Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफूलमा रमाउने, पैसा कमाउने

फूलमा रमाउने, पैसा कमाउने


काठमाडौं । भर्खरै फूलको पर्व तिहार सकिएको छ । नेपालीहरूले सबैभन्दा धेरै फूल तिहारको बेलामा खरिद गर्छन् । अर्थात् तिहारको बेलामा सबैभन्दा धेरै फूलको खरिदबिक्री हुन्छ । सबैलाई थाहा नै छ, तिहारलाई फूलको चाड पनि भनिन्छ । वास्तवमा तिहारमा फूलको अत्यधिक मात्रामा प्रयोग गरिन्छ । त्यसैले फूलको माग धेरै भएको हो ।

तिहारमा मानिसहरूले मात्र होइन कि पशुपन्छी, झ्याल, ढोकादेखि गाग्रा, खड्कुलासम्ममा माला लगाइन्छ । यसरी माला लगाउनको लागि कतिपयले फूल किनेर आफैँ माला बनाउँछन् भने कतिपयले तयारी माला किलेर यो पर्व मनाएका छन् । अझ तिहारमा काग, कुकुर, गाई, गोरु, लक्ष्मी, झ्याल ढोका समेत सबै पुजिने हुँदा फूलको माग र बजार यसले पनि बढाउने गरेको छ । त्यसैले पनि यही पर्वका कारण फूल खेती गरेर आफ्नो गुजारा चलाउनेहरूको संख्या पनि धेरै देख्ने गरिन्छ ।

बजारमा फूलका थुङ्गा र माला किन्दै गर्दा, घरमा बसेर फूलका माला उन्दै गर्दा, फूल उत्पादन, व्यवसाय, र कारोबारबारे केही लेख्ने सोच पैदा भएकाले यो आलेखमा पूmल र यसको व्यापारको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

केही वर्षयता नेपाल फूलमा आत्मनिर्भर हुने कोसिसमा छ । व्यावसायिक फूल उत्पादनमा पनि लगानी भइरहेको छ । नेपाली फूलको उत्पादन पनि बढिरहेको छ । बाहिरबाट आउने खासगरी भारतबाट आयात हुने फूलमा रोक लगाउनुपर्ने माग पनि बढिरहेको छ । प्लास्टिकका फूलको पैठारी, उत्पादन तथा प्रयोगमा रोकावटको माग पनि उठिरहेको छ । कतिपय पालिकाले स्थानीय फूलको उत्पादन र बजार बढाउन स्वागत सम्मानमा खादा नलगाउने त्यसको बदलामा फूलको माला मात्र प्रयोग गर्ने नीति बनाएर त्यसलाई व्यवहारमा लागू पनि गरेका छन् । यसको उद्देश्य नेपाली फूल उत्पादक किसानलाई प्रोत्साहन गर्नु हो । उनीहरूको फूल बजार र आत्मविश्वास बढाउनु हो ।

सधै जसरी यसपालिको तिहारमा पनि सयपत्री र मखमली फूलकै माग बढेको थियो । यो स्वाभाविक हो । किनभने तिहारमा दाजुभाइलाई दिदीबहिनीले प्रायः मखमली र सयपत्री फूलकै माला लगाइदिन्छन् । अहिले नेपालमा उत्पादित सयपत्री फूलले आन्तरिक बजारको माग ग्रामीण क्षेत्रमा शत प्रतिशत र सहरी क्षेत्रमा ८० प्रतिशत पूरा भएको पाइएको अवस्था हो । मखमली फूलको माला भने आन्तरिक माग पूरा गरेर निर्यात गर्न समेत सफल भएको छ । नेपालमा सयपत्री फूलको उत्पादनले आन्तरिक माग पूरा गर्नेतिर अग्रसर हुनु सकारात्मक कुरा हो, जुन उत्साहजनक कुरा हो । तर अर्कोपाटो निराशजनक पनि छ । त्यो भनेको नेपालमा परम्परादेखि फूल्दै आएको रैथाने सयपत्री फूल भने लोपोन्मुख अवस्थामा छ । अहिले बजारमा आएको सयपत्री फूल भारतबाट ल्याइएको हाइब्रिड फूलको बिऊ हो । जो धेरै फूल्ने र बाह्रैमास फुल्ने गर्छ । व्यावसायिक हिसाबले यो फूलको खेतीबाट फाइदा हुने भएकाले किसान र व्यावसायी समेत यसैको खेतीतिर आकर्षित भएको पाइएको देखिन्छ ।

नेपालको रैथाने सयपत्री फूल लगभग लोप हुने अवस्थामा छ भनेर यो फूलका विज्ञहरूले बताउने थालेका छन् । यो चिन्ताको विषय हो । यदि कुनै रैथाने बिरुवा लोप भयो भने सदाको लागि अप्राप्य हुन्छ । यस्ता रैथाने फूल जोगाउन विशेष ध्यान दिनुपर्छ । नेपालको रैथाने सयपत्री फूलको थुंगा ठूूलो हुन्छ र यो टिकाउ पनि हुन्छ । विश्वभरमा सयपत्री फूलका पचास प्रजाति छन् भने नेपालमा पन्ध्र प्रजातिका पाइन्छन् । यी सबै लोप हुने खतरामा छन् ।

गत वर्ष नेपालमा तिहारको बेलामा लगभग ३८ लाख माला खपत भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनको अनुमान थियो । उसका अनुसार वर्षेनि दुई लाखदेखि तीन लाखसम्म मालाको खपत बढ्ने गरेको हिसाबले यो साल ४० लाख पचास हजार माला खपत भएको हुनुपर्छ । यो संख्या सयपत्री, गोदावारी, मखमली र मिश्रित सबै मालाको संख्याको अनुमानित गणना हो ।

यो साल तिहारमा सयपत्री र मखमली र अन्य फूलका मालाहरूको लगभग ३२ करोड जतिका मालाको कारोबार भएको अनुमान फ्लोरिकल्चर एसोसिएसनको छ । यो बढ्दै जान्छ भन्ने अनुमान छ । नेपालमा केही वर्षयता फूल खेतीप्रति मानिसहरूको आकर्षण बढिरहेको छ । अरू खेतीभन्दा यो खेती सजिलो र बजारको समस्या पनि नहुने भएकाले यस व्यवसायमा किसान तथा व्यवसायीहरूको आकर्षण बढेको हो । हरेक वर्ष नेपालमा फूल खेतीको क्षेत्र बढिरहेको छ । क्षेत्र, उत्पादन र कारोबार सबै बढिरहेको छ । नेपालका ४८ जिल्लामा दुई सय २१ हेक्टरमा फूलको खेती गरिएको छ । प्रदेश सरकार र स्थानीय सरकारले पनि फूल खेतीमा प्रोत्साहन गरेको हुनाले पनि यसको फैलावट र उत्पादन बढ्न सकेको हो ।

फ्लोरिकल्चर एसोसियसनका अनुसार सयपत्री फूलको व्यावसायिक उत्पादन सातै प्रदेशका अनेक जिल्लामा भएको छ । उसले दिएको विवरणअनुसार यसपालि सयपत्री फूलको उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, धनुषा, सप्तरी, कास्की, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली आदिमा भएको छ । फूलखेतीमा लगभग ४५ हजार जनशक्तिले काम पाएका छन् । यसमा एक हजारभन्दा बढी व्यवसायी संलग्न भएका छन् ।

नेपालमा फूलको कारोबार हरेक वर्ष बढिरहेको छ । आर्थिक वर्ष ७८/७९मा नेपालमा तीस प्रतिशत फूलको व्यवसायमा वृद्धि भएर फूलको कारोबार दुई अर्ब तीस करोड पुगेको थियो । आर्थिक वर्ष ७९/८० मा कारोबारमा ३३ प्रतिशतभन्दा बढी थियो । जुन अघिल्लो आर्थिक वर्षको फूलको कारोबारभन्दा तीन अर्ब १० करोडभन्दा बढी थियो । यही अनुपातमा कारोबार बढ्ने विश्लेषण गरेर चालू आर्थिक वर्ष ८०/८१मा चार अर्ब रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ ।

भन्सार विभागको विवरणअनुसार नेपालमा गत आर्थिक वर्षमा ३३ करोड रुपैयाँ बराबरको फूल आयात भएको थियो भने ६८ लाख बराबरको फूल निर्यात भएको थियो । आयात निर्यातको हिसाबले फूलमा घाटाको व्यापार देखिए पनि समग्र कारोबारमा आन्तरिक उत्पादनले ठूलो मात्रामा आन्तरिक माग धानिरहेको देखिएकाले यसलाई सकारात्मकरूपमा लिएर फूलको उत्पादन बढाउँदै फूलमा आत्मनिर्भर भएर निर्यातमुलक बनाउने योजना बनाउनुपर्छ ।

धनगढी उपमहानगरपालिकाले प्लास्टिकका फूलहरूको उत्पादन तथा बिक्री वितरणलाई पूर्णरूपमा उपमहानगरपालिकाभित्र किनबेचमा प्रतिबन्ध लगाएको छ । फूलको अभाव हुन नदिन र किसानको आय बढाउन फूल उत्पादनमा किसानलाई तालिमलगायत अन्य सहयोग दिएकाले धेरै किसानहरू फूल खेतीतिर आकर्षित भएका छन् र उत्पादन बढाउदै लगेका छन् । उदाहरणका लागि यो वर्ष जम्मा दुई कठ्ठामा फूलको खेती गरेका किसान प्रतापसिंह बिष्टले फूलको सहज बिक्रीबाट हौसिएर अर्को वर्ष दुई बिघामा फूलको खेती गर्ने योजना बनाएका छन् । अर्थात् दुई कठ्ठाबाट बढेर ४० कठ्ठामा पुगेका छन् ।

धनगढी उपमहानगरपालिकाले जस्तै अन्य पालिकाले पनि यस्तै नीति लिएमा फूलमा आत्मनिर्भर हुनुको साथै किसान तथा पूmल व्यवसायीको आम्दानी बढेर जाने थियो । यसपालि कामनपाले पनि तिहारमा प्लास्टिकका फूल उत्पादनमा प्रतिबन्ध लगाएको छ, जुन सकारात्मक उदाहरण हो । तर कामनपाले कामनपाभित्र नेपाली फूलमाला बेच्न दिने नीति अव्यावहारिक देखियो । यसमा कामनमपा अलिक लचिलो र व्यावहारिक हुनुपर्छ । बिक्री केन्द्र बढाउने र बेलैमा सूचना दिने गर्नुपर्छ । अरू धेरै स्थानीय निकायले पनि फूल उत्पादन बढाएका र प्लास्टिक फूलमा प्रतिबन्ध लगाएका समाचार बढिरहेका छन् । यसले फूल संसारको लागि राम्रो संकेत हो ।

तर सरकारले भारतबाट फूल ल्याउन नरोकेर नेपाली किसानमाथि घात गरेको छ । यो नीति सरकारको नेपाली फूल उत्पादक किसान तथा व्यवसायीमाथि लात पनि हो । भारतमा किसानलाई उत्पादनमा अनुदान दिन्छ । त्यसैले नेपालको भन्दा उता सस्तो हुन्छ । यसले गर्दा नेपाली उत्पादन भारतीय उत्पादनभन्दा महँगो भएर बिक्दैन । सरकार नेपाली उत्पादको हितमा उभिनुपर्छ । भारतबाट फूल ल्याउन रोक्नुपर्छ । यसपालि पनि भारतीय फूलको कारणले गर्दा धेरै ठाउँमा नेपालका फूल नबिकेर धेरैले सडकमा फालेका समाचार आएका छन् । यो नेपाली किसानको लागि राम्रो होइन । यो देखेर किसान हच्किएर फूल उत्पादनमा लागेनन् भने नेपालको फूलको बजार पूरै भारतको कब्जामा जान सक्छ ।

स्नातकसम्म अध्यायन गरेका कैलाली टीकापुर नगरपालिका दक्षिणपूर्व वनगाउँका ४५ वर्षीय सीताराम चौधरीले २०७४ सालदेखि फूल उत्पादको व्यवसाय सुरु गरेका हुन् । सुरुमा १० कठ्ठबाट फूल उत्पादन गर्न सुरु गरेका चौधरीले अहिले एकबिघा पाँच कठ्ठामा फूलखेती गरेका छन् । उनले आफ्नो फूलको व्यावसायिक कम्पनी इन्द्रेणी पुष्पालयलमा स्थानीय १५ जनाले तालिमपछि रोजगारी पनि पाएका छन् । फूल खेतीबाट एक सिजनमा सात लाखसम्मको आम्दानी लिन सीताराम सफल भएका छन् । गत साल तिहारमा उनले एकैदिनमा पाँच लाखका फूल बेचेका थिए ।

खोजी गरेमा फूलमा रमाउने र कमाउने यस्ता धेरै सीतारामहरू भेटिन्छन् । तपाईं पनि फूलमा रमाउने र कमाउने पेशा व्यवसाय लिने हो कि ? सबै जातको फूलबारीलाई साँचो अर्थको कमाउने र रमाउने फूलबारी बनाउने योजना आजैदेखि बनाउने हो कि ? बनाउनुहोस्, कमाउनुहोस् र रमाउनुहोस् । तर सरकारको नीति नेपाली किसानमैत्री हुनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया