अलैँची खेती, पैसाको पेटी
काठमाडौं । ‘पहाडको अलैँची, तराईको लिची, तिहारको सेलरोटी, दशैंको चिची’ भनेर एकपल्ट माइतबाट घर जाँदा अलैँची टिप्दै गरेका महिलाहरूले सामूहिक स्वरमा जङ्गल नै थर्काउने गरी गीत गाएको सुनेर आनन्द दिएको पनि धेरै वर्ष बितिसकेछन् । मेरो माइती गाउँको छिमेकी गाउँमा केही अलैँचीको खेती गरेका थिए । त्यस्तै, केही माथिको बजारमा व्यापारीले किसानबाट अलैँची खरिद गरेका हुन्थे । अलैँचीको व्यापारबाट कहिले नाफा कमाउँथे भने कहिले घाटामा पनि जान्थे । अलैँचीको बजार उतारचढाव भएको हुन्थ्यो ।
यता मेरो घरतिर भने घर भएको वा नजिकैको छिमेकी गाउँमा अलैँचीको खेती हुँदैन’थ्यो । अलैँची उत्पादन हुन लेकाली भेक र नियमित बग्ने पानी भएको स्थान चाहिन्थ्यो । हाम्रो गाउँ तुलानात्मकरूपमा सुखा, पानी कम भएको लेकाली भेक नभएको थियो । तर अलैँची नभए पनि अलैँचीले भरिएका बोराहरू धेरै देखिन्थे र अलैँचीसम्बन्धी धेरै गफ सुन्न पाइन्थ्यो । त्यसबेला पहाडमा यातायातका साधन थिएनन्, मानिसहरूले नै बोकेर ढुवानी गर्थे । बोराभरि अलैँची हालेर ढाकरमाथि बोरा राखेर अलैँची बोक्ने भरियाहरूको ताँती देखिन्थ्यो यसको सिजनमा । कहिले त अलैँची बोकेका धेरै भरियाहरू साँझमा घरमा बास बस्न पनि आएका हुन्थे । उनीहरूको कुराकानीबाट अलँैचीसम्बन्धी धेरथोर जानकारी मिल्थ्यो । यसबेला अलैँची ढुवानी गर्न समस्या छैन पहिलाजस्तो । किनभने जताततै बाटो र गाडीको पहुँच पुगेको छ । तर अलैँचीमा काम गर्ने जनशक्तिको भने अभाव छ । किनभने धेरै युवाहरू विदेशीको रोजगारमा जाने भएकोले सबै क्षेत्रमा श्रम गर्ने जनशक्तिको अभाव भएको कटु यथार्थ छ ।
हाम्रो घर र माइती दुवैतिर अलैँची खेती थिएन । तर मेरा काका ससुराको भने ठूलो क्षेत्रमा अलैँचीको खेती थियो । अलैँचीको सिजनमा अलैँची टिपेको र भट्टीमा सुकाएको हेर्न म काकाकोमा गएको थिएँ । आलो अलैँचीको गुलियो बास्नादार स्वाद जिब्रोमा छजस्तो लाग्छ । त्यसबेला अलैँचीसम्बन्धी धेरै जानकारी पाएको थिएँ काकाबाट । काकाले इलामबाट अलैँचीका बिरुवा ल्याएर अलैँचीको खेती गरेको सुनाउनुहुन्थ्यो । उहाँले अलैँचीबाट धेरै कमाउनुभएको थियो । यिनै पुराना स्मरणको माझबाट आज अलैँचीसम्बन्धी केही शब्दहरू खर्चिँदै छु ।
केही वर्षअघि किसानहरूमा अलँैची खेती गर्ने लहर नै चलेको समाचार आउँथे । किनभने अलैँचीको भाउ धेरैमाथि चढेको थियो । धेरैले धान खेती मासेर अलैँची खेती लगाएका थिए । कसैले अलैँचीका बगान किनेका थिए भने कसैले अलैँची खेतीयोग्य जमिन खरिद गरेका थिए । कसैले जग्गा बेचेर कमाई गरे भने कसैले अलैँचीका बिरुवा बेचेर पैसा कमाए । कतिले जोसिएर बैंकबाट ऋण लिएर पनि अलैँचीमा लगानी गरेका थिए । तर अर्को वर्ष अलैँचीको भाउ धेरै तल झरेर अलैँची किसानलाई धेरै निराश बनायो । अर्को वर्ष बजार फिर्ने आशमा रहेको किसानलाई अलैँचीको डढुवा रोगले निराश बनायो । धेरैलै बैंकको ऋण तिर्न नसकेर छटपटीमा परे । फेरि अलैँची किसानलाई निराश बनाएको थियो, त्यसबेला । रोग र बजारले केही वर्ष सुस्ताएको अलैँची बजार फेरि किसानमा आशा भरेर फर्कियो पनि । अलैँचीमा लाग्ने रोग र घट्ने बजार भएकाले यदाकदा किसानलाई निराश बनाएको छ । कहिले नसोचेको भाउ बढेर किसानलाई उत्साही पनि बनाएको पनि छ । जे भए पनि अलैँची नेपाली किसानको महत्वपूर्ण नगदे बाली भएको छ ।
नेपालमा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, खोटाङ आदि जिल्लाहरूमा धेरै उत्पादन भएको पाइएको छ, अलैँची । यी जिल्लाहरूमा अलैँचीको धेरै क्षेत्रफलमा खेती भएकाले उत्पादन पनि धेरै भएको हो । यिनको अलावा मोरङ, उदयपुर र भोजपुरमा समेत अलँैचीको राम्रै उत्पादन भएको पाइएको छ । अलैँचीको व्यावसायिक उत्पादन ४३ जिल्लामा भएको पाइएको छ । अरू जिल्लामा पनि धेरथोर अलैँचीको उत्पादन गरिएको छ ।
विभिन्न आर्थिक वर्षको तथ्याङ्क हेर्दाखेरि अलैँचीको उत्पादन बढेको पाइन्छ । आर्थिक वर्ष २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती लगाएको थियो । जहाँ सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १६ हजार ५५६ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती गरेको तथ्याङ्कले बताउँछ । जहाँ नौ हजार ५४५ मेट्रिक टन अलैँचीको उत्पादन भएको थियो । त्यस्तै, २०७७/७८ को आर्थिक वर्षमा भने १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती भएको थियो । यसमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको पाइन्छ तथ्याङ्क हेर्दा । यो आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा अलैँची खेतीको क्षेत्रफल र उत्पादन घटेको पाइन्छ ।
उत्पादन मात्रै होइन कि व्यापार र निर्यातमा पनि अलैँचीको वृद्धि भएको बताउँछ तथ्याङ्कले । चालू आर्थिक वर्षको चार महिनामा दुई अर्ब रुपैयाँभन्दा बढीको १७ लाख किलो अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिको तुलनामा १९ करोड बढीको अलैँची निर्यात भएको पाइएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेकाले यो सम्भव भएको हो । साथै, उत्पादनमा पनि वृद्धि भएको छ ।
भन्सार विभागको तथ्याङ्क केलाउने हो भने आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपैयाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको थियो । आर्थिक वर्ष २०७८/७९मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको रहेछ । यस तथ्याङ्कले पनि देखाउँछ कि अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढिरहेको छ ।
अलैँची खेतीमा सरकारले किसानलाई उत्पादनमा सहयोग र बजारीकरणमा सहयोग दिने हो भने यसले किसानको आम्दानी बढाउनमा त सहयोग दिन्छ नै साथै विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा घटाउन पनि सहयोग गर्छ । कालो सुन भनिने अलैँची औषधि र मसलाको रूपमा प्रयोग हुन्छ । साथै, यो सौन्दर्यसाधन उत्पादनमा पनि प्रयोग गरेको पाइन्छ । नेपालले सबैभन्दा धेरै अलैँची भारतमा निर्यात गर्छ । अर्थात् भारत नेपालको सबैभन्दा ठूलो अलैँचीको बजार हो । भारतबाहेक नेपालले जर्मनी, इटालीलगायत युरोपका केही देशमा निर्यात गर्छ । त्यस्तै, पाकिस्तान र अमेरिकामा पनि नेपाली अलैँचीको निर्यात भइरहेको छ ।
अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढेको छ । यसको मूल्य पनि बढेको छ । यसलाई ध्यानमा राखेर अलैँचीको उत्पादन बढाउन सरकारले अर्थात् तीनै तहका सरकारले समन्वयात्मक ढंगले विशेष कार्यक्रम अघि सार्नुपर्छ । किसानलाई खासगरी युवाहरूलाई अलैँची उत्पादनमा प्रोत्साहित गरेमा वैदेशिक रोजगारीमा जाने युवाहरू स्वदेशमा नै उत्पादन र आम्दानीमा लाग्न सक्छन् । अनुदान, बीमा, तालिम, ऋण, बजारको सहजीकरण, रोग निदान तथा उपचारमा सरकारले ध्यान दिने हो भने किसानहरू अलैँची उत्पादनमा उत्साही भएर लाग्न सक्छन् । यो देश र जनतालाई फाइदा दिने नगदे बाली हो । अलैँची उत्पादक किसान तथा व्यवसायीको विश्वास नझरोस् भनेर सरकारले विशेष ध्यान दिएको खण्डमा यसको उत्पादन र निर्यात बढेर व्यापार घाटा घटाउन पनि योगदान दिन्छ । सरकार यतातिर गम्भीर भएको पाइएको छैन । कार्यक्रम बनाउने तर मिलेर माथिमाथि नै खाने प्रवृत्ति घातक छ । यसमा गम्भीर परिवर्तन चाहिएको छ । यो अनिवार्य राष्ट्रिय आवश्यकता हो ।
विगत केही वर्ष अलैँचीको अन्तर्राष्ट्रिय बजार खच्किँदा धेरै अलैँची उत्पादक किसानहरू यो क्षेत्रबाट पलायन भएको तीतो यथार्थ छ । यो अवस्था आउन नदिन सरकारले यसको बजार खोज्न आफ्ना कूटनीतिक सञ्जाललाई सक्रिय बनाएमा सकारात्मक परिणाम आउन सक्छ । सरकार यतातिर लागेमा अलैँची उत्पादन किसान र सरकारको धन साबित हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया