Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगके बिग मर्जरले लाभांशमा असर गरेको हो ?

के बिग मर्जरले लाभांशमा असर गरेको हो ?


काठमाडौं । के बिग मर्जरले लाभांशमा असर गरेको हो? जानकारहरू यसै भन्छन् । यसको असर नबिल बैंकमा पनि परेको बताउँछन् जानकारहरू । वाणिज्य बैंकहरूमा अब्बल मानिएको नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश दिने भएको छ । यसबारे लगानीकर्ता माझ चर्चा परिचर्चाहरू भए गरे । कतिपय लगानीकर्ताहरूले त नबिल बैंकको सेयर बेचेर बाहिर निस्कने समेत सोच बनाएका थिए । गत वर्षमा भएको सभामा अर्को वर्ष पनि ३० प्रतिशतको हाराहारीमा लाभांश दिने भनेर भनेका नबिल बैंकले ११ प्रतिशत मात्र लाभांश दिने घोषणा गरेकोमा लगानीकर्ताहरूले आक्रोश समेत व्यक्त गरे । कतिपयले त बैंकको सीईओले राजीनामा दिनुपर्छ भनेर पनि भन्ने गरेका छन् । त्यसैगरी २० वटाभन्दा बढी बैंकहरूसँग मर्जर गरिसके भनेर गर्व गर्ने गरेको बैंक ग्लोबल आईएमई बैंकले पनि ९ प्रतिशत मात्र लाभांश दिने भएका छन् । त्यो पनि एक प्रतिशत बोनस सेयरसहित । बिग मर्जरमा गएका अधिकांश बैंकहरूको आर्थिक सूचकाङ्क राम्रो नभएको बताउँछन् जानकारहरू । त्यसो त बिग मर्जरमा गएका केही बैंकहरूले त आर्थिक वर्ष २०७९÷८० को लाभांश समेत दिन नसकिने अबस्थामा रहेको पनि बताउँछन् सरोकारवालाहरू ।

बिग मर्जरमा गएको बैंकहरूमा नबिल र बङ्गलादेश बैंक, ग्लोबल र बैंक अफ काठमाडौं बैंक, हिमालयन, सिभिल बैंक, प्रभु, सेन्चुरी बैंक, कुमारी, एनसीसी बैंक, लक्ष्मी र सनराइज बैंक रहेका छन् । एकातिर बिग मर्जरले स्वयम् बैंकहरूमा नै समस्याहरू देखापरिरहेको बताउँछन् भने अर्कोतिर लगानीकर्ताहरूले पनि घाटा व्यहोर्न परिरहेका छन् । यस कारणले सेयरबजार पनि डामाडोल भएको बताउँछन् जानकारहरू । बैंकहरू ठूला र पुँजी मात्र धेरै भएर नहुने रहेछ भन्ने त बैंकहरूको बिग मर्जरले देखाएका छन् । बिग मर्जका लागि दबाब दिने नेपाल राष्ट्र बैंक र गभर्नरको नीति निर्देशन असफल भएको बताउँछन् जानकारहरू । त्यसो त कतिपय लगानीकर्ताहरूले पछिल्लो समयमा सेयरबजारमा देखा परिरहेको गिरावटको दोष गभर्नरलाई दिने गरेका छन् । त्यसो त कतिपयको भनाइमा देशमा मन्दीको अवस्था छ भने केही अराजक व्यक्तिहरूले बैंक तथा वित्त कम्पनीहरूले सेयरबजारमा भ्रम पारिरहेको बताउँछन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकहरूबाट लिएको ऋण तिर्नु पर्दैन भनेर अराजक अभिव्यक्ति दिने गरेका छन् । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले पनि बैंकहरूले ग्राहकलाई शोषण गर्ने गरेको, बैंकहरू मात्र धनी बनेको, बैंकहरूले वर्षमा ४/५ अर्ब नाफा गर्ने गरेको आरोप लगाएका छन् । बैंकहरू पनि आमनागरिकको लगानी र निक्षेपबाट चल्छ र केही बैंकहरूले ३५/३६ अर्बसम्म लगानी गर्ने गरेको समेत थाहा नपाउनेलाई हामीले सांसद बनाएर पठाइयो भनेर जानकारहरूले भन्ने गरेका छन् । सायद केही व्यक्तिहरूले बैंकमाथि भ्रम फैलाउन खोजिरहेकाले पनि केही बैंकमा समस्या देखिएको हो कि ? यस्ता अराजक व्यक्तिहरूको पछि नलाग्न लगानीकर्ताहरूलाई सेयरबजारका विज्ञहरूले बताइरहेका छन् । पछिल्लो समयमा लाभांश घोषणा गरिसकेका र लाभांश दिइसकेका बैंकहरूको लाभांश विगतका बर्षहरूमा भन्दा कम रहेका छन् । यो बिग मर्जरको कमाल हो भन्ने पनि सरोकारवलाहरूको भनाइ छ । त्यसैगरी धेरैजसो बैंकहरूको लाभांश पनि नगदमा नै दिने गरेका छन् । अहिलेको अवस्थामा बोनस सेयरभन्दा नगद लाभांश नै राम्रो मान्ने गरिन्छ । बोनस सेयरले सेयरबजारमा पनि नकारात्मक प्रभाव पार्छ भने आगामी वर्षको लाभांशमा पनि असर गर्ने गर्छ ।

नबिल बैंकले दिने घोषणा गरेको र अधिकांश बैंकहरूको बैंक तथा वित्त कम्पनीहरूको लाभांश कम भएको देखिन्छ । त्यसैगरी एनएमबी बैंकले त २०७९/८० को लाभांश नै नदिने भनेर भनिसकेको चर्चा छ । सेयरबजारमा अहिलेसम्म लाभांश दिएको र घोषणा गरिसकेको, बैंकहरूमा सबैभन्दा बढी एभरेस्ट बैंकको २० प्रतिशत र सबैभन्दा कम सिद्धार्थ बैंकको चार दशमलव २१ रहेको छ । त्यसैगरी लाभांश दिने भनेका अहिलेसम्मका बैंकहरूले धेरैजसो नगद लाभांश नै दिएको देखिन्छ । त्यसो त पछिल्लो समयमा बैंकहरूको अवस्थालाई हेर्दा नगद लाभांशमा नै जोड दिएको देखिन्छ भने नगद लाभांश नै राम्रो मान्नुपर्ने देखिन्छ । त्यसो त कतिपय सेयरधनीहरूको भने नगदभन्दा बोनस सेयर राम्रो मान्ने गरेका छन् भने कम्पनीहरूले बोनस सेयर नै दिने गरेको भए हुन्थ्यो भन्नेहरू पनि नभएका होइनन् । पछिल्लो समयमा बैंकहरू बिग मर्जरमा गएका कारणले बैंकहरूको चुक्ता पुँजी बढेको छ । केही बैंकहरू त बिग मर्जरका कारणले पुँजी नै ३५/३६ अर्ब भइसकेको छ । एकातिर बैंकहरूको पुँजी बढेको अवस्था छ भने कमाइ भने गर्न सकिरहेका छैनन् भने अर्कोतिर बोनस सेयर दिँदा बैंकहरूको चुक्ता पुँजी झन् बढ्ने हुन्छ र पुँजी बढेको अनुपातमा बैंकहरूले नाफा बढाउन सकेन भने लाभांशमा सीमित असर गर्ने गर्छ भने सेयरबजारमा बिक्री चाप बढेर सेयरको भाउमा समेत असर गर्ने गर्छ । पछिल्लो समय सेयरबजारमा गिरावट आएका कारण सेयरबजारले गति लिन नसकेको, बजारमा मागभन्दा आपूर्ति बढेकाले हो । देशमा बैंकहरूको संख्या बढी भयो भनेर नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएको थियो तर मर्जरको नीतिले विकास बैंकहरू र फाइनान्स कम्पनीहरूको मात्र सङ्ख्या घट्यो तर वाणिज्य बैंकहरूको संख्या नघटेका कारणले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई बिग मर्जरमा जानका लागि दबाब दिएको जानकारहरू बताउँछन् । त्यसो त केही बैंकहरूलाई आफू देशको सबैभन्दा ठूलो बैंक बन्ने इच्छा र होडबाजीले पनि बिग मर्जरमा गएको आरोप लाग्ने गरेको छ । बैंकहरू बिग मर्जरमा जान त्यति आवश्यक नभएको विज्ञहरू बताउँछन् । बिग मर्जरले बैंकहरूमा समस्या देखा प-यो भने यसले लगानीकर्ताहरूले पनि घाटा व्यहोर्नुपर्ने हुन्छ ।

एकातिर सेयरको भाउ घटेको छ भने अर्कोतिर लाभांश पनि कम पाउने गरेका छन् । बिग मर्जरले चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेजस्तो भएको छ । त्यसो त केही भत्तावाल भनिने सेयरधनीबाहेक सर्वसाधारण सेयरधनीहरूलाई बिग मर्जर त्यति मन परेको छैन । त्यसो त मर्जरको प्रस्तावलाई वार्षिक साधारणसभा र विशेष साधारणसभामा बहुमत सेयरधनीहरूले पारित गर्नुपर्छ । तर सभामा भाग लिने सर्वसाधारण सेयरधनीहरू कम्पनीको प्रस्तावमा भन्दा पनि खाजा र खानामा मात्र ध्यान दिने गरेका कारणले सभामा केही सीमित सेयरधनीहरूको नियन्त्रणमा रहने र प्रस्ताव सजिलै पारित हुने गरेको सरोकारवालाहरू बताउँछन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया