Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रतिस्पर्धा गर्न सक्षम जनशक्ति कसरी ?

प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति कसरी ?


काठमाडौं । सरकारले सञ्चालनमा रहेका र गर्भमा रहेको नौभन्दा बढी विश्वविद्यालयलाई विशेषतः साधारण विषयलाई व्यवस्थित गरी थप प्राविधिक विश्वविद्यालय खोल्दै जानुपर्ने देशलाई आवश्यक छ। सरकारले साधारण विषयका नेपालगञ्ज विश्वविद्यालय र जनकपुरमा राजर्षि जनक विश्वबिधालय खोल्ने कारबाही सुरु गरिसकेको छ । तर, त्रिविका भार कम गर्ने भन्दै एउटा–दुईटा गर्दै साधारण विषयका नौ विश्वविद्यालय भइसकेका छन् । साधारण विषयको विश्वविद्यालयहरू खोल्नुभन्दा प्राविधिज्ञ विषयका विश्वद्यिालयहरू देशको लागि आवश्यक देखिएको छ । साधारण विश्वविद्यालयको संख्या बढाउनुभन्दा यस्ता विश्वविद्यालयहरूलाई व्यवस्थित गर्दै लग्नु समयको माग भएको देखिन्छ । साधारण विश्वविद्यालयहरू व्यवस्थित गर्ने कार्यमा विश्वविद्यालय अनुदान आयोगले अनुदान दिने कार्यमा अल्मलिनुभन्दा सञ्चालित विश्वविद्यालयहरू व्यवस्थित पार्न आयोगलाई जिम्मा दिइनुपर्छ । साधारण विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अधिकांश वर्ष सुचारु हुन नसक्दा अस्तव्यस्त रहेका कारण अनुदान कार्यमा सीमित नभई रुग्ण विश्वविद्यालयलाई अनुगमन र व्यवस्थित लग्दै जाने कार्य पनि विश्वविद्यालय अनुदान आयोगले गर्दै जानु पर्छ । बजारमुखी, प्राविधिक तथा उत्पादनशील विषय र कार्यक्रमहरू नरहेकाले बेरोजगारमुखी शिक्षा बन्दै गएको बताइन्छ ।

साधारण विश्वविद्यालयहरूलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोका रूपमा चित्रण गरे पनि अहिलेको विश्व बजारको प्रतिस्पर्धात्मक जनशक्तको माग अनुरूप नयाँनयाँ विषय समावेश गर्नुपर्ने साथै देशभित्र भएका बहुराष्ट्रिय कम्पनीहरू तथा नेपाली कम्पनीलाई आवश्यक जनशक्ति सर्वेक्षणपश्चात् सोहीअनुरूप विश्वविद्यालयहरूका कार्यक्रम तय गर्नुपर्ने आवश्यक देखिन्छ । आयोगलाई आवश्यक पूर्ण अधिकार दिने, विश्वविद्यालय छाता ऐनको प्रक्रिया अघि बढाउनुको सट्टा शिक्षा मन्त्रालयले नै साधारण विश्वविद्यालयका अरू विश्वविद्यालयहरू खोल्दै जाने प्रथा देखिँदै आएको छ । चालू रहेका साधारण विश्वविद्यालयहरूका अगाडि बढाउने निर्णयहरू अधिकांश कार्यान्वयन नभएकाले आयोगलाई यस्ता निर्णयहरू कार्यान्वयन गर्ने जिम्मा दिइनुपर्छ ।

उच्च शिक्षा नीति आएपछि मात्र विश्वविद्यालयहरू खोल्दै जानुपर्ने भनाइ राखिएको छ । संविधानमा विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिने उल्लेख छ । यस्तो अवस्थामा नयाँ विश्वविद्यालय खोल्नु राजनीतिक शक्तिको दुरूपयोग हृदय रोग जस्तो भएको भनाइ आएको छ ।

विश्वविद्यालयका विकृत रूपहरू
विभिन्न विश्वविद्यालयका विभिन्न समयका पदाधिकारीहरूको कार्यकालमा आएका योजना–कार्यक्रमहरूमा आर्थिक अनियमितता भएका खबर बाहिर देखिँदै आएको छ । खरिद नियमसमेत मिचेर विनाटेन्डर काम गराएको पाइएको छ । योजनाहरू कार्यान्वयन गर्न सार्वजनिक टेन्डर आह्वान गर्नुपर्छ । विगतमा विश्वविद्यालयभित्र विकृतिको पराकाष्ठा यतिसम्म हुन पुग्यो कि परिवार नियोजनको साधन ढाल कुनै बेला खरिदको बिल पेस हुन गएको खबर बाहिर आएको थियो ।

विभिन्न समयमा विभिन्न विश्वविद्यालय तालाबन्दी र विरोधका घेरामा परिआएको देखिन्छ । विश्वविद्यालयहरूमा पदाधिकारी रिक्त हुँदा समयमा नै नियुक्ति नभई विश्वविद्यालयका गतिविधिहरूमा असर परिआएको देखिन्छ । बाहिर पत्रिकामा यस्ता नियुक्तिहरू राजनीतिक भागबण्डाका आधारमा चयन गरिआएको देखिए पनि नियुक्ति भई आएका यस्ता पदाधिकारी त्यसो नभएको बताउँछन् । त्रिविलगायत अरू विश्वविद्यालयहरूका समयावधिअनुसारका दीक्षान्त समारोहहरू विभिन्न आन्तरिक खिचातानी र लगातारका बन्द–आन्दोलनजस्ता कार्यक्रमहरूका कारण समयमा नै दीक्षान्त समारोहरू बेलाबेलामा भएका देखिँदैनन् ।

बौद्ध दर्शनको व्याख्या र चरित्र निर्माण शिक्षा प्रदान गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा डेढ दशकअघि स्थापना भएको विश्वविद्यालय अभाव–अभावमै बितेको देखिन्छ । भौतिक, शैक्षिक र प्रशासनिक समस्याबाट विश्वविद्यालय ग्रसित छ । यसको ऐनमा यस्को सञ्चालन गर्न जनस्तरमा हुनुपर्नेमा राज्य नै संलग्न भएकाले यस्तो अवस्था हुन आएको बताइन्छ । संसारका बौद्धमार्गीलाई समेट्ने गरी थेरावाद, महायान, बज्रयान, बौद्ध इतिहास, कला, पुरातत्व, हिमाली बौद्ध मार्ग, पर्यटन तथा पथप्रर्दशनलगायत १४ विभागमा पढाउने शैक्षिक योजना भए पनि अलपत्र अवस्थामा छ । शिक्षणको अतिरिक्त मनोशान्तिका लागि विपश्यना, सामाजिक काम, जनचेतनामूलक सेवा र शारीरिक अभ्यासलाई पनि जोड दिइएकाले यो विश्वविद्यालय विश्वस्तरमा चल्ने भए पनि किन ढिलाइ भयो र साधारण शिक्षाका थप विश्वविद्यालय थपिँदै गए ? यस विश्वविद्यालयका राजधानीमा केही आंगिक क्याम्पससहित लुम्बिनीमा स्नातकोतर र विद्यावारिधि तहमा एप्लाइड थेरावाद, महायान, हिमालय तथा बुद्ध र शान्ति विषय पढाइने गरेको बताइन्छ । स्मरण गराइन्छ कि २०५५ सालमा लुम्बिनीमा सम्पन्न प्रथम विश्व बौद्ध सम्मेलनले लुम्बिनीमा दुई वर्षभित्र लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव पारित गरिएको थियो । छ वर्षसम्म यसतर्फ विचार नगरिएको भए पनि दोस्रो विश्व बौद्ध सम्मेलन सुरु हुन एक दिनअघि २०६१ मा अध्यादेशमार्फत यसको स्थापना गरिएको थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानबीच लामो समयको चल्दै आएको अन्तरिम आदेशको विवाद, स्वामित्वको र अन्य विवादले अध्ययनरत विद्यार्थी अन्यौलमा देखिएका थिए । तर, लामो समयपछि यो विश्वविद्यालयले लय लिएको छ । सरकारले २०६७ सालमा कृषि तथा वन विश्वविद्यालय ऐन पारित गरेर कृषि तथा वन विश्वविद्यालय स्थापना गरेको हो । ऐन पारित गरेर स्थापना गरिएको विश्वविद्यालयको अस्तित्वलाई अस्वीकार गर्दै त्रिविले स्वामित्व हस्तान्तरण विषयमा अवरोध सिर्जना गर्दै आएको थियो । तर, अब भाइ विश्वविद्यालयजस्तो भएको छ । सरकारले हेटौंडास्थित संस्थानलाई नै कृषि तथा वन विश्वविद्यालय बनाउने निर्णय गरेपछि त्रिविअन्तर्गतको वन विज्ञान क्याम्पसमा नै धरापमा परेको थियो भनियो ।

यस्ता कैयौँ विकृतिका बाबजुत सबै विश्वविद्यालयहरू गुज्रे पनि पदाधिकारीहरू विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउने घोषणा गर्दै आएका छन् ।

त्रिवि विशेष : त्रिवि ६७ वर्ष पुरानो छ तर यस विश्वविद्यालयको भवन विल्कुलै नयाँ भए पनि २०७२ को विनाशकारी भूकम्पले आठ करोड रुपैभन्दा बढीको भवन संरचना ध्वस्त भएको बताइएको थियो । यस विश्वविद्यालयका ६० बढी आंगिक क्याम्पसको व्यवस्थापन, नौ सय ३१ बढी सम्बन्धनप्राप्त क्याम्पसको अनुगमन, करिब १५-२० हजार शिक्षक तथा कर्मचारीको व्यवस्थापन, लाखौँ विद्यार्थीको पठनपाठन, परीक्षा नतिजा प्रकाशन, समयसापेक्ष पाठ्यक्रम नवीकरण तथा परिमार्जन, समग्र देशको भौगोलिक तथा प्राकृतिक तथा जैविक विविधताको अभीकरण र प्राविधिक कर्मचारीको बन्दोबस्तसहितका संरक्षण, प्राकृतिक स्रोत–साधनको उचित व्यवस्थापन र आनुवंशिक प्रविधिजस्ता विषयको पठनपाठनमा जनशक्तिको अभाव, प्राविधिक ज्ञान र प्रभावकारी प्रविधि क्षमताको विकास आदिआदि त्रिविका समयसापेक्ष चुनौती देखिन्छन् । अचम्मको कुरा के छ भने त्रिविले क्याम्पस सञ्चालन सम्बन्धन दिन थालेको वर्ष आधा सय पुगेको बताइन्छ । यसरी सम्बन्धन पाएका क्याम्पसको संख्या एक हजार ८४ बढी पुगेको छ । सम्बन्धन नीति पनि पछि आयो । भनिन्छ, हर क्षेत्रमा नीति विनियम नहुँदा अस्तव्यस्त भएको देखिन्छ । विसं १९७५ मा कलकता विश्वविद्यालय र त्यसपछि पटना विश्वविद्यालयको समेत स्वीकृतिमा त्रिचन्द्र कलेज स्थापना गरिएको थियो । त्रिवि स्थापना हुनुअघि १६ निजी कलेजहरू सुचारु थिए । तिनै कलेजहरूलाई लिएर २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको हो ।

समयानुसार देशभित्र र बाहिरका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न त्रिविले २०७१ श्रावणदेखि अर्थात् सन् २०१५ देखि सबै यसका साधारण विषयका क्याम्पसहरूमा सेमेस्टर प्रणाली लागू गर्ने भनिए पनि कीर्तिपुरस्थित केन्द्रीय विभागहरूमा त्यसै बेलादेखि पठन–पाठनमा सेमेस्टर प्रणाली प्रयोगमा आएको थियो । तर अब त्रिविको साधारण शिक्षाको अध्यापन सेमेस्टर प्रणालीमा विश्वस्तरमा उत्कृष्ट भएर बसेको छ । यसरी व्यवस्थापन कमीका कारण केन्द्रीय विभाग र कीर्तिपुरबाहिरका एउटै तहका विद्यार्थीले वार्षिक र सेमेस्टर प्रणालीको पाठ्यक्रमका आधारमा परीक्षा दिइआएका छन् । तर, अब सेमेस्टर प्रणाली सर्वत्र छाएको छ ।

सुझाव तथा आवश्यक कदम
विश्वविद्यालयहरूमा आवश्यकतानुसार विश्व बजारमा बिकाउ र टिकाउका लागि नयाँ विषयको चयन हुँदै आउनुपर्ने देखिन्छ । देशको उच्च शिक्षामा औपचारिक र संस्थागत विकासको थालनी गर्ने र विश्वविद्यालयका गुणस्तरमा जोड दिनपर्ने देखिन्छ । विश्वविद्यालय विश्वमै आफ्नो विशिष्ट स्थान राख्नेगरी प्रतिस्पर्धी र गुणात्मकरूपमा रहन प्रयत्न गर्न पर्ने देखिन्छ । देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपान्तरण शिक्षाबाट मात्र सम्भव हुने भएकाले सोही अनुरूपमा देशका विश्वविद्यालयहरूलाई ढाल्ने कार्य गर्न आवश्यक छ । प्राज्ञिक कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव संशाधन बजार प्रतिस्पर्धा गर्न सक्षम बनाउन लग्नुपर्ने देखिन्छ । वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी पठन–पाठन र परीक्षा प्रणालीलाई सुनिश्चित गर्ने प्रतिबद्धता र कायम गर्न सक्नुपर्छ । विश्वविद्यालयका शिक्षक, कर्मचारीको अनियमितता र अनुपस्थिति एउटा प्रमुख समस्याको रूपमा रहेको अवस्थामा यसलाई व्यवस्थित गर्दै लग्न नितान्त आवश्यक देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया