Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसहरमुखी चिन्तन र यसबाट सिर्जित समस्याहरू

सहरमुखी चिन्तन र यसबाट सिर्जित समस्याहरू


 काठमाडौं । प्रायः मानिसहरू गाउँमा भन्दा सहरमा बस्न रुचाउँछन् । यही चिन्तनको फलस्वरूप गाउँमा जनसंख्या पातलो र सहरको जनसंख्या घना हुँदै गइरहेको छ । सहरमा पनि मानिसहरू देशको राजधानी काठमाडौंमा नै बस्न बढी रूचाउने गर्छन् । यदि मानिसहरूलाई यो अवसर जुरेन भने नजिकको बजार वा सदरमुकाममा आएर बस्ने लहड चल्छ । मानिसहरू अहिले त्यस्तै गरिरहेका छन् । सहरमुखी चिन्तनकै कारणले बिहेबारी सम्बन्धमा समेत व्यापक असर परेको छ । दूरदराजका गाउँका चेलीहरू अपवादबाहेक सदरमुकाम वा सहर नजिकको जिल्लामा वा सहरमा नै बिहे गरेर जान मन पराउने गर्छन् । सहर बजारका चेली दूरदराजका गाउँमा विवाह गरी गएको बिरलै पाइएला ।

यस्तै, अबका दिनमा मानिसहरू युरोप, अमेरिका जाने र बस्ने प्रतिष्पर्धा पनि त्यत्तिकै चलेको छ । यो पनि सहरमुखी चिन्तनकै अर्को रूप हो । छोरा कहाँ छ ? भनी कसैले प्रश्न गरे अमेरिकामा बस्छ । अस्टे«लिया र क्यानडामा बस्छ भन्न मानिसहरू ज्यादा रुचाउँछन् । यसरी दूरदराज गाउँका मानिसहरू सहर र युरोप अमेरिका पलायन हुँदै जानाले गाउँमा जनसंख्या वर्षेनि घट्दो क्रममा छ । युरोप र अमेरिका जान मानिसहरू जति पनि खर्च गर्न लालायित भएको देखिन्छ । चाहे जतिसुकै ऋण किन नलागोस् । अवैधानिक बाटो जंगलको बाटो भएर बर्षौं लगाएर अमेरिका छिर्न खोज्ने मानिसहरूको जमात पनि ठूलै रहेछ । पैतीस÷छत्तीस लाख खर्चेर गएका मानिसहरू जंगलको बाटोमा बास बस्दै जाँदा जाडो र ठिहीले ज्यान गुमाउनेको कथा पनि हामीले नसुनेका होइनौं । यस्तो संख्या पनि वर्षेनि बढेको भन्ने समाचार पढ्न र सुन्न पाइन्छ ।

मल्लकालीन ऐतिहासिक घना बस्ती जसलाई सहर पनि भनिन्छ । सिन्धुपाल्चोकको तौथली जानुभयो भने प्रायः घरहरू त राम्रैसँग बनाइएको छ । तर अधिकांश घरमा ताल्चा ठोकिएको पाउनुहुनेछ । मानिस भएका घरमा पनि प्रायः बुढाबुडीहरू मात्र भेट्न सकिन्छ । यसो हुनुको कारण सबै रोजगारीको सिलसिलामा सहरमा बस्ने गर्छन् । हुन त यो अवस्था प्रायः देशभरनै उस्तै हो । रोजगारीका लागि मलेसिया कतारजस्ता खाडी मुलुकमा जानेको संख्या पनि उल्लेख्य छ । यो पनि युरोप अमेरिका जान नसक्नेहरूको अपरिहार्य बाध्यतात्मक कथा मात्र हो । प्रायः मानिसको चिन्तनको गन्तव्य त युरोप र अमेरिका नै हो ।

के मानिसहरू आफू जन्मेको ठाउँमा बस्न मन पराउँदैनन् ? त्यो त होजस्तो लाग्दैन । त्यसो हो भने मानिसहरूको सोचाइ किन सहरमुखी भयो ? भन्ने विषय खोतल्ने हो भने सबैबाट एउटै उत्तर आउन सक्छ । त्यो हो मानिसहरू अवसरहरूको खोजी गर्छन् । रोजीरोटी, स्वास्थ्य, शिक्षा आदि कुराहरू सजिलै प्राप्त होस् भन्ने प्रत्येक मानिसको चाहना त हुने नै भयो । यसबाहेक मानिस जीवनलाई सरल ढङ्गले चलाउन पाइयोस् भन्ने चाहना राख्छन् । प्रत्येक मानिस सम्भव भएसम्म शारीरिक परिश्रम ज्यादा गर्न चाहँदैनन् । यही चाहनाका कारण आधुनिक दुनियाँमा विज्ञान र प्रविधिको अथाह विकास भइरहेको छ । मानिसहरूको अथाह धन थुपार्ने चाहनाका कारण पनि मानवीय श्रम विस्थापन हुँदै जानुुको कारण हो भन्न सकिन्छ । किनकि मानवीय श्रमविना स्वचालित मेसिनहरूले द्रूत गतिमा काम गर्दा धेरैभन्दा धेरै मानवीय आवश्यकताको सामानहरू उत्पादन हुने र यस्तो कारोबारमा नाफा चुलिने रहस्य भएकाले हो । यसैले विज्ञान प्रविधिको विकास हुनुको दुईवटा कारण देखियो । एउटा कारण हो मानिसहरूमा शारीरिक श्रम गर्ने चाहना कम हुनु । अर्को हो नाफा कमाउने सोच र चाहना । यसैले मानिसका यी दुई चाहनालाई पनि हामीले मान्नैपर्ने हुन्छ । संसारको विकासमा मानवीय चाहनाले उल्लेख्य भूमिका खेलेको छ । मानवमा भएका यी चाहनाहरूलाई हामी यसरी संकेत गर्न सक्छौँ ।
(१) अवसरहरूको खोजी
(२) शारीरिक श्रम गर्ने चाहना नहुनु
(३) नाफा कमाउने चिन्तन
माथिका तीन कारणहरूले सहरमुखी चिन्तनको पनि विकास भयो । संसारमा ठूलाठूला सहरहरूको विकास पनि मानवीय यी तीन स्वभावको परिपूर्तिका खातिर भयो भनी हामी दावाका साथ भन्न सक्छौँ । संसारमा ठूला नदी र खोलाका किनारमा मानवीय सभ्यताको विकास भएको हामी पाउँछौ । जस्तो कि मिश्रको सभ्यता, नाइल नदीको किनारमा भयो । चीनमा भएको ह्वाङ्हो नदी किनारको सभ्यता आदि । यो पनि नदी किनारमा मानिसलाई नभै नहुने पानी यथेष्ट मात्रामा पाइने भएकाले हो । ठूला औद्यौगिक सहरहरूमा जनसंख्या बाग्लो हुनुको कारण रोजीरोटीको समस्या हल हुने भएकाले हो । यसबाहेक पनि विचार गर्दा सानोतिनो व्यापार र भारी बोक्नेजस्ता काम गरेर पनि मानिसहरू सहरमा बसिरहेका छन् । कमसेकम पैसाको मुख त देख्न पाइन्छ भन्ने मानिसलाई लागिरहेको हुन्छ । यसैको कारण मानिसलाई गाउँबाट सहरतिर डो¥याउँछ । यसबाहेक राजनीतिक स्वरूपको रोजगारीे पनि नेपालमा पाइन्छ । आजकल विनालगानीको रोजगारी भनेको राजनीति हो । राजनीति गरेर धन कमाउने चिन्तन पनि यहाँ सहरमुखी चिन्तनकै एक अंग हो भन्ने कुरा पनि हामीले बिर्सिन नहुने तथ्य हो ।

माथिका विविध कारणले मानिसमा सहरमुखी चिन्तनको विकास भएको देखिन्छ । देशमा हालको अवस्था कायम रहेमा मानिसहरू विदेश पलायन हुने क्रम पनि रोकिने छाटकाट छैन । यसबाट निकट भविष्यमै गाउँहरू शून्य हुनेछन् । अहिलेसम्म बुढाबुढी जनसंख्या गाउँमा बसेको देखिन्छ । भविष्यका बुढाबुडी गाउँमा बसेको हुने छैनन् । किनकि आजका तन्नेरी नै भविष्यका बुढाबुढी हुन् । फलस्वरूप गाउँ शून्य हुने अवस्थामा पुग्नेछ । यसले देशमा निम्न अवस्था सिर्जना हुने देखिन्छ ।
(१) रेमिट्यान्सले देशको अर्थतन्त्र जो धानीरहेको छ, त्यो अवस्था रहिरहनेछ । अझ बढ्दै जानेछ ।
(२) जनसंख्याको वृद्धि दर घट्दै जाने कुरा स्वाभाविक हुनेछ ।
(३) परनिर्भर अर्थतन्त्र बढेर जानेछ ।
(४) परनिर्भर राजनीतिक अवस्था अझ बढेर जानेछ । अस्थिर राजनीतिक अवस्था यसको विशेषता रहिरहनेछ ।
मध्यम र मझौला खालका मानिसहरूले आफ्नै देशमा केही गर्छु भनेर लाग्यो भने । गत माघ १० गते संसद् भवन अगाडि बानेश्वरमा आत्मदाहा गर्न पुगेका प्रेमप्रसाद आचार्यको नियति सबैले भोग्नुपर्छ । देशका नियम कानुनहरू, कर प्रणालीहरू गरी खानेहरूको हितमा छैनन् । इमान्दारीतापूर्वक काम गर्नेहरूको उचित मूल्याङ्कन छैन । बेइमानहरूलाई नियमन गर्ने कुनै व्यवस्था छैन । यसै त देशभित्र गरीखाने अवस्था छैन भने गाउँ त राज्यको दृष्टिमा परेकै छैन ।

यसैले माथिका समस्याहरू हल गर्ने हो भने गाउँमा अवसरहरूको सिर्जना गर्दै जानुपर्ने छ । विकसित देशहरूमा गाउँ र सहरको भेद मेटाउन गाउँमा पनि विविध अवसरहरू सिर्जना गरिएको हुन्छ । यसैले हाम्रो देशमा पनि कृषिलाई आधुनीकरण गर्दै जानु अपरिहार्य आवश्यकता बनेको छ । हिमाली, पहाडी र तराईको हावापानी माटो हेरेर कस्तो उत्पादन कुन हावापानी र माटोमा बढी फस्टाउन सक्छ । त्यो खालको उत्पादनमा जोड दिन राज्यले सघाउँदै जानुपर्छ । विशेष गरेर हिमाली क्षेत्रमा पशुपालन भेँडा च्याङ्ग्रापालन आदिमा जोड दिनु उपयुक्त हुनेछ । पहाडी क्षेत्रमा फलफूल र तराई क्षेत्रमा अनाज उत्पादमा ध्यान दिए राम्रो हुने देखिन्छ । स्याउजस्ता फलफुल हिमाली क्षेत्रमा पनि मनग्य हुन्छ । हिमाली क्षेत्र अथाह जडीबुटीको उत्पादनको भण्डार पनि हो । यस्तै, जुन क्षेत्रमा जे उत्पादन हुन्छ त्यो क्षेत्रमा त्यस्तै उद्योगको स्थापना गरी व्यापक जनसंख्यालाई रोजीरोटीको विकास गर्नु आजको आवश्यकता हो । जस्तै, हिमाली क्षेत्रमा उनी वस्तुसँग सम्बन्धित उद्योगहरू, जडीबुटी संकलन र प्रशोधनसम्बन्धी उद्योग आदि स्थापना गर्न सकिन्छ । पहाडी क्षेत्रमा फलफूलसँग सम्बन्धित उद्योग, गाँजा सिस्नु र मदिरासम्बन्धी उद्योगहरू आदि स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । यस्तै, तराईमा खाद्यान्न र अरू अनेक प्रकारका उद्योगहरू स्थापना गरी सञ्चालन गर्न सकिन्छ । राज्यले चाहनु मात्र पर्यो । विदेशी सामानमा कडाई गर्न सक्नु पनि ज्यादा महत्वपूर्ण कुरा हो ।

आर्थिक अवसरहरूको सिर्जना नगरी निर्माण गरिने अन्य भौतिक संरचनाहरूको विकासको खासै अर्थ केही देखिँदैन । गाउँ केन्द्रित, समूह र समुदाय केन्द्रित अर्थतन्त्रमा जोड दिनसके जनतामा सन्तुष्टि र आत्मनिर्भर अवस्थाको सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ । किनकि समुदायले चाहेको कुरो प्रायः आफैँ पूरा गर्न समूह र समुदाय सक्षम हुन्छन् र सफल बनाउन लागिपर्छन् । समूह र समुदाय हाम्रो प्राचीन सामाजिक संगठनकै आजको रूप हो । हाम्रो संविधानमा लेखिएको समाजवादमा पुग्न सक्ने सजिलो बाटो पनि त्यही हो भन्ने कुरामा दुईमत हुने छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया