Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकैलाशको अनुपम महिमा

कैलाशको अनुपम महिमा


काठमाडौं । संसारकै उचाइमा रहेको मानव बस्तीहरूमध्ये एक ‘स्वर्गभूमि’ हो तिब्बत । तिब्बतको राजधानी लासा बजार, उसको केन्द्रमा रहेको पोतला दरबार, पश्चिममा रहेको विभिन्न नदी, कैलाश पर्वत, मानसरोवर ताल र राक्षस ताल यस ठाउ“को शान र गौरवहरू हुन् । दक्षिणमा हिमालय पर्वत, पश्चिममा काराकोरम हिमशृङ्खला र उत्तरमा कुरू पर्वतले घेरेको यहाँको वातावरण तथा भू–वनावट तथा उचाइको कारण तिब्बत बाँकी विश्वभन्दा छुट्टै अर्को भू–भागको रूपमा देखिन्छ । विश्वको धेरै हिमशृङ्खलाहरूलाई आफ्नो छातीमा राख्न कैलाश पर्वत सफल भएको पाइन्छ । कैलाश पर्वतको हिउँ पग्लेर दुई विशाल ताल मानसरोवर र राक्षस ताल बनेको छ । कैलाश पर्वतको चार दिशामा चारवटा महत्वपूर्ण गुम्बाहरू पर्छन् । ती हुन्; सेरालुङ्ग गुम्बा, छुक्कु गुम्बा, गौतम गुम्बा र छिउ गुम्बा कैलाश पर्वतको चारै दिशामा प्रसिद्ध नदीहरू यहीबाट बग्छन् । जस्तै, ब्रह्मपुत्र, सिन्धु, सतलज, ह्वाङ हो, याङसे र कणाली ।

मानसरोवर ताल तिब्बतमा रहेको सनातनीहरूको हिन्दु, बुद्ध, जैन र बोन धर्मको धार्मिक आस्थाको ताल हो । संस्कृत भाषामा मानस सरोवर तिब्बती भाषामा मापाम युम शो नामले चिनिने यो ताल समुन्द्र सतहबाट करिब ४५९० मिटरको उचाइमा अवस्थित छ । यस तालको पश्चिममा राक्षस ताल रहेको छ । मानसरोवर ताललाई विश्वको सबैभन्दा ठूलो शुद्ध पिउने पानीको स्रोतहरूमध्ये एक ताल मानिन्छ ।

मानसरोवर र कैलाश पर्वतको पश्चिममा अवस्थित ऐतिहासिक महत्वको ताल राक्षस ताल कर्णाली नदीको उद्गम स्थल हो । जुन नदी यो राक्षस तालको उत्तर पश्चिम कुनाबाट निस्कन्छ । यो नदी नै नेपालको पश्चिममा बग्ने कर्णाली नदी हो । यस नदीको किनारामा कुनै मठ मन्दिर छैन । मानसरोवरको नजिकै रहेर पनि धार्मिक आस्थाले यहाँ पुग्ने पर्यटक निकै कम हुन्छन् । संस्कृतमा राक्षस तालको अर्थ दिने गरी नामाकरण गरिएको यस ताललाई हिन्दु धर्मग्रन्थहरूमा वर्णित दश टाउका भएको लंकाको राजा रावणले महादेवको घोर तपस्या गरेको स्थानको रूपमा लिने गरिन्छ । बौद्ध धर्ममा भने गोलाकार मानसरोवर र अर्धचन्द्राकार राक्षस ताललाई क्रमशः उज्यालो र अध्यारो पक्ष मानिन्छ । सफा पानी पाइने मानसरोवरको नजिकै रहेर पनि यस तालको पानीमा कुनै पनि जलचर प्राणी, वनस्पति पाइँदैन । त्यसैले स्थानीय बासिन्दाहरू यसलाई विषालु पानीको ताल भन्ने गर्छन् र कोही पनि नजिक जाँदैनन् ।

सभ्यताको विकास क्रममा हिमवत्खण्ड नेपालको भू–भागमा पथ्र्यो । पूर्वमा ब्रह्मपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश पर्वत र मानसरोवर तथा दक्षिणमा गंगासम्मको भू–भागलाई नै हिमवत्खण्ड भनिन्थ्यो । कुनै समय यी भागहरू नेपालको भू–भाग थियो । बहादुर शाहको समयमा विसं १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि यो कैलाश क्षेत्र पनि नेपालभित्र गाभिई नेपाल राष्ट्रको अभिन्न अंग भयो किनकि यो क्षेत्र जुम्लाद्वारा शासित थियो ।

नेपालद्वारा यो कैलाश क्षेत्र शासित भएको केही समयपछि तिब्बतीहरूले यहाँ विद्रोह गरे । सरदार भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दबाउनुका साथै तिब्बतसम्मको भू–भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा पूर्णरूपले मिलाएको थियो । तिब्बतको ताक्लाकोटबाट उत्तर पश्चिम क्षेत्रमा अत्याधिकरूपमा बसेको नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरू भागहरू पनि नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । हिमवत्खण्ड हिमालको काखमा सिर्जित देवताको कर्मथलो हो । हिमालयको यो क्षेत्र शिवजीको क्रिडास्थल हो । हिमवत्खण्ड नेपाल विश्वको सभ्यता, ज्ञान, विज्ञानको उद्गम भूमि हो । यसको कति महानता र महत्व छ भन्ने कुरा यहाँ छोटकरीमा व्याख्या गरेर सकिँदैन, यो तथ्य इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नुभएको छ । कैलाश मानसरोवरदेखि हिन्द महासागरसम्म जसको राज्य र घर छ, त्यो हिन्दु हो । सभ्यता विकासमा विश्वजगत्मा जेष्ठ हिमालय हो । मानवको जेष्ठ दर्शन हाम्रो दर्शन हो । शक्ति पीठमा स्नान गरेर कैलाश मानसरोवरको पूजा पाठ गर्नेले जिन्दगीमा जानेर वा नजानेर गरेका सबै पापहरू मेटिएर शरीरमा भएका सबै रोगहरूबाट मुक्ति पाइने धार्मिक विश्वास छ । शिवलिङ्ग आकारको पहाडलाई संस्कृतमा कैलाश भनिन्छ । यो नाम ‘केलाश’ शब्दबाट पनि आएको हुन सक्छ जसको अर्थ ‘मणिम’ हो । सनातन धर्ममा ऋषिमुनिहरूको भनाइअनुसार यस पर्वतलाई परम्परागतरूपमा शिवको बासस्थानको रूपमा मान्यता दिइएको छ । यस पर्वतलाई विश्वको नाभी पनि मानिन्छ । कैलाश पर्वत शिवजीको कवच पनि मानिन्छ ।

पौराणिक कथाअनुसार शिवबाहेक ब्रह्मा आदि देवगण, महर्षी, रावण, भस्मासुर आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्रात्रैय आदिले यहाँ तपस्या गरेका थिए । दत्रात्रैय ऋषि हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रह्मद्वारा निर्मित मानसरोवरको दर्शन गराए तथा त्यसको महत्वबारे बताएका थिए ।

स्वयम् शिव र पार्वती पनि राजहंशको भेषमा बेलाबेलामा मानसरोवरमा घुम्न आउने गर्छन् भन्ने भनाइ विभिन्न ग्रन्थमा पाइन्छ । यी कुराले गर्दा तीर्थयात्रीहरू पनि ३ बजेदेखि ४ बजेको समयलाई उत्तम मानेर ब्रह्म मूहुर्त समयमा सबै देवताहरू स्नानका लागि आउने गर्छन् भनी सोही समयमा नै तीर्थालुहरू मानसरोवरमा स्नान गर्न जाने गर्छन् । शिवले आफ्नो पत्नी देवी पार्वती र उनीहरूका छोरा गणेश र कार्तिकेयसँग बसोबास गरेको ठाउँलाई नै कैलाश पर्वत भनिन्छ । शिवको परिवारले गौरीकुण्डमा स्नान गर्ने गर्छन् भन्ने कुराहरू पनि विभिन्न लेखमा पढ्न सकिन्छ ।

No description available.

कैलाश पर्वत बारेमा विभिन्न सनातन, प्राचीन धर्मग्रन्थहरूमा वर्णन गरेको पाइन्छ । जस्तै, शिवपुराण, शंखरपुराण, मच्छेपुराण, विष्णुपुराण, महाभारत, आदिमा कैलाश पर्वतको महिमा र चमत्कारको बारेमा लेखेको पाइन्छ । रामायणको उत्तरकाण्डमा भनिएको छ कि शिवभक्त रावणले भगवान् शिवलाई आफ्नो राज्य श्रीलंका नै लान्छु भनी कैलाश पर्वतलाई नै उखेल्ने प्रयास गरेको थियो । यसबाट भगवान् शिव रिसाएर आफ्नो दाहिने खुट्टाको औलाले पहाडमा थिचेर रावणलाई बीचमा फसाउनु भएको थियो । भगवान् शिवको यो कार्यलाई रावणनुग्रह पनि भनिन्छ वा कैलाश पर्वतमा विराजमान हुँदा भगवान् शिवलाई रावण अनुग्रहितरूप पनि भनिन्छ ।

विष्णु पुराणको एक वर्णनमा भनिएको छ कि यसको चार मुख अर्थात् भगवान् शिवको चार मुख क्रिष्टल, मणि, सुन र ल्यापिस आदिले बनेको छ । यो संसारको स्तम्भ हो, यो कैलाश पर्वत कमलको प्रतीक छवटा पर्वत शृङ्खलाको मुटुमा अवस्थित छ । विष्णुपुराणले भगवान् शिवलाई कमलको स्थितिमा बसेको पहाडको सिमानाभित्र गहिरो ध्यानमा व्यस्त र अनन्त आनन्दको अवस्थामा पूर्णरूपमा डुबेको बारेमा कुरा गरेको छ । विभिन्न ग्रन्थहरूमा लेखिएका सबै कुराहरू यसमा उतार्दा धेरै लामो हुने भएकोले केही सानो झलक मात्र लेखेको छु ।

नेपालमा तिब्बतको सबैभन्दा अग्लो हिमशृङ्खला सगरमाथा छ । यसको उचाइ ८८४८मिटर छ भने यस हिमशृङ्खलामा हजारौं हजारभन्दा धेरै पर्वतारोहीहरूले शिखर चुम्न सफल भएका छन् भने कैलाश पर्वतको उचाइ ६६३८मिटर मात्र रहेको छ । सगरमाथाभन्दा २२१०मिटर कम उचाइ भएको कैलाश पर्वतमा आजसम्म कसैले पनि उचाइमा पुगेको खबर छैन । ‘थाउजेन्ट सङ्स अझ मिलारेप्पा’ र ‘लस्ट होराइजन’ नामक किताबमा मिलारोप्पाको बारेमा तथा अन्य धेरै किताबहरूमा पनि उहाँले कैलाश पर्वत चढेका हुन् भनि लेखेको पाइन्छ । ११औँ शताब्दीमा एक तिब्बती बुद्धिस्ट तान्त्रिक भिक्षु मिलारोप्पाले तपबाट तान्त्रिक विद्याबाट सूर्यको सहायतामा कैलाशको टुप्पामा पुगेर फर्केपछि त्यहाँको बारेमा कसैसँग पनि कुनै कुरा नबताएको हुनाले चढेको हो या होइन कुनै तथ्य बाहिर आएको छैन । त्यसपछि अहिलेसम्म कसैले पनि यो पर्वत चढ्न सकेका छैनन् ।

विश्वभरमा छरिएर रहेका ठूलाठूला अग्ला सगरमाथादेखि अन्य १३ वटा अग्ला हिमशृङ्खला विनाअक्सिजन १४ पिक आरोहण गर्न सफल व्यक्ति इटालीका रेनहोल्ड मेस्नरलाई चीन सरकारले सन् १९८० मा कैलाश पर्वत चढ्ने अनुमति दिएको थियो । तर रेनहोल्ड मेस्नरले कैलाश चढ्नलाई अस्वीकार गरिदिए । कैलाश पर्वत आरोहण गर्ने थुप्रैपटक प्रयास गरे पनि कुनै पनि पर्वतारोहीले अहिलेसम्म सफलता हात पार्न सकेनन् । कैलाश पर्वत चढ्ने कोसिस गरेका पर्वतारोहीहरूले फरक फरक अनुभवहरू रहेको छ ।

रुसी पर्वतारोही सर्गेइ सिस्टिकोभेनको टिमका साथ कैलाश पर्वत चढ्नको लागि कोसिस गरियो । सर्गेइ सिस्टिकोभेनकोले कैलाश यात्राको बारेमा आफ्नो कुरा सुनाउनुभयो । उनको अनुसार ‘हामी कैलाश पर्वत चढ्न थाल्यौँ, कोही माथि पुगेपछि फेरि चढ्न खोजे, हामीहरूले पनि चढ्ने प्रयास ग-यौँ । चढ्ने प्रयास गर्दा हामीहरूको पिडुलाको मासु बटारिने रगतहरू जम्ने मुखबाट आवाजहरू आउन छोड्नेजस्ता सकसहरू हुन थाल्यो, अब मलाई महसुस भयो यो पहाड चढ्न म लायक छैन भन्दै म र मेरो टिम तुरुन्त तल झर्न थाल्यौ, झर्न थालेपछि म र मेरो टिमलाई सजिलोको आभास तथा आराम हुँदै गयो ।’ धेरै पर्वतारोहीहरूको आ–आफ्नै अनुभवहरू छन् । सबैको नाम लेखेर भनाइहरू भन्नुभन्दा पनि सबै अनुभवहरूलाई एकै ठाउँमा समेटेर लेख्ने प्रयास गरेको छु । कसैले पर्वतारोहण गर्न लाग्दा बेग्लै आँधी आएको त कसैले मुटु दुखेको र केहीले सही बाटो जाँदाजाँदै बाटो भुलेको र केहीले बाटो गायब भएको बताए भने केहीले मुटुको धड्कन सारै तेजले बढेको भने भने कोहीले कपाल र हात खुट्टाका नङ्गहरू अधिकरूपमा बढ्ने र दिशा भ्रम भएर उकालो लाग्दा गाह्रो हुने भने अनि तल आउँदा भने सहज हुने बताएका छन् । ३० वर्षको उमेरमा कैलाश पर्वत चढ्न भनेर लाग्ने मानिसहरू ६० वर्षको जस्तो बुढा र सेतै कपाल, चाउरीअनुहार भएर बीचैमा फर्किने गरेका र यो ग्रुपको सबैजसो मानिसहरू सबै दुई वर्षभित्र मरेको भन्ने समेत लेखहरूमा पाइन्छ । धेरै पर्वतारोहीहरूले धेरै प्रयास गरे पनि आजसम्म कैलाश पर्वत चढ्न कोही पनि सफल नभएकाले चीन सरकारले इसं २००१ देखि यस पर्वतमा चढ्न प्रतिबन्ध लगाएको छ । हाल आएर चिनियाँ सरकारले मानसरोवरमा डुबुल्की मारेर नुहाउन प्रतिबन्ध लगाएको छ । तालको किनारमा ड्रममा पानी राखेर नुहाउने व्यवस्था गरेको छ ।

समयकालको संक्षिप्तमा वर्णन गर्दा ऋषि, महर्षिहरूले अविच्छिन्नरूपमा चलिरहेको समयलाई सत्य, त्रेता, द्वापर र कलियुग गरी चार भागमा विभाजन गरेका छन् । यसैको आधारमा मानव सभ्यताको आरोहण अवरोहण हुने क्रम जारी छ । शिव, मानसरोवर तथा कैलाशको महिमा अनन्त र अनुपम छ । यो सानो लेखबाट म सबै वर्णन गर्न असमर्थ छु । क्षमा होस, प्रयास गरेको छु । हर हर महादेव


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया