउन सकिने भए पनि मुख्य कारण भनेको राजनीति नै हो । राजनीति जति स्वच्छ र जनमुखी हुन सक्छ त्यतिकै मात्रामा विकास अघि बढ्न सक्छ । नेपालको राजनीति यसतर्फ अघि बढ्न नसकेको हुनाले नै जनता गरिब बन्दै गएका छन् । यही गरिबीले गर्दा युवा जनशक्ति विदेश पलायन भइरहेको छ । स्वदेशमा उत्पादनशील जनशक्तिको खाँचो भइरहँदा रहँदै पनि युवा जनशक्तिलाई विदेश पलायन हुन जुन प्रोत्साहन हुँदै आएको छ, त्यो नै दुःख लाग्दो कुरो हो । स्वदेशको उत्पादनशील जनशक्तिलाई स्वदेशमै बस्न सक्ने गरी आकर्षणका उत्पादनशील कार्यक्रम ल्याएर आन्तरिक उत्पादनमा वृद्धि गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनु नै आजको आवश्यकता हो । त्यसकारण विकास किन हुन सकेन भन्ने सन्दर्भमा विभिन्न दृष्टिकोणबाट बहस गरी आवश्यक उपाय अवलम्बन गरिनुपर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया